उद्योग वाणिज्य महासंघको साधारणसभा वैशाख २१ र २२ गते हुने  

शुक्रबार बसेको महासंघ पदाधिकारीको बैठकले उच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको साधारणसभा वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको हो ।

चैत्र २८, २०८२

कान्तिपुर संवाददाता

The general meeting of the Federation of Nepalese Chambers of Commerce and Industry will be held on April 21 and 22.

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा २०८३ वैशाख २१ र २२ गते हुने भएको छ । शुक्रबार बसेको महासंघ पदाधिकारीको बैठकले उच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको साधारणसभा वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको हो ।

यसअघि २०८२ चैत्र २९ र ३० गतेका लागि तय भएको ६०औं वार्षिक साधारणसभा एवं निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो ।

न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार महासंघलाई साधारणसभा नगर्न अन्तरिम आदेश जारी गरेकोपछि रोकिएको हो । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले एफएनसीसीआईको साधारणसभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । रिट निवेदनमा १६ फागुन २०८१ मा जारी भएको परमादेश बमोजिम निर्णय नगरी विपक्षी संस्थाको साधारणसभा हुँदा निवेदकहरूलाई समेत असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारणसभा नगर्नु, नगराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिएको छ,’ अदालतको अन्तरिम आदेशमा भनिएको छ । यससँगै महासंघको साधारणसभा र निर्वाचन प्रक्रिया पनि स्थगित भएको छ ।

चैत २२ गते नेपाल पेट्रोलियम ढुवानी महासंघले दायर गरेको रिटमा २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । बिहीबारको इजलासले पनि सोही अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

पेट्रोलियम ढुवानी महासंघलाई उद्योग वाणिज्य महासंघको सदस्यता दिए पनि भोट हाल्ने अधिकार नपाएपछि अदालत गएको थियो । अदालतले पेट्रोलियम ढुवानी महासंघकै माग अनुसार अन्तरिम आदेश दिएको हो ।

कान्तिपुर

Link copied successfully