निगमको ट्विनअटर विमानले सोमबार, बुधबार र शुक्रबार काठमाडौं–ताप्लेजुङ उडान भर्ने गरेको छ ।
ताप्लेजुङ — सुकेटार विमानस्थलमा तीन सातापछि सोमबार बिहान हवाई उडान भएको छ । निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार प्रतिकूल मौसमका कारण चैत ४ देखि उडान हुन सकेको थिएन ।
सोमबार काठमाडौंदेखि १३ जना यात्रु बोकेर आएको विमान ताप्लेजुङदेखि ११ जना लिएर फर्किएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिए ।
ताप्लेजुङ-काठमाडौं भाडादर पनि १२ हजार रुपैयाँ पुगेको छ । यसअघि ९ हजार ४ सय थियो । इन्धनको मूल्य बढेपछि भाडादर वृद्धि भएको नेपाल वायुसेवा निगमले जनाएको छ । सुकेटार विमानस्थलमा निगमले मात्रै उडान सञ्चालन गर्दै आएको छ ।
मौसमका कारण कतिपय अवस्थामा आकाशबाटै फर्किनुपरेको र कतिपय अवस्थामा ताप्लेजुङ आइपुगेर पनि ल्यान्ड हुन नसकेर फर्कनु परेको निगमले जनाएको छ । चैत पहिलो सातादेखि निरन्तर वर्षा तथा बाक्लो कुहिरो र हुरीले उडानमा अवरोध गरेकोे थियो ।
निगमको ट्विनअटर जहाजले साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भर्ने गरेको छ । अबको उडान शुक्रबार मात्रै हुने पनि निगमले जनाएको छ ।
