पत्रकार सम्मेलनमा उनले ल्होत्से बेस क्याम्पबाट शिखरसम्म पुगेर पुनः बेस क्याम्प फर्किने लक्ष्य २४ घण्टाभित्र पूरा गर्ने योजना सार्वजनिक गरिन् ।
काठमाडौँ — अनुभवी आरोही फूर दिकी शेर्पा सन् २०२६ को वसन्त ऋतुमा विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) सबैभन्दा छोटो समयमा आरोहण गर्ने लक्ष्यसहित तयारीमा छिन्। उनी सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो एकल महिला (विधवा) मध्ये एक हुन्।
शनिबार काठमाडौंको महाकालमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले ल्होत्से बेस क्याम्पबाट शिखरसम्म पुगेर पुनः बेस क्याम्प फर्किने लक्ष्य २४ घण्टाभित्र पूरा गर्ने योजना सार्वजनिक गरिन्।
कार्यक्रममा सांसद मिङ्मा ग्याबु (डेभिड) शेर्पाले नेपाल हिमालहरूको देश भएकाले विश्वलाई सिकाउन सक्ने क्षमता रहेको उल्लेख गर्दै अभियान सफलताको शुभकामना व्यक्त गरे। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले शेर्पा समुदायले देशको नाम विश्वभर चिनाउन महत्वपूर्ण योगदान दिएको बताए।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले शेर्पालाई सफलताको शुभकामना दिँदै गाउँपालिकाको तर्फबाट एकल महिलाहरूको हकहितमा सहयोग गर्ने प्रतिबद्धता जनाए। वरिष्ठ पर्यटन व्यवसायी तथा एसियन ट्रेकिङ प्रालिका अध्यक्ष आङ छिरिङ शेर्पाले पनि अभियान सफलताको शुभकामना व्यक्त गरे।
५१ वर्षीया शेर्पाले यो आरोहण आफ्ना स्वर्गीय बुबा आङ ङिमा शेर्पा र मित्र इमान सिंह गुरुङको सम्झनामा समर्पित गर्ने घोषणा गरिन्। उनले भने, ‘मेरो बुबाको ल्होत्से चढ्ने सपना अधुरो रह्यो, त्यसलाई पूरा गर्न म यो अभियानमा लागेकी हुँ ।’
फूर दिकी शेर्पाले हालसम्म सगरमाथा (२०१९), अमादब्लम, हिमलुङ हिमाल (महिला टोली नेतृत्व), आइल्यान्ड पिक (२ पटक), लोबुचे पिक (८ पटक), मेरा पिक, चुलु फार इस्ट, पोकलदे, पाल्दोर पिक (महिला टोली नेतृत्व) लगायतका हिमालहरू सफलतापूर्वक आरोहण गरिसकेकी छन्।
उनले खुम्बु क्लाइम्बिङ सेन्टरबाट बेसिक, एड्भान्स तथा डबल एड्भान्स तालिम लिएकी छन्। साथै, नेपाल पर्वतारोहण संघबाट बेसिक, रक क्लाइम्बिङ लेभल–१ तथा उच्च हिमाली उद्धार तालिमसमेत प्राप्त गरेकी छन्।
शेर्पाले आगामी अप्रिल २२ मा काठमाडौंबाट लुक्लातर्फ प्रस्थान गर्ने तालिका रहेको जानकारी दिइन्। उनले आफ्नो अभियानमार्फत महिलाहरूलाई कठिन परिस्थितिमा पनि लक्ष्य हासिल गर्न सकिन्छ भन्ने प्रेरणा दिन चाहेको बताइन्।
