भारतबाट केरा आयात खुलाउन कृत्रिम मूल्यवृद्धि गरियो : किसान

नेपालमा वार्षिक करिब ९ लाख मेट्रिक टन केरा आवश्यक भए पनि करिब ७ लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ । हाल १५ हजार ७ सय हेक्टर क्षेत्रमा केरा खेती भइरहेको छ ।

वैशाख ८, २०८३

विवेक पोख्रेल

Artificial price hike to open banana imports from India: Farmers

What you should know

काठमाडौं — नेपाल केरा उत्पादक महासंघ तदर्थ समितिले बिचौलियाले भारतबाट केरा आयात गर्ने उद्देश्यले नेपाली केराको मूल्य कृत्रिम रूपमा बढाएको आरोप लगाएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्णुहरि पन्तले बिचौलियाको हस्तक्षेपका कारण किसानको बारीमा मूल्य नबढे पनि बजारमा अस्वाभाविक मूल्यवृद्धि भइरहेको बताए ।

उनका अनुसार किसानले स्थानीय जात (मालभोग) केरा प्रतिदर्जन ७० देखि ८५ रुपैयाँ र हाइब्रिड जात (विलियम, जी–नाइन) ५० देखि ६० रुपैयाँमा बिक्री गरिरहेका छन् । तर बिचौलियाले कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता मूल्य ३५० देखि ४०० रुपैयाँसम्म पुर्‍याएको उनको आरोप छ ।

‘केरामा नेपाल आत्मनिर्भर बन्न सक्ने बलियो सम्भावना छ । तर, केही बिचौलिया भारतबाट केरा भित्र्याउने उद्देश्यले बजारमा चलखेल गरेर नेपाली केराको मुल्य बढाएका छन्,’ पन्तले भने, ‘हामी सरकारसँग मूल्यवृद्धि नियन्त्रण गर्दै केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न समेत माग गर्छौं ।’ 

झापाकी किसान पूजा खनालले पनि अस्वभाविक मूल्यले उपभोक्ता र किसान दुवै मारमा परेको बताइन् । ‘हामी किसानले उचित मूल्य पाएका छैनौं । तर, उपभोक्ताले महंगो तिर्नुपरेको छ,’ उनले भनिन्, ‘सरकारले तत्काल बजार अनुगमन र मूल्य नियन्त्रण गर्नुपर्छ । यो मूल्य किन बढ्यो पहिचान गर्न आवश्यक छ ।’ 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ आपूर्ति–मागमा असन्तुलनले मूल्यमा प्रभाव परेको बताउँछन् । ‘सरकारले भारतीय केरामा प्रतिबन्ध लगाए पनि स्वदेशी उत्पादनले मात्र नपुगेकाले मुल्यवृद्धि भएको छ,’ उनले भने, ‘यद्यपि,  बिचौलियाको भूमिका र आपूर्ति शृङ्खलाबारे भने थप अनुसन्धान आवश्यक छ ।’

‘पानामा टीआर–४’ भाइरसको जोखिमका कारण सरकारले गत ६ असोजदेखि भारतबाट केरा आयातका लागि अनुमतिपत्र रोक्दै आएको छ । महासंघले बजार अनुगमन प्रभावकारी बनाउन, न्यूनतम समर्थन मूल्य तोक्न, कृषि बिमा प्रणालीलाई सरल र प्रभावकारी बनाउन, गुणस्तरीय टिस्यु–कल्चर बिरुवाको व्यवस्था गर्न तथा रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न माग गरेको छ । यस विषयमा सम्बन्धित मन्त्रीहरूसँग संघले छलफल पनि गरेको थियो । 

कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीसहित सचिवहरूसँगको छलफलमा सकारात्मक प्रतिक्रिया पाएको अध्यक्ष पन्तले जानकारी दिए ।

नेपालमा वार्षिक करिब ९ लाख मेट्रिक टन केरा आवश्यक भए पनि करिब ७ लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ । हाल १५ हजार ७ सय हेक्टर क्षेत्रमा केरा खेती भइरहेको छ । भारतबाट आयात रोकिएपछि किसानले खेती क्षेत्र विस्तार गरेको महासंघको दाबी छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully