पश्चिम एसियामा जारी तनावका कारण ट्रेकिङ र यात्राका बुकिङ सामान्य दिनको तुलनामा करिब ६० प्रतिशतले घटे पनि सगरमाथा आरोहण अभियानमा प्रभाव नपरेको टुर अपरेटरहरूको स्पष्टोक्ति
What you should know
काठमाडौँ — पश्चिम एसियामा जारी तनावका कारण हवाई भाडा अकासिएको छ । यातायात, आवास तथा अन्य खर्च बढेसँगै पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । तर सगरमाथा आरोहणप्रतिको आकर्षण उस्तै छ ।
टुर अपरेटरहरूका अनुसार ट्रेकिङ र यात्राका बुकिङ सामान्य दिनको तुलनामा करिब ६० प्रतिशतले घटेका छन् । तर सगरमाथा आरोहण अभियानमा यसको कुनै प्रभाव परेको देखिन्न । जब कि सरकारले आरोहण शुल्क यहीबीचमा बढाएको छ ।
सरकारले १ सेप्टेम्बर २०२५ देखि सगरमाथा आरोहण शुल्क प्रतिव्यक्ति ४ हजार डलर बढाएर १५ हजार डलर पुर्याएको थियो । आरोहणको दर घट्ने अनुमानका साथ आरोहण शुल्कमा वृद्धि गरिएको थियो । सरकारले स्वीकृत गरेको पर्वतारोहणसम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ मा शुल्कको नयाँ व्यवस्था गरेको हो ।
तर टुर अपरेटरहरूका अनुसार अहिलेसम्म आरोहणमा यसको प्रभाव देखिन्न । किनकि आरोहीहरूले महिनौंअघि नै बुकिङ गरिसकेका थिए । पहिले ३० हजारदेखि ३५ हजार डलर पर्ने सस्तो सगरमाथा प्याकेज अहिले करिब ४५ हजार डलरबाट सुरु हुन्छन् । सगरमाथाप्रति आरोहीहरूको प्रेम अनौठो खालको रहेको सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले बताउँछन् । ‘इरान द्वन्द्वसहितको विश्व परिस्थितिमा धेरै परिवर्तन भए पनि कुनै आरोहणका योजना रद्द भएका छैनन्,’ उनले भने । यस वर्ष सगरमाथामा ८० देखि ९० जना आरोही हुने अपेक्षा रहेको उनले सुनाए । जुन गत वर्षको करिब १ सय जनाभन्दा केही कम हो ।
सन् २०२५ को वसन्तयाममा नेपालले ४ सय ६९ सगरमाथा आरोहण अनुमति जारी गरेको थियो, जुन अहिलेसम्मकै उच्चमध्ये एक हो।शेर्पाका अनुसार इरान र इजरायलका आरोहीहरूको सहभागिता लगभग शून्यमा झरेको छ भने रुसी आरोहीहरूको संख्या बढ्न थालेको छ । एटके एक्सपेडिसन्सका कार्यकारी निर्देशक पेम्बा शेर्पाले पनि अप्रिल महिनाका ट्रेकिङ बुकिङ तीव्र रूपमा घटे पनि आरोहण अनुमति भने यथावत् छन् । ‘हामीले कुनै पनि आरोहण रद्दको जानकारी पाएका छैनौं,’ उनले भने, ‘तर पश्चिम एसियाको द्वन्द्व र फेक रेस्क्युको घटनाका कारण समग्र पर्यटन उद्योग दबाबमा छ ।’
फेक रेस्क्युको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेर यसमा आरोपितहरूमाथि गठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिसकेको छ । नक्कली उद्धार उडान गराई बिमा रकम हत्याएर देशको प्रतिष्ठामा नै आँच आउने काम गरेको निष्कर्षसहित प्रहरीले १ हजार २ सय ४३ पृष्ठको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।
पछिल्ला दिनमा हवाई भाडा दोब्बर वा तीन गुणासम्म बढेको र धेरै पर्यटक पश्चिम एसियाली ट्रान्जिट केन्द्र प्रयोग गर्न हिचकिचाइरहेको कार्यकारी निर्देशक पेम्बा शेर्पा बताउँछन् । यसले ट्रेकिङ यात्रामा बढी असर पारेको उनको भनाइ छ । ‘नियमित उडान अवरुद्ध हुने र रि–रुट गरेर भएका उडानको शुल्क महँगो भएकाले धेरै ट्रेकरले रद्द गरेका छन्,’ उनले भने । यद्यपि सगरमाथा आरोहण प्रायः मेको मध्यतिर गरिन्छ । तर आरोहीहरू हाई अल्टिच्युडमा वातावरणसँग अनुकूलता मिलाउन मार्चदेखि नै आउन थाल्छन् । नेपालमा वसन्त आरोहण सिजन मेको अन्त्यसम्म रहन्छ ।
आरोहण उपकरण, अक्सिजन, खाना, बिमा र हेलिकोप्टर सेवासम्म सबैको शुल्क बढेको पेम्बाले जनाए । ‘सबै कुरा महँगो भएको छ– सडकदेखि हवाई यातायात, होटलदेखि रेस्टुरेन्ट, उपकरणदेखि गाइड, अक्सिजनदेखि बिमासम्म,’ उनले भने ।
ट्रेक अपरेटरहरूका अनुसार अहिले पर्वतारोहण उपकरणको मूल्य मात्रै २० देखि ३० प्रतिशतसम्म बढेको छ । पहिले करिब २५ हजार रुपैयाँ पर्ने बुट अहिले ४० हजार रुपैयाँमा बिक्री भइरहेको छ । यही बीचमा अमेरिकी डलरको मूल्यवृद्धि भएको छ । नेपाली कम्पनीहरूलाई केही सहज बनाए पनि विदेशी आरोही र आरोहण दलका सदस्यका निम्ति भने खर्च बढेको छ ।
यही बीचमा अमेरिकी डलरको मूल्यवृद्धि भएको छ । नेपाली कम्पनीहरूलाई केही सहज बनाए पनि विदेशी आरोही र आरोहण दलका सदस्यका निम्ति भने खर्च बढेको छ ।शुक्रबारसम्म पर्यटन विभागले सगरमाथा आरोहणका लागि ३ सय ६० जनालाई अनुमति जारी गरिसकेको छ, जसबाट करिब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष यही अवधिमा ३ सय ३१ अनुमति जारी भएको थियो । यसबाट गरी करिब ४८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यो वर्ष चीन, अमेरिका, बेलायत, भारत, रुस, जापान र पोल्यान्डलगायत देशका नागरिक प्रमुख आरोही समूहमा छन् ।
यस वर्ष चीनले तिब्बततर्फको सगरमाथामार्ग विदेशी आरोहीका लागि बन्द गरेको छ, जसले उत्तरी मार्ग पूर्ण रूपमा बन्द भएको छ । यसले प्रायः अन्तर्राष्ट्रिय आरोहीलाई नेपालतर्फको दक्षिणी मार्गमा केन्द्रित गराएको छ । पश्चिम एसियाको तनावका कारण सुरुमा संख्या घट्ने अपेक्षा गरिएको पर्यटन विभागका प्रवक्ता हिमाल गौतमले बताए । ‘तर अनुमति जारी हुने गति हेर्दा संख्या गत वर्षकै हाराहारीमा देखिन्छ,’ उनले भने, ‘यो नेपालको उच्च मूल्य खण्डको पर्यटनका लागि सकारात्मक संकेत हो ।’
सन् २०२५ को वसन्तयाममा नेपालले ४ सय ६९ सगरमाथा आरोहण अनुमति जारी गरेको थियो, जुन अहिलेसम्मकै उच्चमध्ये एक हो । त्यस सिजनमा ७ सय २२ सफल आरोहण भएको थियो, जसमा २ सय ७२ विदेशी आरोही र ४ सय ३४ गाइड सहभागी थिए । २०२३ मा पनि ४ सय ७९ अनुमति जारी गरिएको थियो । नेपाली गाइडहरूलाई पनि समावेश गर्दा यस वर्ष १ हजारभन्दा बढी व्यक्तिले सगरमाथा आरोहण प्रयास गर्ने अनुमान गरिएको छ ।
