प्रतिमहिना थपिन्छन् सवा लाख फोरजी प्रयोगकर्ता

छिमेकी देश भारत र चीनले फाइभजीलाई देशव्यापी बनाइसक्दा र विश्वका धेरै देश फाइभजी प्रविधिकोव्यावसायिक प्रयोगमा अगाडि बढिरहेका बेला नेपालमा भने यो प्रविधि अझै परीक्षणमै छ ।

वैशाख १, २०८३

सजना बराल

1.25 million 4G users are added every month

What you should know

काठमाडौँ — नेपालमा इन्टरनेट सेवाको मुख्य माध्यमका रूपमा फोरजी प्रयोगकर्ताको संख्या निरन्तर वृद्धि भइरहेको छ । मोबाइलमा फोरजी इन्टरनेट चलाउनेको संख्या प्रतिमहिना औसत १ लाख २२ हजार १ सय ८६ ले थपिएको देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक हेर्दा नेपालमा कुल ब्रोडब्यान्ड ग्राहक संख्या ३ करोड ८ लाख २८ हजार ६ सय १५ पुगेको छ भने करिब ८६.२४ प्रतिशतले फोरजी चलाउँछन् । थ्रीजी पनि जोड्दा मोबाइल ब्रोडब्यान्ड चलाउनेहरू कुल जनसंख्याको ९३.८४ प्र्रतिशत देखिन्छ । 

२०८१ फागुनमा नेपालमा फोरजी प्रयोगकर्ताको संख्या २ करोड ५१ लाख १५ हजार ७६९ थियो । एक वर्षको अन्तराल अर्थात् २०८२ फागुनसम्म आइपुग्दा यो संख्या बढेर २ करोड ६५ लाख ८२ हजार १ पुगेको छ । यस अवधिमा करिब १४ लाख ६६ हजार नयाँ ग्राहक फोरजी सेवामा थपिएका छन् । फोरजीपछि दोस्रो ठूलो इन्टरनेट माध्यमका रूपमा फाइबर इन्टरनेट (एफटीटीएच) छ । तर यसको हिस्सा कुल ब्रोडब्यान्डमा जम्मा ११.१२ प्रतिशत देखिन्छ । २०८२ फागुनसम्ममा फाइबर इन्टरनेट प्रयोग गर्ने ग्राहकको संख्या ३४ लाख २७ हजार ४९७ पुगेको छ । 

1.25 million 4G users are added every month

फाइबर इन्टरनेट सेवामा एक वर्षमा जम्मा ३ लाख ७६ हजार ८०९ नयाँ ग्राहक थपिएका छन् । २०८१ फागुनमा निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकसँग २७ लाख २८ हजार ९८ ग्राहक रहेकोमा २०८२ फागुनमा यो संख्या ३० लाख ७७ हजार ४८४ पुगेको छ । एक वर्षमा निजी क्षेत्रले ३ लाख ४९ हजार ३८६ नयाँ ग्राहक थपे । सरकारी स्वामित्वको नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या भने २०८२ फागुनसम्ममा ३ लाख ५० हजार १३ पुगेको छ । कम्पनीले एक वर्षमा २७ हजार ४२३ नयाँ ग्राहक थपेको हो । 

मोबाइल ब्रोडब्यान्डअन्तर्गत थ्रीजी सेवाको हिस्सा खुम्चिँदै गएको छ । नेपाल टेलिकम र एनसेल दुवैले थ्रीजी बन्द गर्ने घोषणा गरिसकेका छन् । कुल ब्रोडब्यान्ड प्रयोगकर्तामा यसको हिस्सा करिब २.५५ प्रतिशत छ । फागुन मसान्तसम्म थ्रीजी प्रयोगकर्ताको संख्या ७ लाख ८६ हजार २९२ छ । ताररहित फिक्स्ड इन्टरनेटको हिस्सा त निकै कम अर्थात् ०.११ प्रतिशत मात्रै देखिन्छ । यसका ग्राहक संख्या ३२ हजार ५२८ छन् । तामाको तारमा आधारित नेपाल टेलिकमको एडीएसएल/केबल प्रविधि लगभग विस्थापित हुने अवस्थामा छ । देशभर अहिले २९७ एडीएसएल ग्राहक बाँकी छन् । 

