हवाई भाडा र लागत बढे पनि सगरमाथा आरोहणमा आकर्षण उस्तै

पश्चिम एसियामा जारी तनावका कारण ट्रेकिङ र यात्राका बुकिङ सामान्य दिनको तुलनामा करिब ६० प्रतिशतले घटे पनि सगरमाथा आरोहण अभियानमा प्रभाव नपरेको टुर अपरेटरहरूको स्पष्टोक्ति 

वैशाख ७, २०८३

संगम प्रसाई

Despite the increase in airfare and costs, the attraction of climbing Mount Everest remains the same

What you should know

काठमाडौँ — पश्चिम एसियामा जारी तनावका कारण हवाई भाडा अकासिएको छ । यातायात, आवास तथा अन्य खर्च बढेसँगै पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । तर सगरमाथा आरोहणप्रतिको आकर्षण उस्तै छ । 

टुर अपरेटरहरूका अनुसार ट्रेकिङ र यात्राका बुकिङ सामान्य दिनको तुलनामा करिब ६० प्रतिशतले घटेका छन् । तर सगरमाथा आरोहण अभियानमा यसको कुनै प्रभाव परेको देखिन्न । जब कि सरकारले आरोहण शुल्क यहीबीचमा बढाएको छ । 

सरकारले १ सेप्टेम्बर २०२५ देखि सगरमाथा आरोहण शुल्क प्रतिव्यक्ति ४ हजार डलर बढाएर १५ हजार डलर पुर्‍याएको थियो । आरोहणको दर घट्ने अनुमानका साथ आरोहण शुल्कमा वृद्धि गरिएको थियो । सरकारले स्वीकृत गरेको पर्वतारोहणसम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ मा शुल्कको नयाँ व्यवस्था गरेको हो ।

तर टुर अपरेटरहरूका अनुसार अहिलेसम्म आरोहणमा यसको प्रभाव देखिन्न । किनकि आरोहीहरूले महिनौंअघि नै बुकिङ गरिसकेका थिए । पहिले ३० हजारदेखि ३५ हजार डलर पर्ने सस्तो सगरमाथा प्याकेज अहिले करिब ४५ हजार डलरबाट सुरु हुन्छन् । सगरमाथाप्रति आरोहीहरूको प्रेम अनौठो खालको रहेको सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले बताउँछन् । ‘इरान द्वन्द्वसहितको विश्व परिस्थितिमा धेरै परिवर्तन भए पनि कुनै आरोहणका योजना रद्द भएका छैनन्,’ उनले भने । यस वर्ष सगरमाथामा ८० देखि ९० जना आरोही हुने अपेक्षा रहेको उनले सुनाए । जुन गत वर्षको करिब १ सय जनाभन्दा केही कम हो । 

सन् २०२५ को वसन्तयाममा नेपालले ४ सय ६९ सगरमाथा आरोहण अनुमति जारी गरेको थियो, जुन अहिलेसम्मकै उच्चमध्ये एक हो।शेर्पाका अनुसार इरान र इजरायलका आरोहीहरूको सहभागिता लगभग शून्यमा झरेको छ भने रुसी आरोहीहरूको संख्या बढ्न थालेको छ । एटके एक्सपेडिसन्सका कार्यकारी निर्देशक पेम्बा शेर्पाले पनि अप्रिल महिनाका ट्रेकिङ बुकिङ तीव्र रूपमा घटे पनि आरोहण अनुमति भने यथावत् छन् । ‘हामीले कुनै पनि आरोहण रद्दको जानकारी पाएका छैनौं,’ उनले भने, ‘तर पश्चिम एसियाको द्वन्द्व र फेक रेस्क्युको घटनाका कारण समग्र पर्यटन उद्योग दबाबमा छ ।’

फेक रेस्क्युको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेर यसमा आरोपितहरूमाथि गठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिसकेको छ । नक्कली उद्धार उडान गराई बिमा रकम हत्याएर देशको प्रतिष्ठामा नै आँच आउने काम गरेको निष्कर्षसहित प्रहरीले १ हजार २ सय ४३ पृष्ठको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।

पछिल्ला दिनमा हवाई भाडा दोब्बर वा तीन गुणासम्म बढेको र धेरै पर्यटक पश्चिम एसियाली ट्रान्जिट केन्द्र प्रयोग गर्न हिचकिचाइरहेको कार्यकारी निर्देशक पेम्बा शेर्पा बताउँछन् । यसले ट्रेकिङ यात्रामा बढी असर पारेको उनको भनाइ छ । ‘नियमित उडान अवरुद्ध हुने र रि–रुट गरेर भएका उडानको शुल्क महँगो भएकाले धेरै ट्रेकरले रद्द गरेका छन्,’ उनले भने । यद्यपि सगरमाथा आरोहण प्रायः मेको मध्यतिर गरिन्छ । तर आरोहीहरू हाई अल्टिच्युडमा वातावरणसँग अनुकूलता मिलाउन मार्चदेखि नै आउन थाल्छन् । नेपालमा वसन्त आरोहण सिजन मेको अन्त्यसम्म रहन्छ ।

आरोहण उपकरण, अक्सिजन, खाना, बिमा र हेलिकोप्टर सेवासम्म सबैको शुल्क बढेको पेम्बाले जनाए । ‘सबै कुरा महँगो भएको छ– सडकदेखि हवाई यातायात, होटलदेखि रेस्टुरेन्ट, उपकरणदेखि गाइड, अक्सिजनदेखि बिमासम्म,’ उनले भने । 

ट्रेक अपरेटरहरूका अनुसार अहिले पर्वतारोहण उपकरणको मूल्य मात्रै २० देखि ३० प्रतिशतसम्म बढेको छ । पहिले करिब २५ हजार रुपैयाँ पर्ने बुट अहिले ४० हजार रुपैयाँमा बिक्री भइरहेको छ । यही बीचमा अमेरिकी डलरको मूल्यवृद्धि भएको छ । नेपाली कम्पनीहरूलाई केही सहज बनाए पनि विदेशी आरोही र आरोहण दलका सदस्यका निम्ति भने खर्च बढेको छ । 

यही बीचमा अमेरिकी डलरको मूल्यवृद्धि भएको छ । नेपाली कम्पनीहरूलाई केही सहज बनाए पनि विदेशी आरोही र आरोहण दलका सदस्यका निम्ति भने खर्च बढेको छ ।शुक्रबारसम्म पर्यटन विभागले सगरमाथा आरोहणका लागि ३ सय ६० जनालाई अनुमति जारी गरिसकेको छ, जसबाट करिब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष यही अवधिमा ३ सय ३१ अनुमति जारी भएको थियो । यसबाट गरी करिब ४८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यो वर्ष चीन, अमेरिका, बेलायत, भारत, रुस, जापान र पोल्यान्डलगायत देशका नागरिक प्रमुख आरोही समूहमा छन् ।

यस वर्ष चीनले तिब्बततर्फको सगरमाथामार्ग विदेशी आरोहीका लागि बन्द गरेको छ, जसले उत्तरी मार्ग पूर्ण रूपमा बन्द भएको छ । यसले प्रायः अन्तर्राष्ट्रिय आरोहीलाई नेपालतर्फको दक्षिणी मार्गमा केन्द्रित गराएको छ । पश्चिम एसियाको तनावका कारण सुरुमा संख्या घट्ने अपेक्षा गरिएको पर्यटन विभागका प्रवक्ता हिमाल गौतमले बताए । ‘तर अनुमति जारी हुने गति हेर्दा संख्या गत वर्षकै हाराहारीमा देखिन्छ,’ उनले भने, ‘यो नेपालको उच्च मूल्य खण्डको पर्यटनका लागि सकारात्मक संकेत हो ।’

सन् २०२५ को वसन्तयाममा नेपालले ४ सय ६९ सगरमाथा आरोहण अनुमति जारी गरेको थियो, जुन अहिलेसम्मकै उच्चमध्ये एक हो । त्यस सिजनमा ७ सय २२ सफल आरोहण भएको थियो, जसमा २ सय ७२ विदेशी आरोही र ४ सय ३४ गाइड सहभागी थिए । २०२३ मा पनि ४ सय ७९ अनुमति जारी गरिएको थियो । नेपाली गाइडहरूलाई पनि समावेश गर्दा यस वर्ष १ हजारभन्दा बढी व्यक्तिले सगरमाथा आरोहण प्रयास गर्ने अनुमान गरिएको छ ।

संगम प्रसाई काठमाडौं पोस्टका संवाददाता हुन् । उनी उड्डयन, पर्यटन, कृषि, पूर्वाधार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully