राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न परिसंघ र तथ्यांक कार्यालयबीच समझदारी 

समझदारीअनुसार परिसंघ र कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्यांक प्रणाली विकास, अनुसन्धान तथा नीति अध्ययन, तथ्यांक आदान–प्रदान, क्षमता विकास, प्रचारप्रसार तथा जनचेतनामा सहकार्य हुनेछ ।

चैत्र २३, २०८२

कान्तिपुर संवाददाता

Memorandum of Understanding between the Confederation and the Statistics Office to collaborate on national economic census and research

काठमाडौँ — नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय तथ्यांक कार्यालयबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्यांक संकलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले समझदारी भएको छ ।

देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्यांक अत्यन्त आवश्यक मानिन्छ । तथ्यांक प्रणाली विकासको लागि राष्ट्रिय रणनीति, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्यांक संकलन, विश्लेषण तथा उपयोगलाई सुदृढ गरी तथ्यांकीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्र संघसंस्थासँग सहकार्य समन्वय गर्ने रणनीति अनुरुप समझदारी भएको हो । 

राष्ट्रिय तथ्यांक कार्यालयमा सोमबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा. कमलप्रसाद पोख्रेल र परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यालयका निर्देशक डा. वेदप्रसाद ढकाल र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे । 

परिसंघका अध्यक्ष पाण्डेले सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्यांक संकलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउन सहयोग गर्ने बताए । तथ्यांक कार्यालय प्रमुख डा. पोख्रेलले सरकारी तथा निजी क्षेत्रबीच तथ्यांक प्रणाली विकासमा सहकार्य, राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित तथ्यांकको गुणस्तर सुधार तथा प्रयोग विस्तारमा सहयोगी हुने जनाए । 

समझदारी अनुसार परिसंघ र कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्यांक प्रणाली विकास,  अनुसन्धान तथा नीति अध्ययन, तथ्यांक आदान–प्रदान, क्षमता विकास, प्रचारप्रसार तथा जनचेतनामा सहकार्य हुनेछ ।

कान्तिपुर

Link copied successfully