छिमेकी देश भारत र चीनले फाइभजीलाई देशव्यापी बनाइसक्दा र विश्वका धेरै देश फाइभजी प्रविधिको व्यावसायिक प्रयोगमा अगाडि बढिरहेका बेला नेपालमा भने यो प्रविधि अझै परीक्षण र अलपत्रकै अवस्थामा छ । सरकारले ‍‍चार वर्षअघि नै नेपाल टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिएर केही समय परीक्षणसमेत गरेको भनिए पनि कम्पनीले त्यसको प्रतिवेदन सार्वजनिक गरेको छैन । 

नयाँ बनेको सरकारले फोरजी विस्तार र यसकै गुणस्तरलाई प्राथमिकतामा राखेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको १० बुँदे सुधार योजनामा ३० दिनभित्र फोरजी सेवाको गुणस्तर सुधार गर्न थप फ्रिक्वेन्सी उपलब्ध गराउने नीतिगत व्यवस्था गर्ने उल्लेख छ । दुवै सेवा प्रदायक, नेपाल टेलिकम र एनसेलले देशका अधिकांश जिल्लामा फोरजी पुर्‍याइसकेको दाबी गरिरहँदा सरकारले फेरि यसकै विस्तार र फ्रिक्वेन्सीको कुरा गरेको हो । 

फ्रिक्वेन्सी वितरणमा नियामक दूरसञ्चार प्राधिकरणले विगत ६ वर्षदेखि नयाँ बोलकबोल गरेको छैन । यस्तो अवस्थामा सरकारको यो प्राथमिकताले सेवा सुधार हुनेमा उपभोक्ता विश्वस्त छैनन् । फोरजीको पहुँच पुगे पनि यसको स्पिड र गुणस्तरमा प्रश्न उठ्ने गरेका छन् । धेरै ठाउँमा फोरजी विस्तार गरिए पनि डेटाको गति सुस्त भएको गुनासो उपभोक्ताको छ । ‘हाम्रो गाउँमा एनसेल नचल्ने भएर मैले गाउँका लागि एनटीसीको प्याकेज किन्ने गरेको छु,’ सोलुखुम्बुस्थित सोलुदूधकुण्ड नगरपालिका, ज्याङदिन–९ का निसान तामाङ भन्छन्, ‘गएको दसैं र मंसिरमा गाउँ जाँदा एनसेलको प्याक नै खेर गयो, गाउँमा एनसेल चल्दै चल्दैन । कतै एनसेल नचल्ने, कतै एनटीसी नचल्ने भएकाले मैले दुइटै सिम लिएको छु, जहाँ जे चल्छ, त्यही चलाउनुपर्‍यो ।’

नेपालमा मोबाइल फोनको पहुँच जनसंख्याभन्दा बढी देखिनुका विविध कारणमध्ये निसानको जस्तै अनुभव पनि एक हो । २०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ भने मोबाइल सिमकार्डका ग्राहकको संख्या ३ करोड ९ लाख ६ हजारभन्दा बढी पुगिसकेको प्राधिकरणकै तथ्यांकले देखाउँछ । मोबाइल सेवाको घनत्व १०३.१९ प्रतिशत पुगेको छ । 

एउटै व्यक्तिले दुई वा त्योभन्दा बढी सिम प्रयोग गर्ने प्रवृत्तिका कारण यो संख्या बढी देखिएको विज्ञहरू औंल्याउँछन् । बजार हिस्साका आधारमा नेपाल टेलिकम ५३.३३ प्रतिशतसहित अग्रस्थानमा छ भने एनसेलको हिस्सा ४६.६६ प्रतिशत छ । मोबाइल इन्टरनेटमा पनि नेपाल टेलिकमको हिस्सा ५५.६६ प्रतिशत पुग्दा एनसेल ४४.३४ प्रतिशत छ । 

नेपालको डिजिटल पूर्वाधारका लागि २०८२ साल फोरजी र फाइबर इन्टरनेटको वर्ष रह्यो । थ्रीजी सेवा क्रमशः प्रयोगविहीन हुँदै जाँदा अबको भविष्य फोरजी र फाइभजीकै हो । सरकार र सेवा प्रदायकहरूले अब पहुँच विस्तारमा मात्र नभई सेवाको गुणस्तरमा ध्यान दिनु जरुरी देखिन्छ । फाइभजीलाई प्राथमिकतामा नराख्ने र फोरजीको गुणस्तर पनि सुधार नगर्ने हो भने नेपाल प्रविधिमा पछाडि पर्ने जोखिम रहन्छ ।  

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully