नारायणगढ–बुटवल सडकमा अब कति ‘स्पिड’मा गाडी कुदाउने ?

सडक आयोजना निर्देर्शनालयका प्रमुख इन्जिनियर चूडाराज ढकालका अनुसार यो राजमार्गको सिधा स्थानमा ‘स्पिड लिमिट’ प्रतिघण्टा ८० हुनेछ भने बजार क्षेत्र र राजमार्ग वारपार गर्ने (क्रसिङ) स्थानमा प्रतिकिलोमिटर एक मिनेट कायम गरिएको छ ।

वैशाख ५, २०८३

नारायण शर्मा

At what speed will vehicles be allowed to drive on the Narayangadh-Butwal road?

What you should know

नवलपरासी — देशकै लामो, फराकिलो र नयाँ सडक महेन्द्र राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकमा प्रतिघन्टा ८० देखि ४० को गतिमा गाडी चलाउन पाइने भएको छ । निर्माण सम्पन्न भएको स्थानमा यतिको गतिमा गाडी चलाउन पाइने भएको हो ।

यो राजमार्गको निर्माण काम अन्तिम चरणमा पुगेको छ । शुक्रबारसम्म यो राजमार्गको ८१ प्रतिशत काम सकिएको छ । समथर स्थानमा सडक निर्माणको काम लगभग पूरा भएको छ । 

सडक आयोजना निर्देर्शनालयका प्रमुख इन्जिनियर चूडाराज ढकालका अनुसार यो राजमार्गको सिधा स्थानमा ‘स्पिड लिमिट’ प्रतिघण्टा ८० हुनेछ । त्यसै गरी बजार क्षेत्र र राजमार्ग वारपार गर्ने (क्रसिङ) स्थान रहेको ठाउँमा प्रतिकिलोमिटर एक मिनेटको गतिमा गाडी चलाउन पाइनेछ । दुम्कीकास र बर्दघाटको बीचमा पर्ने करिब १४ किलोमिटर खण्ड दाउन्नेको उकालोमा भने ४० को गतिभन्दा बढीमा कुदाउन नपाइने भएको छ । 

प्रतिघण्टा ८०, ६० र ४० को स्पिडमा गाडी चलाउन पाइने संकेत चिह्न ठाउँठाउँमा राख्न सुरु भएको छ । त्यसका लागि राजमार्गका दुवै किनारमा पहेँलो र बीच भागमा सेतो चिह्न (धर्सा) कोर्ने काम धमाधम भइरहेको छ । यसले राजमार्गमा लेन अनुशासन पालना गर्न सघाउने विश्वास लिइएको छ ।

तोकिएभन्दा बढी गतिमा गाडी कुदाउने चालकलाई स्पिड गन (राजमार्गमा गाडीको गति मापनयन्त्र) लिएर बसेका ट्राफिक प्रहरीले ठाउँको ठाउँ जरिवाना तिराउने व्यवस्था गरिएको छ । राजमार्गको गति किटान भइसकेका संकेत चिन्ह राखिएपछि प्रहरीले ‘स्पिड गन’ राखेर चालकको निगरानी बढाउने जिल्ला ट्राफिक प्रहरी कुशल बर्तौलाले जानकारी दिए । राजमार्गका आवश्यक पर्ने स्थानमा ट्राफिक संकेत चिन्ह राखेर लेन अनुशासन पालना गराउन ट्राफिक प्रहरीले ध्यान दिने उनले सुनाए । ६ लेनसम्मको यो राजमार्गमा लेन अनुशासन पालना गर्ने/गराउने काम चुनौतीपूर्ण छ ।

मुख्य बजारमा ६ लेन, अन्यत्र ४ लेन र दाउन्नेमा ३ लेनको सडक निर्माण भैरहेको छ । दाउन्नेको उकालो र पानी रसाउने स्थानमा ढलान सडक निर्माणको काम अन्तिम चरणमा छ । दाउन्ने पहाडमा वैशाख मसान्तसम्म एक तर्फी राजमार्ग सूचारु गर्ने गरी काम भैरहेको आयोजना निर्देशक ढकालले जानकारी दिए । निर्माण सकिएको स्थानको भुइँमा मार्किङ गरेर चिरिच्याट्ट पारिएको छ ।

बुटवल–नारायणगढ सडक अन्तर्गत पूर्वी खण्डमा पर्ने गैंडाकोटदेखि दुम्कीबाससम्मको ६१ किलोमिटर सडक निर्माणको काम लगभग सकिएको छ । दाउन्नेको करिब १४ किलोमिटर सडकमा कालोपत्र र ढलान सडकको काम भइरहेको छ । त्यस्तै बर्दघाटदेखि पश्चिम बुटवलसम्मको सडक निर्माणको अधिकांश काम सकिएको छ । अहिले राजमार्गका दुवै किनारमा डिभाइडर राख्ने काम भइरहेको छ ।

अहिले कायम गरिएको गतिमा गाडी कुदाउँदा नारायणगढदेखि बुटवलसम्मको १ सय १४ किलोमिटर सडक पार गर्न करिब २ घण्टा समय लाग्ने अनुमान छ । बुटवल–नारायणगढ सडक निर्माण गर्ने जिम्मेवारी चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले पाएको हो । यो राजमार्ग निर्माण गर्न १७ अर्बमा ठेक्का लगाइएको हो ।

‘राजमार्गका मुख्य ८ वटा बजार र गैंडाकोटको थुम्सी क्षेत्रमा सीसीटीभी क्यामरा जडान गरिनेछ,’ आयोजना निर्देशक ढकालले भने, ‘वन्यजन्तु वारपार हुने स्थानमा समेत सीसीटीभी राख्ने तयारी छ ।’

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully