निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १६.६५, डिजेलमा प्रतिलिटर १०९.५० र एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा
काठमाडौँ — नेपाल आयल निगमले बढ्दो घाटा नियन्त्रण गर्न पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ।
राति १२ बजेदेखि लागू भएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ र डिजेलमा २५ रुपैयाँले मूल्यवृद्धि गरिएको हो।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल पहिलो वर्गमा २१६.५० रुपैयाँ, दोस्रो वर्गमा २१८.०० र तेस्रो वर्गमा २१९.०० कायम गरिएको छ। डिजेलको मूल्य पहिलो वर्गमा २०४.५०, दोस्रो वर्गमा २०६.०० र तेस्रो वर्गमा २०७.०० निर्धारण गरिएको छ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले वृद्धि गरिएको छ।
निगमले सार्वजनिक गरेको विवरणअनुसार मूल्य बढाउँदा पनि अझै पेट्रोलमा प्रतिलिटर १६.६५, डिजेलमा प्रतिलिटर १०९.५० र एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको छ।
