टुर अपरेटरहरूका अनुसार पश्चिम एसियामा जारी तनावका कारण ट्रेकिङ र यात्राका बुकिङहरू सामान्य दिनहरुको तुलनामा करिब ६० प्रतिशतले झरेका छन्, तर सगरमाथा आरोहणको अभियानमा भने यसको कुनै प्रभाव परेको देखिन्न ।
What you should know
काठमाडौँ — पश्चिम एसियामा बढ्दो भू–राजनीतिक तनावका कारण हवाई भाडा आकाशिएको छ अनि यातायात, आवास तथा अन्य खर्च बढेसँगै पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । तर, यो सबका बाबजुद पनि सगरमाथा आरोहणप्रतिको आकर्षण भने उस्तै छ ।
टुर अपरेटरहरूका अनुसार ट्रेकिङ र यात्राका बुकिङहरू सामान्य दिनहरुको तुलनामा करिब ६० प्रतिशतले झरेका छन्, तर सगरमाथा आरोहणको अभियानमा भने यसको कुनै प्रभाव परेको देखिन्न । भलै सरकारले आरोहण शुल्क यही बीचमा बढाएको किन नहोस् ।
सरकारले १ सेप्टेम्बर २०२५ देखि सगरमाथा आरोहण शुल्क प्रतिव्यक्ति ४,००० डलर बढाएर १५,००० डलर पुर्याएको थियो । आरोहणको दर घटने अनुमानका साथ आरोहण शुल्कमा वृद्धि गरिएको थियो । सरकारले गत २०८१ मंसिरमा स्वीकृत गरेको पर्वतारोहणसम्बन्धी (छैटौं संशोधन) नियमावली २०८१ मा शुल्कको नयाँ व्यवस्था गरेको हो ।
तर, टुर अपरेटरहरुका अनुसार अहिले अहिलसम्म आरोहणमा यसको प्रभाव देखिन्न । किनकि आरोहीहरूले महिनौँ पहिले नै बुकिङ गरिसकेका थिए । पहिले ३०,००० देखि ३५,००० डलर पर्ने सस्तो सगरमाथा प्याकेजहरू अहिले करिब ४५,००० डलरबाट सुरु हुन्छन् । सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले भने, 'सगरमाथाप्रति आरोहीहरुको प्रेम अनौठो खालको छ । इरान द्वन्द्वसहितको विश्व परिस्थितिमा परिवर्तन भए पनि कुनै आरोहणका योजनाहरु रद्द भएका छैनन् ।' उनले यस वर्ष सगरमाथामा करिब ८० देखि ९० जना आरोही हुने अपेक्षा रहेको सुनाए । जुन गत वर्षको करिब १०० जनाभन्दा केही कम हो । शेर्पाका अनुसार
इरान र इजरायलका आरोहीहरूको सहभागिता लगभग शून्यमा झरेको छ भने रूसी आरोहीहरूको संख्या बढ्न थालेको छ ।'
८ के एक्सपेडिसन्सका कार्यकारी निर्देशक पेम्बा शेर्पाले पनि अप्रिल महिनाका ट्रेकिङ बुकिङहरू तीव्र रूपमा घटे पनि आरोहणका अनुमतिहरु भने यथावत् छन् । 'हामीले कुनै पनि रद्दको जानकारी पाएका छैनौँ,' उनले भने, 'तर, पश्चिम एसियाको द्वन्द्व र फेक रेस्क्युको घटनाका कारण समग्र पर्यटन उद्योग दबाबमा छ ।'
फेक रेस्क्युको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेर यसमा आरोपितहरुमाथि गठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिसकेको छ । नक्कली उद्धार उडान गराई बिमा रकम हत्याएर देशको प्रतिष्ठामा नै आँच आउने काम गरेको निष्कर्षसहित प्रहरीले १२४३ पृष्ठको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।
कार्यकारी निर्देशक पेम्बा शेर्पाले पछिल्ला दिनहरुमा हवाई भाडा दोब्बर वा तीन गुणासम्म बढेको छ, र धेरै पर्यटकहरू पश्चिम एसियाली ट्रान्जिट केन्द्रहरू प्रयोग गर्न हिच्किचाइरहेको बताउँदै यसले ट्रेकिङ यात्रामा बढी असर पारेको बताए । उनले भने, 'नियमित उडानहरु अवरुद्ध हुने र रि-रुट गरेर भएका उडानको शुल्क महँगो भएकाले धेरै ट्रेकरहरूले रद्द गरेका छन् ।' यद्यपि सगरमाथा आरोहण प्रायः मे महिनाको मध्यतिर गरिन्छ, तर आरोहीहरू हाईअल्टिच्युडमा वातावरणसँग अनुकूलता मिलाउनका लागि मार्चदेखि नै आउन थाल्छन् । नेपालमा वसन्त आरोहण सिजन मे महिनाको अन्त्यसम्म रहन्छ ।
पेम्बाले पछिल्ला दिनहरुमा आरोहण उपकरण, अक्सिजन, खाना, बिमा र हेलिकोप्टर सेवासम्म सबैको शुल्क बढेको बताए । उनले भने, 'सबै कुरा महँगो भएको छ- सडकदेखि हवाई यातायात, होटलदेखि रेस्टुरेन्ट, उपकरणदेखि गाइड, अक्सिजनदेखि बिमासम्म ।'
ट्रेक अपरेटरहरुका अनुसार अहिले पर्वतारोहण उपकरणको मूल्य मात्रै २० देखि ३० प्रतिशतसम्म बढेको छ । पहिले करिब २५ हजार रुपैयाँ पर्ने बुट अहिले करिब ४० हजार रुपैयाँमा बिक्री भइरहेको छ । यही बीचमा अमेरिकी डलरको मूल्यवृद्धि भएको छ । नेपाली कम्पनीहरूलाई केही सहज बनाए पनि विदेशी आरोही र आरोहण दलका सदस्यका निम्ति भने खर्च बढेको छ ।
शुक्रबारसम्म पर्यटन विभागले सगरमाथा आरोहणका लागि ३६० जनालाई अनुमति जारी गरिसकेको छ, जसबाट करिब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष यही अवधिमा ३३१ अनुमति जारी भएको थियो । जसबाट गरी करिब ४८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यो वर्ष चीन, अमेरिका, बेलायत, भारत, रुस, जापान र पोल्यान्डलगायत देशका नागरिकहरू प्रमुख आरोही समूहमा छन् ।
यस वर्ष चीनले तिब्बततर्फको सगरमाथामार्ग विदेशी आरोहीका लागि बन्द गरेको छ, जसले उत्तरी मार्ग पूर्ण रूपमा बन्द भएको छ । यसले अधिकांश अन्तर्राष्ट्रिय आरोहीलाई नेपालतर्फको दक्षिणी मार्गमा केन्द्रित गराएको छ ।
पर्यटन विभागका प्रवक्ता हिमाल गौतमका अनुसार पश्चिम एसियाको तनावका कारण सुरुमा संख्या घट्ने अपेक्षा गरिएको थियो । 'तर अनुमति जारी हुने गति हेर्दा संख्या गत वर्षकै हाराहारीमा रहने देखिन्छ,' उनले भने, 'यो नेपालको उच्च मूल्य खण्डको पर्यटनका लागि सकारात्मक संकेत हो ।'
सन् २०२५ को वसन्त सिजनमा नेपालले ४६९ सगरमाथा अनुमति जारी गरेको थियो, जुन अहिलेसम्मकै उच्चमध्ये एक हो । त्यस सिजनमा ७२२ सफल आरोहण भएको थियो, जसमा २७२ विदेशी आरोही र ४३४ गाइड सहभागी थिए । २०२३ मा पनि ४७९ अनुमति जारी गरिएको थियो ।
नेपाली गाइडहरूलाई पनि समावेश गर्दा यस वर्ष १,००० भन्दा बढी व्यक्तिले सगरमाथा आरोहण प्रयास गर्ने अनुमान गरिएको छ ।
