बुकिङ रद्द हुँदा पर्यटकीय गन्तव्य पोखरा र चितवनमा धेरै असर, अवस्था सहज हुँदा वसन्तयाममा पोखराका होटलमा ८० प्रतिशतसम्म अक्युपेन्सी हुन्थ्यो, अहिले ६० प्रतिशत हाराहारीमा सीमित, बर्दियामा निराशा, जुम्लाका कोसेली बिकेनन्
What you should know
काठमाडौँ — पश्चिम एसिया तनावको असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । तेस्रो मुलुकबाट यहाँका प्रमुख गन्तव्यमा आउने तयारी गरिरहेका पर्यटकले धमाधम बुकिङ रद्द गर्न थालेका छन् । मुलुकमा प्रमुख पर्यटकीय गन्तव्य पोखरा र चितवनमा धेरै असर देखिएको छ । पोखराको एक मात्र पाँच तारे होटल पोखरा ग्रान्डमा यसअघिका वसन्त याममा ८० प्रतिशत ‘अक्युपेन्सी’ पुग्थ्यो । तर, युद्धको असरले यस वर्ष ५० प्रतिशतमा झरेको छ ।
पश्चिम एसिया युद्धको असरले कम भएका युरोपेली र अमेरिकी पर्यटकको विकल्पमा खर्चिला भारतीय पर्यटक भित्र्याउन होटलले प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको उनले सुनाए ।युरोप र अमेरिकाबाट आउने ३०–४० प्रतिशत पर्यटकले बुकिङ रद्द गरेका छन् । केहीले ‘होल्ड’ मा राखेका छन् । ती मुलुकबाट नयाँ बुकिङ बन्दजस्तै भएको छ । हालको ‘अक्युपेन्सी’मध्ये भारतीय पर्यटकको हिस्सा आधा छ । त्यसपछिको धेरै हिस्सा आन्तरिक पर्यटकले ओगटेका छन् । चिनियाँ पर्यटकको संख्या बढ्दो छ ।
‘अहिले भारतीय पर्यटकले व्यापार धानिरहेको अवस्था हो,’ उनले भने, ‘शनिबार र आइतबारको बिदा र विद्यालय बन्द हुने भएकाले आन्तरिक पर्यटक पनि वृद्धि भएका छन् ।’ पश्चिम एसिया युद्धको असरले कम भएका युरोपेली र अमेरिकी पर्यटकको विकल्पमा खर्चिला भारतीय पर्यटक भित्र्याउन होटलले प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको उनले सुनाए ।
पोखराको लेकसाइडमा रहेको टेम्पल बेल बुटिक होटल एन्ड स्पामा पनि चालु सिजनमा ३० प्रतिशत बाह्य पर्यटकले बुकिङ रद्द गरेका छन् । बुकिङ रद्द गर्नेमा अमेरिकी, युरोपेली र क्यानाडेली पर्यटक धेरै थिए । दुबई, कतारका विमानस्थलमा बाधा उत्पन्न हुनु, यात्रा जोखिमपूर्ण हुनु र हवाई भाडासमेत बढ्नुले नेपालको पर्यटनमा प्रत्यक्ष असर पारेको टेम्पल बेलका सञ्चालक एवं रेवान पोखराका सचिव भीष्मराज पौडेल बताउँछन् ।
‘राम्रो पक्ष भनेको भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुनु हो,’ पौडेलले भने, ‘विशेषगरी मुक्तिनाथ पुग्ने धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ ।’ भारतीय पर्यटकको आगमनले पोखराको पर्यटनमा राहत पुगेको उनले जनाए । ‘शनिबार र आइतबारको बिदाले शुक्रबारदेखि नै लेकसाइड चलायमान देखिन्छ,’ उनले भने । चिनियाँ पर्यटकको संख्या पहिलेभन्दा केही बढेको उनले सुनाए ।
बुद्ध जन्मस्थल लुम्बिनीस्थित तीनतारे होक्के होटलमा गत चैतमा दुई सय रात्रिका लागि गरिएको कोठाको बुकिङ रद्द भएको अपरेसनल म्यानेजर भवीश्वर अधिकारीले बताए । ‘अहिले बुकिङ आउन छाडेको छ,’ उनले भने, ‘पर्यटकीय सिजनमा पनि होटल सुनसान छ ।’
लुम्बिनीको अर्को कासाई होटलमा गत चैतमा १ हजार २ सय विदेशी पर्यटकले बुकिङ गरेका थिए । तीमध्ये ५ सयले बुकिङ रद्द गरेको होटलका म्यानेजर प्रज्जवल कार्कीको भनाइ छ ।लुम्बिनीको अर्को कासाई होटलमा गत चैतमा १ हजार २ सय विदेशी पर्यटकले बुकिङ गरेका थिए । तीमध्ये ५ सयले बुकिङ रद्द गरेको होटलका म्यानेजर प्रज्जवल कार्कीको भनाइ छ । ‘बुद्ध जयन्ती आसपास विदेशी पर्यटक आउँछन्,’ उनले भने, ‘इरान–अमेरिका युद्ध लम्बिँदै जाँदा विदेशी देख्न गाह्रो हुन थाल्यो ।’ पर्यटनका लागि नराम्रा दिनको सुरुवात भएको उनले जनाए ।
बुकिङ गरेका पर्यटक नै नआएको चितवनको मेघौली घटगाई नेचर गाइड एसोसिएसन अध्यक्ष मनेश लिम्बू बताउँछन् । ‘म सँग सिधै बुकिङ गरेका जर्मनी र स्पेनका ग्रुप थिए । २१ मार्चमा आउने कुरा थियो । अन्तिममा आएर क्यान्सिल गरे,’ लिम्बूले भने, ‘पर्यटकीय सिजनमा पनि विदेशी पर्यटक कम आइरहेका छन् ।’ पूर्वी चितवनस्थित क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डे चालु सिजनमा २० देखि २५ प्रतिशतसम्म बुकिङ रद्द भएको बताउँछन् । बुकिङ रद्द नगरेर आउँछु भनेकाहरू पनि नआएको उनले बताए । ‘२० जना आउँछु भनेर बुकिङ गर्छन् । तर आउने बेला १० जना मात्र आउँछन्,’ पाण्डेले भने ।
पर्यटक आगमनका हिसाबले शरदपछिको दोस्रो ठूलो मौसम वसन्त हो । यो याममा पोखरामा विशेषगरी अन्नपूर्ण क्षेत्रमा पदयात्रा निस्कने तेस्रो मुलुकका पर्यटक र मुक्तिनाथ जाने भारतीय पर्यटकको आगमन धेरै हुन्छ । पदयात्रामा निस्कँदा र फर्किंदा पर्यटकले पोखरामा रात बिताउँछन् । विद्यालय बन्द हुने भएकाले परिवारसहित घुम्न आउने आन्तरिक पर्यटकले पनि लेकसाइडका होटल भरिभराउ हुन्छन् ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार सहज अवस्था हुँदा वसन्तयाममा पोखराका होटलमा ८० प्रतिशतसम्म अकुपेन्सी हुन्थ्यो । अहिले ६० प्रतिशतको हाराहारीमा अक्युपेन्सी रहेको उनले बताए । पर्यटक आगमन गिरावटमा पश्चिम एसिया युद्धकै असर भए पनि इन्धनमा भएको मूल्यवृद्धिले खास असर नपुर्याएको उनको भनाइ छ । ‘पेट्रोलियम पदार्थ नै नपाउने अवस्था भएको भए पर्यटनमा ठूलो असर पुग्थ्यो,’ उनले भने, ‘घुम्न निस्कने पर्यटक खर्च गर्ने मुडमा हुने भएकाले इन्धनको मूल्यवृद्धिले त्यति अर्थ राख्दैन ।’
भारतबाट नेपाल घुम्न आउन यातायात खर्च सस्तो पर्ने भएकाले भारतीय आफ्नै सवारीसाधनमा पोखरा आउने गरेको तिमिल्सिनाले सुनाए । ‘त्यहाँ गाडी खरिद सस्तो पर्ने भएपछि ट्राभल तथा टुर अपरेटरले सस्तोमै सेवा दिन्छन्,’ उनले भने, ‘त्यसकारण पनि यति बेला दुबई जाने भारतीय पर्यटक डाइभर्ट भएर पोखरा आएको अवस्था छ ।’
भारतबाट आफ्नै गाडीमा खाद्यान्नलगायत सामग्री ल्याएर आफैं पकाएर खाने भारतीय पर्यटकको संख्या पछिल्लो समय घट्दै गएको तिमिल्सिनाले बताए । बिहारमा मदिरा निषेध गरेपछि एक दिनमै आइपुगिने पोखरामा आएर भारतीय पर्यटकले रमाइलो गर्ने गरेको उनले सुनाए । ‘यहाँ क्यासिनोदेखि पाँचतारे होटलसम्ममा खर्च गर्नेदेखि लिएर साना होटललाई बचाउनेसम्म भारतीय पर्यटक छन्,’ उनले भने ।
पश्चिम एसिया युद्धको असर चितवनको पर्यटन क्षेत्र पनि परेको छ । वन्यजन्तु अवलोकनका लागि प्रमुख गन्तव्य चितवनमा वदेशी पर्यटकले बुकिङ रद्द गरेको र चासो देखाएकाहरू पनि कम आएको होटल व्यवसायीले जनाए ।
वन्यजन्तु अवलोकनका लागि प्रमुख गन्तव्य चितवनमा वदेशी पर्यटकले बुकिङ रद्द गरेको र चासो देखाएकाहरू पनि कम आएको होटल व्यवसायीले जनाए ।सौराहाकी नेचर गाइड सम्झना तिवारी एक महिनायता व्यस्त भइन् । पर्यटकलाई जंगल डुलाउन भ्याइ–नभ्याइ भए पनि विदेशीको संख्या न्यून रहेको उनले बताइन् । ‘पछिल्लो समय आएका लगभग ८० प्रतिशत स्वदेशी थिए । भारतीय र अन्य विदेशी १०/१० प्रतिशत जति होलान्,’ उनले भनिन्, ‘अघिल्ला वर्षमा स्वदेशी पर्यटक ६० प्रतिशत हाराहारी र अरू विदेशी हुने गरेका थिए ।’
चितवन निकुञ्जमा स्वदेशी पर्यटकको चहलपहल सन्तोषजनक छ । अमेरिका–इरान युद्धले खाडी मुलुक र त्यहाँका विमान हुँदै आउने विदेशी पर्यटक लगभग ठप्प भएको संरक्षणकर्मी तथा सौराहाका पर्यटन व्यवसायी बासु ढुंगानाले जनाए । भारत हुँदै आउने विदेशी पर्यटकको संख्यामा पनि कमी आएको उनले सुनाए । ‘इरान युद्धपछि बुकिङ रद्द हुन थाल्यो । नेपालीहरूको चहलपहल राम्रो भएकाले मात्रै केही राहत भएको छ,’ उनले भने ।
घुमफिरको सिजन भएकाले सौराहा भरिभराउ हुन्थ्यो । चितवन निकुञ्जका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म स्वदेशी १ लाख १९ हजार २ सय, सार्क मुलुकका १२ हजार १ सय ७९ र विदेशी ६५ हजार ७ सय ५७ गरी कुल १ लाख ९७ हजार १३६ पर्यटकले निकुञ्ज घुमेका छन् ।
पुस/माघको तुलनमा फागुन/चैतमा चितवन घुम्ने नेपालीको संख्या घटेको चितवन निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जनाए । गत वर्षको तुलनामा यस वर्षको फागुन/चैतमा चितवन घुम्ने नेपाली बढेका छन् । गत वर्षको फागुनमा ११ हजार ७ सय ७६ र चैतमा ११ हजार ६ सय ४५ नेपालीले निकुञ्ज घुमेका थिए । यस वर्षको फागुनमा १५ हजार ६ सय ९१ र चैतमा १३ हजार ९ सय २५ नेपालीले निकुञ्ज घुमेको सूचना अधिकारी थापा मगरले जनाए ।
यस वर्षको फागुनमा सार्क देशका १ हजार ३ सय ८७ र चैतमा दुई हजार ३ सय ४४ जनाले निकुञ्ज घुमेका छन् । त्यसैगरी विदेशी पर्यटक फागुनमा १० हजार ३ सय २६ र चैतमा घटेर ९ हजार ७ सय १७ जनाआएको निकुञ्जको विवरणमा उल्लेख छ । गत वर्ष फागुनमा सार्क मुलुकका २ हजार ६५ र चैतमा २ हजार ६ सय ६ जना आएका थिए । गत वर्ष फागुनमा ८ हजार २ सय २७ र चैतमा ११ हजार १ सय ९१ जना तेस्रो मुलुकबाट आएका थिए ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विदेशी पर्यटक घटेका छन् । अमेरिका–इजरायल र इरानबीच तनाव बढ्दै जाँदा बुद्ध जन्मस्थलमा विदेशी पर्यटकको चहलपहल ह्वात्तै घटेको हो । लुम्बिनी आउने ६० प्रतिशत विदेशीले होटल ‘बुकिङ’ रद्द गरेको लुम्बिनी होटल संघ अध्यक्ष लीलामणि शर्माले बताए । मध्यपूर्वका मुलुक भएर नेपाल आउने युरोप–अमेरिकाका पर्यटक घटेका हुन् । ‘हवाई असुरक्षा र उडान रद्द भएकाले आउन सकेका छैनन्,’ शर्माले भने, ‘यस्तो अवस्था लम्बिँदै गए कोभिड–१९ महामारीमा जस्तै पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुन्छ ।’
लुम्बिनी आउने ६० प्रतिशत विदेशीले होटल ‘बुकिङ’ रद्द गरेको लुम्बिनी होटल संघ अध्यक्ष लीलामणि शर्माले बताए । मध्यपूर्वका मुलुक भएर नेपाल आउने युरोप–अमेरिकाका पर्यटक घटेका हुन् ।अहिले लुम्बिनी सुनसान बनेको छ । बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गतका प्राचीन कपिलवस्तु, निग्लिहवा, गोटिहवा, देवदह र रामग्राम पनि सुनसान छन् । लुम्बिनीमा सानाठूला ८२ होटल र रेस्टुरेन्ट छन् । कतार र यूएईलाई मुख्य ट्रान्जिट बनाएर नेपाल आउने पर्यटक घटेको लुम्बिनी विकास कोष वरिष्ठ सूचना अधिकृत हरिध्वज राईले बताए । लुम्बिनीमा बर्सेनि विश्वका करिब एक सय मुलुकका पर्यटक, तीर्थयात्री आउँछन् । विदेशी मुलुकमा भइरहेको द्वन्द्व र अशान्तिको असर नेपालको पर्यटन क्षेत्रमा परेकाले नयाँ ढंगले प्रवर्द्धनको योजना बनाउनुपर्ने उनले जनाए ।
लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारा पर्यटकविहीन भएपछि व्यवसायी निराश छन् । पछिल्लो समय इन्धनको भाउ बढेपछि यात्रा गर्ने घटेका छन्, जसले गर्दा जिल्लाका पर्यटकीय क्षेत्रमा चहलपहलमा कमी आएको छ । इजरायल–अमेरिका–इरान युद्धका कारण इन्धनको अभाव भएर मूल्यवृद्धि भएपछि पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको होटल संघ नेपाल बर्दिया च्याप्टरका अध्यक्ष मोहनलाल चौधरीले बताए ।
‘इन्धन मूल्यवृद्धिका कारण आन्तरिक पर्यटनको संख्या घटेको छ,’ चौधरीले भने, ‘विदेशी पर्यटक छिटफुट आइरहेका छन् ।’ इन्धनमा मूल्यवृद्धिका कारण भाडा पनि बढेकाले पर्यटनको संख्यामा कमी आएको उनले जनाए । यहाँ आएका विदेशीले पनि कम खर्च गरिहेको उनले बताए ।
‘बढी खर्च गर्ने गुणस्तरीय पाहुनाको कमी छ,’ चौधरीले भने, ‘सामान्य अवस्थामा स्वदेशी पर्यटनलाई एक दिनको जिप सफारीका लागि १२ हजार ५ सय मात्र पर्थ्यो,’ अध्यक्ष चौधरीले भने, ‘तर डिजेलको भाउ बढ्दा पछिल्लो समय स्वदेशी पर्यटनलाई एक दिनको जिप सफारीका लागि १८ हजार ५ सय लाग्ने गरेको छ ।’
विदेशीलाई झन् महँगो पर्छ । इन्धनको मूल्यवृद्धिकै कारण पहिलाभन्दा पर्यटकीय गतिविधि घटेको प्रकृति पथप्रदर्शक संघ बर्दिया अध्यक्ष कृष्णबहादुर शाहले बताए । इन्धनको भाउ बढेर भाडा बढ्दा पर्यटनको संख्यामा भारी गिरावट आएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले जनाए । ‘जेन–जी आन्दोलनदेखि सबै बुकिङ रद्द भएका छन्,’ उनले भने, ‘ऋण खोजेर कर्मचारीलाई तलब दिइरहेको छु ।’
गत साउनदेखि चैतसम्म १३ हजार ४७ नेपाली, सार्क मुलुकबाट ८ सय १९ र विदेशी ५ हजार २ सय ४९ पर्यटकले निकुञ्ज अवलोकन गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले जनाए ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिपछि कर्णाली घुमफिर गर्ने पर्यटक घटेका छन् । अहिले यहाँका सडकमा पर्यटकका गाडी देखिन छाडेका छन् । कर्णाली राजमार्ग हुँदै मुगुको राराताल पुगेर जुम्लाको खलंगा आउने पर्यटक धेरै हुन्थे । सदरमुकाम खलंगाका चोकचोकमा पर्यटक भेटिन्थे । यहाँका होटल पर्यटक भरिभराउ हुन्थे ।
एक सातादेखि सदरमुकाम खलंगा सुनसान छ । पर्यटक घटेसँगै स्थानीय उत्पादन बिक्री हुन छाडेका छन् । अर्गानिक वस्तुको बिक्री घटेको स्थानीय राजु बोहोरा बताउँछन् । उनका अनुसार एक साताअघि दिनमै एक लाख रुपैयाँसम्मका अर्गानिक वस्तु किनबेच हुन्थे । अहिले दिनमा १५ हजार रुपैयाँसम्मको कारोबारसमेत भइरहेको छैन । ‘मूल्यवृद्धिको कारण देखाउँदै पर्यटक आउन मानिरहेका छैनन्,’ उनले भने, ‘पाहुना नआएपछि व्यापार घटेको छ ।’
जिल्लामा पर्यटक ओसार्ने जहाजका उडान पनि पूर्वतिर केन्द्रित भएका छन् । ‘सडकमा गाडी कम गुडिरहेका छन्,’ बोहोराले भने, ‘खलंगा अहिले सुनसान छ ।’ यो बेला होटलमा आन्तरिक तथा बाह्य पर्यटक भरिभराउ हुने गरेकामा अहिले सुनसान बनेको उनले बताए । कर्णालीको सिँजा उपत्यका हुँदै रारा ताल घुमेर पर्यटक खलंगा आइपुग्ने गरेका छन् । उनीहरू चन्दननाथ मन्दिरको दर्शन गरेर स्थानीय उत्पादन खरिद गरेर फर्किने गरेका छन् ।
पर्यटकको चहलपहल घटेको चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष अमरबहादुर थापा बताउँछन् ।उनका अनुसार मन्दिरमा दिनहुँ ५ सय पर्यटकसम्मले दर्शन गरेको तथ्यांक थियो । अहिले २० जना पनि पुग्दैनन् । डोल्पाको शे–फोक्सुन्डो अवलोकनका लागि पर्यटक जुम्ला भित्रिने गरेका छन् । यहाँ आउने पर्यटकले स्याउका चाना, सिमीको दाल, सिमीको दाना, स्थानीय भेडाको उनबाट बनेका कपडादेखि फापर, चिनो, कागुनो, मार्सी चामल कोसेली लैजान्छन् । दीपक परियार (पोखरा), रमेशकुमार पौडेल(चितवन), मनोज पौडेल(लुम्बिनी), रामप्रसाद चौहान(बर्दिया) र डीबी बुढा (जुम्ला)
