डलर फेयरको विषय ज्यादै संवेदनशील भएको र यसलाई हटाउनुअघि घरेलु वायुसेवासँग गहिरो छलफल हुनुपर्ने अध्यक्ष बस्नतेको भनाइ छ ।
काठमाडौँ — आन्तरिक उडानमा विदेशी यात्रुका लागि लागू हुँदै आएको ‘डलर फेयर’ (विदेशी मुद्रामा हवाई भाडा) हटाइए ठूलो आर्थिक असर पार्ने बुद्ध एयरले चेतावनी दिएको छ ।
सोमबार जावलाखेलस्थित कम्पनीको मुख्यालयमा आयोजित पत्रकार ब्रिफिङमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले आन्तरिक उडानमा डलर फेयर हटाउने प्रस्तावलाई ‘बारुलाको गोला चलाएजस्तो संवेदनशील विषय’ भन्दै यसले आन्तरिक हवाई क्षेत्रमै ठूलो हलचल ल्याउने बताए ।
आन्तरिक उडानमा कम्तीमा ६० प्रतिशत बजारको अंश ओगटेको बुद्ध एयरले डलर फेयरको विषय ज्यादै संवेदनशील भएको जनाउँदै यसलाई हटाउनुअघि घरेलु वायुसेवासँग गहिरो छलफल हुनुपर्ने जनाएको छ ।
कार्यकारी अध्यक्ष बस्नेतका अनुसार यस्तो निर्णय कार्यान्वयन भए नेपाली यात्रुले तिर्ने हवाई भाडा झन्डै ५० प्रतिशतसम्म बढ्न सक्नेछ । ‘डलर फेयर हटाइयो भने हाम्रो लागत संरचना असन्तुलित हुन्छ, त्यसको प्रत्यक्ष असर नेपाली यात्रुको टिकटमा पर्छ,’ उनले भने ।
बस्नेतका अनुसार हाल नेपालमा वायुसेवा कम्पनीले विदेशीबाट लिने डलर फेयर प्रणालीले नेपाली यात्रुका लागि हुने घाटा सन्तुलन (क्रस सब्सिडी) मा सन्तुलन ल्याउँछ ।
उनको भनाइमा डलर फेयर मुख्यतः पोखरालगायत केही अन्तर्राष्ट्रिय पर्यटक बढी आउने सेक्टरमा लागू हुन्छ, जसले अन्य आन्तरिक र कम यात्रु हुने रुटहरूको घाटा पूर्ति गर्न सहयोग गरिरहेको छ ।
‘यो हटाइयो भने सम्पूर्ण नेटवर्क असन्तुलित हुन्छ,’ उनले भने । बस्नेतले पछिल्लो दशकमा हवाई भाडा संरचना समायोजन नभएको उल्लेख गर्दै २०७२ सालपछि मूल्य समायोजन नहुँदा लागत अत्यधिक बढेको बताए ।
उनका अनुसार २०७२ को डलर सटही दर ७४ रुपैयाँबाट २०८३ मा आइपुग्दा करिब १५१ रुपैयाँ पुगेको छ । इन्जिन मर्मत खर्च ५ लाख डलरबाट २० लाख डलरसम्म बढेको छ । विमानको बिमा खर्च पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । ‘तर भाडा संरचना ११ वर्षदेखि उस्तै छ,’ उनले भने ।
अमेरिका–इरान तनावका कारण अन्तर्राष्ट्रिय तेल मूल्य प्रतिब्यारेल १ सय डलर नाघेको समाचारले पनि हवाई उद्योगमा दबाब बढाएको छ । यसको असरले दैनिक उडान संख्या घटेको बुद्ध एयरले जनाएको छ । कम्पनीका अनुसार एक महिनाअघि हुने ७५ उडान घटेर करिब ५० वटा मात्रै (एकतर्फी) उडान भइरहेका छन् । ‘अपरिहार्य यात्रु मात्रा यात्रा गरिरहेका छन्,’ बस्नेतले भने । कम्पनीले दैनिक करिब ७ हजार यात्रुलाई सेवा दिँदै आएको भए पनि विदेशी यात्रु, विशेषगरी डलर फेयर प्रयोग गर्ने यात्रु ५–६ सयले घटेको बताइएको छ ।
बस्नेतले डलर फेयरबारे पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलसँग छलफलका लागि समय मागिएको तर अझै प्राप्त नभएको बताए । तर मन्त्रीले यस विषयमा सहकार्य गर्ने आश्वासन दिएको उनको भनाइ छ ।
उनका अनुसार यदि डलर फेयर हटाउने निर्णय एकतर्फी तरिकाले अघि बढाइयो भने नेपाली यात्रु नै सबैभन्दा बढी प्रभावित हुन्छन् । श्रीलंकाको उदाहरण दिँदै बस्नेतले भने, 'त्यहाँ पर्यटकहरूबाट उच्च खर्च गराइने नीति अपनाइएको र त्यसले अर्थतन्त्रलाई सहयोग गरेको छ । पर्यटक सस्तोमा भित्र्याउने होइन, उनीहरूबाट अर्थतन्त्रलाई लाभ हुने गरी खर्च गराउनुपर्छ ।’
नेपालमा डलर फेयर लागू गर्न कानुन नै छैन भन्ने कान्तिपुरको प्रश्नबारे उनले ‘५० वर्षदेखि चलिरहेको अभ्यास भएकाले कानुनको आवश्यकता नरहेको’ तर्क गरे ।
डेनमार्क लगायतका काठमान्डौंमा रहेका केही विदेशी दूतावासहरूले यस विषयमा विगतमा दबाब दिएको अनुभव सुनाउँदै उनले त्यसलाई विदेशी दूतहरुको अस्वाभाविक हस्तक्षेपको रूपमा व्याख्या गरे । ‘दूतावासले वायुसेवा कम्पनीलाई बोलाएर थर्काउने काम विगतमा पनि भएको छ,’ उनले भने, 'तर ती राजदूतले प्राप्त गर्ने तलबमा कति प्रतिशत कर नेपालमा बुझाउँछन् ? बहस गर्नुपर्ला ।’ उनले विश्वका धेरै देशमा पर्यटन क्षेत्रमा होटल, सम्पदा लगायतमा फरक भाडा प्रणाली रहेको दाबी पनि गरे ।
बस्नेतका अनुसार पछिल्लो समय इरान–अमेरिका युद्ध र हर्मुज क्षेत्रको तनावपछि पनि यात्रु संख्या घटेको छ । दैनिक करिब १५ सय यात्रु कम भएको र उडान करिब २५ प्रतिशत घटेको उनले बताए ।
बुद्ध एयरले डलर फेयर हटाउने विषयले नेपाली हवाई भाडा, कम्पनीको आर्थिक स्थायित्व र पर्यटन क्षेत्रमै ठूलो असर पार्न सक्ने भनेको छ । ‘ फेयर समायोजन नगरी उद्योग टिकाउन गाह्रो छ,’ बस्नेतको भनाइ छ ।
उनले सरकारसँग ‘तत्काल आन्तरिक वायुसेवा कम्पनीहरुसंग संवाद र यथार्थपरक नीति’ आवश्यक रहेकोमा जोड दिएका छन् ।
