विद्युत् खपत रणनीति बनाउँदै सरकार

विद्युत् उपयोग प्रवृत्ति बढाउन र पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनका लागि सरकारले यस्तो रणनीति बनाउन लागेको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बताए ।

वैशाख १, २०८३

यज्ञ बञ्जाडे

Government is formulating an electricity consumption strategy

काठमाडौँ — सरकारले विद्युत् खपत रणनीति बनाउन लागेको छ । विद्युत् पयोग प्रवृत्ति बढाउन र पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनका लागि सरकारले यस्तो रणनीति बनाउन लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताए ।

नेपाल उद्योग परिसंघको टोलीसँगको भेटवार्तामा मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ टोलीले सोमबार मन्त्री श्रेष्ठलाई भेटेर ऊर्जा क्षेत्रको विकासका विषयमा छलफल गरेको थियो ।

अध्यक्ष पाण्डेले विद्युत् खपत बढाउने नीति अवलम्बन गरिनुपर्नेमा जोड दिएका थिए । उनले उद्योगलाई आवश्यक ऊर्जा उत्पादन गरी हिृवलिङ चार्ज लगाई प्रसारण गर्न दिने नीति कार्यान्वयन गर्न, निजी क्षेत्रलाई विद्युत्‌को आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको अनुमति दिने नीति लिन सुझाएका थिए ।

नेपाल सरकारबाट स्वीकृती लिई सर्भे सम्पन्न गरिसकेका र विद्युत खरिद सम्झौता हुन बाँकी सबै परियोजनासाग तत्काल विद्युत् खरिद सम्झौता (पीपीए) गर्न, विद्युतको आन्तरिक खपत बढाउने नीति लिन, जीवाश्म इन्धन आधारित उद्योगलाई विद्युत्‌मा आधारित उपकरणले विस्थापित गर्न सहुलियत दिने व्यवस्था गर्न आग्रह गरेका थिए । उनले वैकल्पिक उर्जा स्रोततर्फ पनि ध्यान दिइनुपर्नेमा जोड दिएका थिए । 

Government is formulating an electricity consumption strategy

सो अवसरमा मन्त्री श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए ।

विद्युत् निर्यातसँगै आन्तरिक खपत कसरी बढाउने भन्नेतर्फ पनि सरकारले गृहकार्य गरिरहेको मन्त्री श्रेष्ठले बताए । ‘सरकारले जलाशय तथा नवीकरणीय ऊर्जा, विद्युत् खपत बढाउने रणनीतिलाई उच्च प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘ऊर्जा क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कसरी योगदान बढाउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रको स्पष्ट सुझाव अपेक्षा गरेका छौं ।’

छलफलमा परिसंघका उपाध्यक्ष गोकुल भण्डारी, पदाधिकारी सदस्य विदुषी राणा, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठ, महानिर्देशक घनश्याम ओझालगायत सहभागी थिए ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully