वीरगन्ज नाकाबाट मोटरसाइकल आयातमा बृद्धि, अन–एसेम्बल्ड र विद्युतीयको बर्चस्व

अन–एसेम्बल्ड मोटरसाइकल र विद्युतीय मोटरसाइकलको आयात बढी भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

चैत्र २५, २०८२

शंकर आचार्य

Increase in motorcycle imports from Birgunj border, dominance of unassembled and electric vehicles

What you should know

पर्सा — मुलुकको प्रमुखस्थल नाका वीरगन्ज भन्सार नाकाबाट मोटरसाइकलको आयात बढेको छ । गत आर्थिक वर्षको फागुन महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा अनएसेम्बल्ड, पूर्णरूपमा तयार (एसेम्बल्ड) र विद्युतीय मोटरसाइकलको आयात बढेको हो । 

अन–एसेम्बल्ड मोटरसाइकल र विद्युतीय मोटरसाइकलको आयात बढी भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्म अन–एसेम्बल्ड मोटरसाइकलको परिमाण र राजस्व दुवैमा उल्लेख्य वृद्धि भएको छ । गत वर्षको तुलनामा यस्ता मोटरसाइकलको आयात मात्र नभई मूल्य र भन्सार राजस्वसमेत दोहोरो अंकले बढेको हो । 

बिभिन्न मोटरसाइकल निर्माता कम्पनीले नेपालमै आफ्नो प्लान्ट स्थापना गरी पार्टपुर्जा आयात गरेर नेपालमा मोटरसाइकल तयार गर्दै आएका छन् । गत आर्थिक वर्षको फागुनसम्म यो नाका हुँदै ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ३२ हजार ९ सय ११ थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएको थियो । जसबाट ४ अर्ब १० करोड रुपैयाँ राजश्व संकलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै ५ अर्ब ७१ करोड रुपैयाँ बराबरको ४० हजार ७ सय ८६ थान मोटरसाइकल आयात भएको छ । जसबाट ५ अर्ब ७१ करोड रुपैयाँ राजश्व संकलन भएको छ । 

त्यसैगरी, एसेम्बल्ड मोटरसाइकलको आयात पनि बढ्दो क्रममा देखिएको छ । गत आर्थिक वर्षमा फागुनसम्म यो नाकाबाट २७ करोड रुपैयाँ बराबरको २ हजार ८ सय १८ थान तयार मोटरसाइकल आयात भएको थियो । जसबाट ३४ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । चालु आर्थिक वर्षको यसै अवधिमा यो नाका हुँदै ५५ करोड रुपैयाँ बराबरको ५ हजार ३ सय ४७ थान तयार मोटरसाइकल आयात भएका छन् । जसबाट ६९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । 

गत आर्थिक वर्षको फागुनसम्म यो नाका हुँदै ४४ करोड रुपैयाँ बराबरको ३ हजार ३ सय ७४ थान विद्युतीय मोटरसाइकल आयात भएको थियो । जसबाट १४ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै ८० करोड रुपैयाँ बराबरको ६ हजार १ सय २८ थान विद्युतीय मोटरसाइकल आयात भएको छ । जसबाट ८० करोड रुपैयाँ राजश्व संकलन झएको छ । 

सस्तो, सहज र मध्यम वर्गको क्रयशक्ति बृद्धि जस्ता कारणले मोटरसाइकलको माग बढिरहेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षच हरि गौतम बताउँछन् । नेपालमै एसेम्बल हुने उद्योग विस्तारसँगै अन–एसेम्बल्ड मोटरसाइकल आयात अझ बढ्ने सम्भावना रहेको उनले बताए । यसरी सवारीसाधनको आयात बढ्दा व्यापार घाटा बढाउने हुँदा यसको आयात प्रतिस्थापनका उपायहरु नै अपनाउनु पर्ने गौतम बताउँछन् । 

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयबहादुर बिष्टले केही वर्षयता विद्युतीय सवारी साधनहरुको आयात बढेको बताए । अन्य विद्युतीय साधन बढीजसो चीनबाट आयात हुने गरे पनि मोटरसाइकल भने भारतबाटै बढी आयात हुने गरेको उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully