खाडी क्षेत्रमा नयाँ श्रम स्वीकृति खोल्न परराष्ट्रको सिफारिस

पश्चिम एसियामा अमेरिका, इजरायल–इरान युद्ध सुरु भएपछि खाडी क्षेत्रमा नयाँ श्रम स्वीकृति रोकिएको थियो ।

वैशाख ७, २०८३

होम कार्की

Foreign Ministry recommends opening new labor permits in the Gulf region

काठमाडौँ — परराष्ट्र सचिवको संयोजकत्वमा गठित इमर्जेन्सी रेस्पोन्स टिम (इआरटी)ले  खाडी क्षेत्रमा नयाँ श्रम स्वीकृति खोल्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । पश्चिम एसियामा अमेरिका, इजरायल–इरान युद्ध सुरु भएपछि खाडी क्षेत्रमा नयाँ श्रम स्वीकृति रोकिएको थियो ।

परराष्ट्र सचिव अमृत राईको अध्यक्षतामा सोमबार बसेको इमर्जेन्सी रेस्पोन्स टिमको बैठकले पश्चिम एसियाको तनावपूर्ण परिस्थिति सहज हुँदै गएको भन्दै श्रम मन्त्रालयलाई नयाँ श्रम स्वीकृति खोल्न सिफारिस गरेको हो । सरकारले पश्चिम एसियाको परिस्थितिअनुसार नेपालीको लागि आवश्यक निर्णय लिन परराष्ट्र सचिवको अध्यक्षतामा इआरटी गठन गरेको थियो ।

अमेरिका–इरानबीच युद्ध सुरु भएपछि श्रम मन्त्रालयले नेपालीको प्रमुख रोजगार गन्तव्य कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत, ओमान, इजरायल, टर्की देशमा नयाँ श्रम स्वीकृति र श्रम नवीकरण गर्न रोक लगाएको थियो । तर, श्रमले बिदामा आएका नेपालीलाई फर्कनको लागि श्रम नवीकरण गर्ने निर्णय गरे पनि नयाँलाई श्रम स्वीकृति दिएको थिएन ।

श्रम स्वीकृति स्थगन भएपछि नेपाली दुतावासले मागपत्र प्रमाणीकरण गर्न समेत रोक लगाइएको छ । श्रम मन्त्रालयले रोकिएको नयाँ श्रम स्वीकृति खोल्ने प्रक्रिया अगाडि बढिसकेको जनाएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully