जुम्लाका पाटनमा उत्पादन हुने थरीथरीका सागसब्जी संकलन गरेर स्थानीयले सोलार ड्रायरमा सुकाएर गुन्द्रुक बनाइरहेका छन् ।
What you should know
जुम्ला — पातारासी–२ तल्फीगाउँका स्थानीयले 'सोलार ड्रायर'बाट गुन्द्रुक र सुकुटी बनाउन थालेका छन् । जिल्लास्थित पाटनमा उत्पादन हुने थरीथरीका सागसब्जी संकलन गरेर सोलार ड्रायरमा सुकाएर गुन्द्रुक बनाइरहेका छन् । यसरी तयार गरिएको गुन्द्रुक र सुकुटी बिक्रीका लागि बजार पठाउने तयारीमा छन् ।
सोलार ड्रायरबाट मासुको सुकुटी, स्याउको माडा र चानादेखि आलुको मस्यौरा बनाइरहेका छन् । पातारासी–२ की सरिता बोहोराले हिउँदमा खाने गुन्द्रुक घाममा सुकाउनुपर्ने बाध्यता हटेको बताइन् । ‘सोलार ड्रायरबाट छोटो समयमै धेरैभन्दा धेरै गुन्द्रुक बनाउन सकिन्छ,’ उनले भनिन्,‘व्यवसायका हिसाबले पनि लाभदायक रहेको छ ।’
यहाँका पाटनमा ढोकायो, रुघादेखि एक दर्जन भन्दा बढी साग पाइने गरेका छन् । पहिले घरको छतमा घाममा सुकाएर बनाएको गुन्द्रुक खाने गरेको उनले बताइन् । ‘अहिले सोलार ड्रायरमै एकदिनमै गुणस्तरीय गुन्द्रुक तयार भइरहेको छ । यसले आफुले खानेमात्र नभइ बजारसम्म लैजाने गुन्द्रुक समेत उत्पादन भइरहेको छ,’ उनले भनिन् । स्थानीयका अनुसार माटोको छानोमा गुन्द्रुक सुकाउँदा ढुंगा–माटो मिसिने समस्या थियो । सोलार ड्रायरबाट एकै दिनमा गुन्द्रुक तयार पारेर बजारसम्म लैजान सकिने भएको छ ।
पातारासी–५ लासीकी जयकला बुढा यतिबेला गाउँघरमा उत्पादन हुने सिस्नो र पाल्ता साग संकलनमा व्यस्त छिन् । हरेक दिन सिस्नोको साग सोलार ड्रायरमा सुकाउँछिन् । ‘सोलार ड्रायरमा मासुको सुकुटीदेखि थरीथरीका तरकारीजन्य बस्तुहरु बनाउन सकिनेरहेछ,’ उनले भनिन्, ‘स्याउका चाना, टमाटरका भुजा बनाउनेदेखि काउली सुकाउने गरेका छौं ।’ सोलार ड्रायर प्रयोगमा आएपछि धेरै दिनसम्म घाममा सुकाएर गुन्द्रुक बनाउनुपर्ने बाध्यता हटेको उनले बताइन् । ‘अब पालिकाले सुकेको गुन्द्रुक प्याकेजिङ र लेबलिङको काम गरिदिनु पर्छ,’ उनले भनिन् ।
पातारासी–५ की जानकी बुढा गाउँमा सोलार ड्रायर स्थापना भएपछि उत्साहित छिन् । यसअघि घाममा सुकाएर गुन्द्रुक बनाउँदा बिग्रने चिन्ता हुन्थ्यो । ‘पहिले घाममा तरकारी सुकाउँदा झिंगा लाग्नेदेखि कुहिने समस्या थियो,’ उनले भनिन्, ‘अब दुई दिनमै ग्राहकले खोजेको र बजारले रोजेको जस्तो गुन्द्रुक तयार हुन्छ ।’
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले पाटनमा भेटिने कच्चा पदार्थको सदुपयोग र किसानको गुन्द्रुक बनाउने चाहना सम्बोधन गर्न पहिलोपटक दुई वटा सोलार ड्रायर स्थापना भएको बताए । पातारासी–२ तल्फी र पातारासी–५ लासीबजारमा सोलार ड्रायर राखिएको उनले जनाए ।
‘जुम्लाका पाटनमा धेरै सागसब्जी छन् । ती बजारसम्म पुगिरहेको छैनन्,’ उनले भने, ‘अब पालिकाले किसानले बनाएका गुन्द्रुक बजारसम्म पुर्याउने व्यवस्था गर्छ ।’ यसबाट सस्तोमा बेचिने सागसब्जी अब गुन्द्रुकका रुपमा नेपाली बजारसम्म पुर्याउन पहल हुने समेत उनको भनाइ छ ।
अहिले आलु प्रतिकेजी २० रुपैयाँ र साग प्रतिमुठा ५ देखि १० रुपैयाँमा किनबेच भइरहेको थियो । यसलाई गुन्द्रुक बनाउँदा निकै महंगोमा बेच्न सकिने देखिन्छ । गुणस्तरीय गुन्द्रुक उत्पादन गर्ने पालिकाका रुपमा गाउँपालिकालाई अघि बढाउने योजना रहेको उनले सुनाए । पहिलो चरणमा किसानको माग र पर्याप्त कच्चा पदार्थ हुने देखिएपछि दुई वटा सोलार ड्रायर राखिएको छ । जिल्लाका चन्दननाथ र पातारासी गाउँपालिका गरेर तीन वटा सोलार ड्रायर स्थापना गरिएको छ ।
सोलार ड्रायर प्रतिगोटा ७ लाख रुपैयाँमा जुम्ला आइपुग्छ । ड्रायरसँगै गुन्द्रुक सुकुटीलगायतका बस्तु सुकाउने प्रयोजनका लागि एक सोलार ड्रायरमा ३६ वटा क्यारेट आवश्यक पर्छ । ड्रायरमा सुकाउँदा तयार भएको गुन्द्रुक- सुकुटीको प्याकेजिङ र लेवलिङको सामान, तापक्रम व्यवस्थापन सामग्री समेत सँगै दिइएको छ ।
यो सोलारबाट मात्रै नभएर बिजुली जोडेर पनि चलाउन सकिन्छ । यो पहिलोपटक जिल्लाभर ३ वटा मात्र जोडिएको छ । तीन वटा सोलार ड्रायर र चाहिने सबै सामान गरेर जुम्लासम्म आइपुग्न २५ लाख रुपैयाँ खर्च लागेको गैरसरकारी संस्था पेस नेपालका कार्यकारी निर्देशक किशोर न्याैपानेले बताए । यो संस्थाले पातारासी साझेदारी कार्यक्रम अन्तरगत सोलार ड्रायर ग्रिनहाउस परियोजनामा आधा खर्च व्यहोरेको हो । यसबाट दैनिक ५० केजीसम्म गुन्द्रुक र सुकुटी उत्पादन गर्न सकिने न्याैपानेले बताए ।
