विद्युतीय सवारी साधनले यात्रुसँग बढी भाडा असुले कारबाहीमा पर्ने

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै डिजेल इन्जिनबाट चल्ने सवारी साधनले स्वचालित भाडा समायोजन प्रणाली अनुरुप वृद्धि भएको भाडा लिन पाएपनि विद्युतीय सवारी साधनको हकमा यो नियम लागू नहुने बताएको हो ।

वैशाख ८, २०८३

विमल खतिवडा

Electric vehicles will face action if they overcharge passengers

काठमाडौँ — विद्युतीय सवारी साधनले यात्रुसँग बढी भाडा लिएमा यातायात व्यवस्था विभागले कारबाही गर्ने भएको छ । विभागले मंगलबार सार्वजनिक रुपमा सूचना जारी गर्दै डिजेल इन्जिनबाट चल्ने सवारी साधनले स्वचालित भाडा समायोजन प्रणाली अनुरुप वृद्धि भएको भाडा लिन पाएपनि विद्युतीय सवारी साधनको हकमा यो नियम लागू नहुने बताएको हो ।  

Electric vehicles will face action if they overcharge passengers‘२५ चैतमा विभागबाट प्रकाशित सूचना अनुसार अन्तर्राष्ट्रियस्तरमै जैविक इन्धनको मूल्यवृद्धि हुन गई स्वचालित भाडा समायोजन प्रणाली अनुरुप अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरिएको हो,’ जारी सूचनामा भनिएको छ, ‘जस अनुसार यात्रुवहाक तथा मालवहाक सार्वजनि सवारीसाधनको भाडामा भएको वृद्धि केवल डिजेल इन्जिन प्रयोग हुने सार्वजनिक सवारीसाधनको हकमा मात्रै भएको, तर विद्युतीय सवारी साधनको हकमा उक्त भाडा वृद्धि लागु हुने छैन ।’ कुनै–कुनै विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रु ओसार–पसार गर्दा वृद्धि भएको भाडा असुलिएको र यात्रुलाई टिकट समेत नदिएको गुनासो प्राप्त भएको विभागले जनाएको छ ।

‘त्यसैले विद्युतीय सवारीसाधनको हकमा साबिककै भाडादर कायम रहेको तथा यातायात सेवा प्रदायकले यात्रुले भाडा तिरेको यात्री टिकट अनिवार्य रुपमा दिनुपर्ने प्रावधान रहेकाले सोही अनुसार गर्नु/गराउनु हुन अनुरोध छ,’ जारी सूचनामा भनिएको छ, ‘उल्लिखित व्यवस्थाको विपरीत भए/गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा अन्य प्रचलित कानुन बमोजिमको कारबाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारी लागि अनुरोध छ ।’ 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully