नेपाल केरा उत्पादक महासंघले बजारमा केरा खुद्रा मूल्य प्रतिदर्जन ३५०–४०० रुपैयाँसम्म पुगे पनि किसानले ७० देखि ८५ रुपैयाँ मात्रै पाउँदै आएको प्रष्टाएको छ ।
काठमाडौं — नेपाल केरा उत्पादक महासंघ तदर्थ समितिले केराको न्यूनतम समर्थन मूल्य तोक्न माग गरेको छ ।
किसानको बारीमा मूल्य नबढ्दा पनि बजारमा अत्याधिक भइरहको मूल्यवृद्धि नियन्त्रण गर्दै समर्थन मूल्य तोक्न माग गरेको हो ।
समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी बजारमा केरा खुद्रा मूल्य प्रतिदर्जन ३५०–४०० रुपैयाँसम्म पुगे पनि किसानले ७० देखि ८५ रुपैयाँ मात्रै पाउँदै आएको प्रष्टाएको छ ।
समितिले उपभोक्ता र किसान दुवै मारमा परिरहेका बेला बजारमा बिचौलियाको हस्तक्षेप भइरहेको आरोप लगाएको छ । सरकारले तत्काल हस्तक्षेप गरी बजार अनुगमन र न्यूनताम मूल्य नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ । सरकारले बजार हस्तक्षेप नगरे केरा आत्मनिर्भरतातर्फ लम्किरहेको देश फेरि पनि आयातमै भर पर्नुपर्ने अवस्था आउने समितिको भनाइ छ ।
समितिले बजार अनुमगम प्रभावकारी बनाउन, केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, कृषि बिमा प्रणालीलाई सरल छिटो र प्रभावकारी बनाउन, गुणस्तरीय टिसुकल्चर बिरुवाको व्यवस्था गर्ने, रसायनिक मलको सरल आपूर्ति गर्न, कृषि बिमा प्रणालीलाई सरल, छिटो र प्रभावकारी बनाउन माग समेत राखेको छ ।
समितिले किसान बलियो भयो भने राष्ट्र बलियो हुने भन्दै राज्यले तुरुन्तै ठोस निर्णय लिने अपेक्षा गरेको अध्यक्ष विष्णुहरि पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
