रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान हुने

दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको छ ।

वैशाख ५, २०८३

रासस

Resunga Airport to operate four flights a week from today

काठमाडौँ — गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो ।

यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर विमानको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुंगाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुंगा-काठमाडौँको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए । नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौंबाट रेसुंगाका लागि १० हजार ९०२ र रेसुंगाबाट काठमाडौंका लागि १० हजार ७०२ निर्धारण गरिएकोे छ । निगमले यसअघि काठमाडौंबाट रेसुंगाका लागि ७ हजार ५ सय र काठमाडौंसम्म लागि ७ हजार ३०० भाडादर निर्धारण गरेको थियो ।

विगतमा यात्रुको अत्यधिक घुइँचो हुने गरेको रेसुंगा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा ३ हजार ४०२ मूल्य वृद्धि गरिएकोे स्टेसन प्रमुख थापाले जानकारी दिए । उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर विमानले सेवा दिइरहेको छ । 

वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुंगा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ । नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटरबाट काठमाडौँ-रेसुंगा सेवा सञ्चालन हुँदै आएको छ । 

काठमाडौंबाट आइतबार बिहान ८ः०५ बजे र रेसुंगाबाट बिहान ९ः०५ बजे र मंगलबार, बिहीबार र शनिबार काठमाडौंबाट बिहान ६ः१५ बजे र रेसुंगा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए । दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ ।

गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् । सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले ०८० वैशाख २९ देखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो ।

रासस

Link copied successfully