वेलनेस पर्यटन प्रवर्द्धनमा जोड

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय वेलनेस दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

वैशाख २, २०८३

कान्तिपुर संवाददाता

Emphasis on promoting wellness tourism

What you should know

ललितपुर — नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय वेलनेस दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । होटल एसोसिएसन नेपाल (हान) को आयोजनामा तथा यूके–नेपाल नेपाल इन बिजनेस को सहकार्यमा बुधबार ललितपुरमा सरोकारवालास‌ँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा होटल व्यवसायी, वेलनेस विज्ञ, निजी क्षेत्र, शैक्षिक संस्था तथा विकास साझेदारहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा हानका अध्यक्ष विनायक शाहले वेलनेस पर्यटनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने अवसर भएको बताए । उनले संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय वेलनेस दिवसका रूपमा घोषणा गरेको र सरकारको १०० दिने कार्ययोजनामा वेलनेस पर्यटन प्राथमिकतामा परेको जानकारी दिए ।

यसै अवसरमा नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा वेलनेस पर्यटन प्रवर्द्धन भिडियो सार्वजनिक गरिएको थियो । जसले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

नेपाल इन बिजनेस ग्रोथका टिम लिडर रतिश बस्न्यातले राष्ट्रिय वेलनेस पर्यटन रणनीति अन्तिम चरणमा पुगेको जानकारी दिँदै यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्न सहकार्य भइरहेको बताए । त्यस्तै, पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नवप्रवर्तनसहित नयाँ वेलनेस प्याकेज विकास आवश्यक रहेको उल्लेख गर्दै लगानी, सीप विकास, प्रमाणीकरण र ब्रान्डिङमा ध्यान दिनुपर्ने  बताए ।

हानकी कार्यसमिति सदस्य अश्लेषा कार्कीले नेपालमा वेलनेस पर्यटनको ठूलो सम्भावना रहेको बताउँदै सरकार–निजी क्षेत्र–लगानीकर्ताबीच सहकार्य आवश्यक रहेको धारणा राखिन् ।

प्यानल छलफलमा डा. रमेश पौडेल ले दक्ष जनशक्ति अभाव प्रमुख चुनौती भएको बताए भने नाट्टाकी महासचिव युविका भण्डारीले साना सुधारमार्फत प्रभावकारी नतिजा ल्याउन सकिने बताइन् । डा. रवि सिखावतले समग्र अनुभवमूलक सेवा विकासमा जोड दिए । छलफलको अध्यक्षता रामकृष्ण लामिछानेले गरेका थिए ।

समापनमा मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले वेलनेस पर्यटन प्रवर्द्धन सबैको साझा जिम्मेवारी भएको बताउँदै ‘वेलनेस वर्ष २०२७’ को तयारीमा जुट्न आह्वान गरिन् ।

आयोजकका अनुसार अन्तर्राष्ट्रिय वेलनेस दिवसलाई अब वार्षिक रूपमा निरन्तर मनाइने छ । जसले सहकार्य, नवप्रवर्तन र सचेतना अभिवृद्धि गर्दै समग्र स्वास्थ्य तथा समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

कान्तिपुर

Link copied successfully