कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि २०८१ को माघ, फागुन, चैत र २०८२ वैशाखको तुलनामा २०८२ माघ, फागुन, चैत र २०८३ को वैशाखमा केराको मूल्य वृद्धि भएको देखाउँछ ।
काठमाडौँ — बजारमा केराको मूल्य दर्जनको २ सय ५० रुपैयाँदेखि ३ सय ५० रुपैयाँसम्म पुगेको छ । पर्याप्त केरा नपाइएको र यहीबीचमा मातातीर्थ औंसी परेकाले पनि केरा महँगिएको खुद्रा व्यवसायीले बताएका छन् ।
यस पटक केराको मूल्य फागुनदेखि नै निरन्तर बढिरहेको छ । मातातीर्थ औंसीका कारण मात्र नभई आयात हुन नपाएकाले पनि केराको मूल्य वृद्धि भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि २०८१ को माघ, फागुन, चैत र २०८२ वैशाखको तुलनामा २०८२ माघ, फागुन, चैत र २०८३ को वैशाखमा केराको मूल्य वृद्धि भएको देखाउँछ ।
१ वैशाख २०८२ र १ वैशाख २०८३ को तुलनामा मात्रै केराको मूल्य दर्जनमा ५० प्रतिशतले बढेको छ । थोक बजारमै केराको मूल्य दर्जनमा ५० प्रतिशतले वृद्धि भएको हो । १ वैशाख २०८२ मा कालिमाटीको थोक बजारमा प्रतिदर्जन औसत १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । १ वैशाख २०८३ मा औसतमा २ सय २५ रुपैयाँ कारोबार भएको हो ।
केरा प्रतिदर्जन औसत मूल्य २२ माघदेखि ९ चैतसम्म १ सय ४५ रुपैयाँ, १० चैत २०८१ देखि ३ वैशाख २०८२ सम्म १ सय ५० रुपैयाँ थियो । तर २६ र २७ माघ २०८२ मा १ सय ८० रुपैयाँ पुगिसकेको थियो । २७ र २८ फागुनमा १ सय ८५ रुपैयाँ र २९ फागुनदेखि २ चैत २०८२ सम्म १ सय ९० रुपैयाँ थियो ।
३ चैतमा १ सय ९५, ४ चैतमा २ सय १०, ५ चैतमा २ सय २, ६ चैतमा २ सय ५, ७ चैतमा २ सय, ८ चैतमा २ सय १०, ९ र १० चैतमा २ सय र ११–२८ चैतसम्म २ सय १० रुपैयाँ पुगेको थियो । २९ चैतमा २ सय २५, ३० चैतमा २ सय २० र १ वैशाखमा थोक बजारमै केराको मूल्य प्रतिदर्जन औसत २ सय २५ रुपैयाँ पुगेको छ ।
थोक बजारमै महँगिनुको कारण भनेको उपभोक्ताको मागअनुसार केरा आपूर्ति नहुनु हो । २ असोज २०८२ यता केरा आयात गर्न प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले नयाँ प्रवेश अनुमतिपत्र जारी गरेको छैन । त्यसकारण बजारमा केराको मागअनुसार आपूर्ति गर्न नसक्दा मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् ।
ट्रोपिकल रेस–४ (टीआर–४) रोगको जोखिमका कारण आयात अनुमतिपत्र जारी नगरिएको प्लान्ट क्वारेन्टिनका सूचना अधिकारी रोशन अधिकारीले जनाए । ‘टीआर–४ ढुसीजन्य रोग हो, चितवनको एउटा बगैंचामा देखिसकेको छ, त्यसलाई हामीले बोट नै खनेर गाड्यौं, यसले भयावह अवस्था सिर्जना गर्न सक्छ,’ उनले भने, ‘यसबारे हामीले थप अध्ययन गरिरहेका छौं ।’ औपचारिक रूपमा आयात गर्न नपाइए पनि अनौपचारिक रूपमा आयात हुने केराको हकमा सूचना पाएसम्म कानुनी प्रक्रियाअनुसार नष्ट गरिरहेको उनको भनाइ छ ।
जैविक सुरक्षाका लागि पनि केरा आयातका लागि नयाँ अनुमति पत्र जारी रोकेको अधिकारीको भनाइ छ । ‘पहिला केरा आयात सहज रूपमा आउँथ्यो, यस पटक आयात हुन नपाएपछि मूल्य वृद्धि भएको हुन सक्छ,’ उनले भने । भन्सार विभागको तथ्यांकले पनि केरा आयात घटेको देखाउँछ । गत आर्थिक वर्षको ८ महिनामा १ अर्ब १५ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरको २ करोड ८० लाख २८ हजार ३८६ किलो केरा आयात भएको थियो ।
चालु आर्थिक वर्षको ८ महिनामा ७६ करोड ५५ लाख ६ हजार रुपैयाँको १ करोड ९४ लाख ३९ हजार २ सय ४१ किलो मात्रै केरा आयात भएको छ । केरा आयात नहुँदा उपभोक्ताको माग पूरा हुन नसकेको र त्यसको प्रभाव मूल्यवृद्धिमा देखिएको छ । तर क्वारेन्टिनले ‘टीआर–४’ रोग भित्रिने डर देखाएर भारतीय केराको आयात रोकेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौँका अध्यक्ष अमर बानियाँ बताउँछन् ।
भन्सार तिरेर आउँदा रोग भित्रिने तर अवैध बाटोबाट लुकिछिपी आउँदा रोग नभित्रिने तर्कसंगत नभएको बानियाँको दाबी छ । ‘अहिले पनि बजारमा अवैध रूपमा भित्रिएको केरा जताततै छ,’ उनले भने, ‘हामीले ल्याएनौं । तर मौका हेरेर गैरव्यवसायीहरूले केरा ल्याएर बेचिरहेका छन् ।’
पहिले १ सय रुपैयाँ प्रतिदर्जन पाइने केरा अहिले ३ सयदेखि ३ सय ५० रुपैयाँसम्म पुगेको बानियाँको भनाइ छ । नेपाली खानयोग्य भइनसकेका केरा उपभोक्ताले महँगो मूल्यमा किन्नुपरिरहेको उनको दाबी छ । ‘बजारमा देखिने पुस्टिएका मोटा केराहरू सबै अवैध हुन्, किनभने नेपाली केरा अहिले त्यो आकारमा उत्पादन भइरहेको छैन,’ उनले भने । नेपाली उत्पादनले ३–४ महिना (भदौ–मंसिर) मात्र बजार धान्न सक्ने उनको बुझाइ छ । बाँकी समयमा बजारको मागअनुसार आयात खोल्नुपर्ने उनको तर्क छ ।
व्यवसायीले भदौदेखि मंसिरसम्म मात्र आन्तरिक उत्पादनले माग धान्ने बताए पनि केरा उत्पादक भने वैशाख, जेठ र असारमा मात्रै समस्या हुने र अन्य समयमा आन्तरिक उत्पादन नै पर्याप्त रहने दाबी गर्छन् । वैशाख, जेठ र असार नेपाली केराको ‘अपुग’ समय रहेको नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले जनाए ।
‘वैशाखदेखि असारसम्म गर्मीले गर्दा खपत बढी हुन्छ र उत्पादन कम हुने भएकाले मूल्य वृद्धि हुन्छ,’ पन्तले भने, ‘अरू बेला भारतीय केरा आउने भए पनि यसपालि औपचारिक रूपमा आएको छैन । तर किसानले बेच्ने केराको मूल्यमा धेरै बढेको छैन ।’ आफैंले ८० रुपैयाँ दर्जनमा बेचेको केरा चितवनकै टाँडीमा १८० रुपैयाँमा किन्नुपर्ने अवस्था रहेको र ठूलो अन्तरलाई सरकारले बजार अनुगमनमार्फत नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ । कुल मागको ३० प्रतिशत केरा आयात नै गर्नुपर्ने अवस्था रहेको पन्तले नै स्विकारे । तर तथ्यांकले १२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने देखाउँछ । खुला सीमाका कारण अझै पनि अवैध तरिकाबाट केरा भित्रने गरेको छ ।
केरामा आत्मनिर्भर हुनुपर्छ भनेर किसानले १२ महिना पुर्याउने गरी केरा लगाइसकेको र अर्को वर्षदेखि त्यस्तो समस्या नहुने पन्तले बताए । ‘यस पटकलाई जति छ, त्यतिमै टार्यौं भने अर्को वर्षदेखि केरामा आत्मनिर्भर हुन्छौं, आयात नै गर्नुपर्दैन,’ उनले भने, ‘सरकारले आयात रोकेकाले किसानका लागि राम्रो हो । उत्पादन बढाउन हामी लागिपरिसक्यौं ।’ उपभोक्तालाई महँगी भएको बहाना बनाएर व्यवसायीले केरा आयात खुलाउन खोजेको समेत उनको आरोप छ ।
१२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम व्यवस्थापन एकाइका वरिष्ठ योजना अधिकृत इन्द्र शर्मा ढुंगानाले जनाए । गत आर्थिक वर्ष ३ लाख ८२ हजार टन केरा आन्तरिक उत्पादन र ५६ हजार टन गरी मुलुकमा ४ लाख ४० हजार टन केरा खपत भएको छ । यसरी हेर्दा १२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने अवस्था छ । तर केरा उत्पादकहरू नै मुलुकमा ७० प्रतिशत आन्तरिक उत्पादन र ३० प्रतिशत आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।
अहिले उत्पादन र खपत बढी हुँदा समस्या देखिएको ढुंगानाको भनाइ छ । अबको २० देखि २५ दिनमा चितवनका मालभोग केरा बजारमा आउने भएकाले समस्या कम हुने उनले जनाए । ‘यसपालि हावाहुरीले केराका बोट ढाले, जसबाट अहिले उत्पादन हुन्थ्यो,’ उनले भने । बजारमा केराको अभाव र चर्को मूल्यवृद्धि देखिए पनि किसानले मूल्य नबढाएको उनको भनाइ छ । अहिले किसानले ६० देखि ८० रुपैयाँमा बिक्री गरिरहेको उनको दाबी छ । ‘किसानले मूल्य बढाएका छैनन्, बरु बजारमा अभाव देखाएर अरूले नै मूल्यवृद्धि गरेको देखिन्छ,’ उनले भने ।
