नगदमा सुनचाँदी कारोबारमा थप कडाइ

चेक, क्यूआर, मोबाइल बैंकिङ वा अरू बैंकिङ माध्यम (उपकरण) मार्फत भुक्तानी गर्नेको विवरण बैंक खातामै हुने भएकाले पछिल्लो निर्देशन नगदमा बहुमूल्य धातु खरिदबिक्री गर्नेलाई लक्षित भएको सरकारी अधिकारीहरूको भनाइ

वैशाख २, २०८३

यज्ञ बञ्जाडे

Further restrictions on cash gold and silver transactions

What you should know

काठमाडौँ — सुनचाँदीलगायत बहुमूल्य धातुको कारोबारमा कडाइ गरिएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावलीमा रहेको उक्त व्यवस्था कार्यान्वयनका लागि भन्दै आन्तरिक राजस्व विभागले बहुमूल्य धातु कारोबार गर्ने संस्थाका लागि निर्देशन जारी गरेको हो । ‘एक दिनमा एक पटक वा पटकपटक गरी एक लाख रुपैयाँ वा सो रकम बराबरको विदेशी मुद्राभन्दा बढीको आकस्मिक कारोबार गर्दा वा विभागले तोकेको अन्य कुनै कार्य गर्दा,’ विभागले जारी गरेको निर्देशनमा भनिएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा आन्तरिक राजस्व विभागले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था) लाई जारी निर्देशनमा उक्त उल्लिखित प्रकृतिको कारोबार गर्ने ग्राहकको विवरण पहिचान र विवरण अभिलेख गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशनमा आकस्मिक कारोबार भन्नाले नियमित नभए आक्कलझुक्कल किनबेच गर्ने र नगदमा सुनचाँदी लगायत बहुमूल्य धातु खरिद गर्ने ग्राहकलाई इंगित गर्न खोजिएको आन्तरिक राजस्व विभागका एक अधिकारीले बताए । 

‘ग्राहक नियमित कारोबारी नभई आक्कलझुक्कलको कारोबारी रहेको तथा यस्तो कारोबार नगदमा गर्नेका लागि यो निर्देशन लक्षित गर्न खोजिएको हो,’ ती अधिकारीले भने, ‘चेक, क्यूआर, मोबाइल बैंकिङ वा अरू बैंकिङ माध्यम (उपकरण) मार्फत भुक्तानी गर्नेको हकमा उनीहरूको सम्पूर्ण पहिचान (विवरण) बैंक खातामा रहेको हुन्छ । यसकारण पछिल्लो निर्देशन नगदमा बहुमूल्य धातु खरिद गर्नेका लागि बढी लक्षित छ ।’ 

सुनचाँदीलगायत बहुमूल्य धातु व्यवसायीले ग्राहकको पहिचान तथा विवरण अद्यावधिक र अभिलेख गर्न विभागले यसअघि नै निर्देशन दिइसकेको छ । जसअनुसार बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीले एक दिनमा १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा ती ग्राहकको विवरण पनि राख्नुपर्छ । ग्राहकको पहिचानका लागि पहिले लिएको जानकारीमा शंका लागेमा त्यस्ता कारोबारीको विवरण संकलन गरी आवश्यकताअनुसार सम्बन्धित निकायमा पठाउनुपर्ने विभागको निर्देशन छ । ‘उच्च जोखिमयुक्त ग्राहक वा उच्च पदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा प्रत्येक कारोबार गर्दा उनीहरूबाट भरपर्दो स्रोतबाट आवश्यक कागजात, तथ्यांक वा जानकारी प्राप्त लिनुपर्ने निर्देशन छ । 

यस्तै विभागले यसअघि नै व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न सुन, चाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई निर्देशन दिएको छ । जसअनुसार सूचक संस्था (सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी) ले आफ्नो कारोबार गर्दा व्यावसायिक संस्थाको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ ।

‘सूचक संस्थाले व्यक्तिगत खाता वा आफ्ना कर्मचारी, परिवारका सदस्य वा अन्य कुनै व्यक्तिको बैंक तथा वित्तीय संस्थामा रहेको खाता प्रयोग गर्न पाइँदैन,’ निर्देशनमा भनिएको छ, ‘सूचक संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको बहुमूल्य धातु वा वस्तु बिक्री गर्दा ग्राहक वा निजको परिवारको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट रकम भुक्तानी लिनुपर्नेछ ।’

यदि विद्युतीय माध्यममार्फत हुने भुक्तानीमा कुनै सीमा रहेको भएमा बहुमूल्य धातु वा वस्तुको खरिदबिक्री गर्ने सूचक संस्थाको सन्दर्भ उल्लेख गरी त्यसमा थप हुने व्यवस्था गर्न विभागले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ । यसरी उल्लिखित निर्देशन पालना नगरेको भेटिएमा कानुनअनुसार कारबाही हुने र एक करोड रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था निर्देशनमा छ ।

यस्तै, सुनचाँदीलगायत बहुमूल्य धातुको कारोबार गर्ने व्यवसायीले तोकिएको विवरण नियमित रूपमा वित्तीय जानकारी इकाइ (एफआईयू) मा बुझाउनु पनि विभागले भनेको छ । जसअनुसार कुनै ग्राहकले एकै पटक वा पटकपटक गरी एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार गरेमा त्यस्तो कारोबारको विवरण कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाइको ‘गोएएमएल’ प्रणाली मार्फत वा इकाइले उपलब्ध गराउनुपर्नेछ । तर, बैंक तथा वित्तीय संस्थाबाट गरेको खरिदमा सीमा कारोबार विवरण पेस गर्नुपर्ने छैन ।

शंकास्पद कारोबारको हकमा व्यवसायीले ‘गोएएमएल’ प्रणालीमार्फत वा इकाइले तोकेबमोजिमको ढाँचामार्फत शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन तयार गरी तत्काल वित्तीय जानकारी इकाइसमक्ष पेस गर्न पनि विभागले भनेको छ । ‘शंकास्पद कारोबारको प्रयास तथा शंकास्पद गतिविधिको सूचना एवं जानकारी वित्तीय जानकारी इकाइको ‘गोएएमएल’ प्रणालीमार्फत वा इकाइले तोकेबमोजिमको ढाँचामा तत्काल वित्तीय जानकारी इकाइसमक्ष पेस गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘अनुसन्धान गर्ने निकायले अनुसन्धानको सिलसिलामा कुनै व्यक्ति वा संस्थाको विवरण वा सूचना माग गरेको अवस्थामा वा शंकास्पद देखिने नयाँ तथ्य वा विषय जानकारी प्राप्त गरेमा सोसमेत वित्तीय जानकारी इकाइलाई अतिरिक्त सूचनाका रूपमा जानकारी दिन सकिनेछ ।’

यस्तै, सूचक संस्थाले शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने सूचक तयार गरी लागू गर्नुपर्नेछ र त्यस्ता सूचक समय–समयमा अद्यावधिक गर्न पनि विभागले भनेको छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully