अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार राजश्व संकलनमा कसरी वृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजश्वमा वृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजश्वको दायरा विस्तार गर्न लागेको भन्दै निजीक्षेत्र मैत्री नीति ल्याइनेमा अटो व्यवसायीलाई आश्वस्त पारेका छन् ।
What you should know
काठमाडौं — नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको टोलीले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटेर नेपालको अटोमोबाइल क्षेत्रको अवस्था र समस्याका बारेमा छलफल गरेको छ । भेटमा अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रलाई माथि उठाउन सरकारबाट आवश्यक नयाँ नीति नियमहरू आउने अपेक्षा रहेको बताए ।
यसबाट सरकारले प्राप्त गर्ने राजश्वमा वृद्धि हुने र रोजगारी पनि बढ्ने उनको सुझाव थियो । छलफलमा मन्त्री वाग्लेले सरकार राजश्व संकलनमा कसरी वृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजश्वमा वृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजश्वको दायरा विस्तार गर्न लागेको भन्दै निजी क्षेत्र मैत्री नीति ल्याइनेमा अटो व्यवसायीलाई आश्वस्त पारे ।
सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आगामी बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने बताए । नाडाका अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल उद्योग फष्टाउनका लागि आयातित कच्चा पदार्थहरूमा छुट दिनु पर्ने र सिकेडीलाई सजिलो भए पनि उद्योगहरूलाई कठिनाई भईरहेको प्रस्ट पारे ।
‘टायरट्युब ब्याट्री, लुब्रिकेन्टस र हेलमेट जस्ता अटोमोबाइल वस्तुहरू नेपालमै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरू सरकारसँग छैन,’ अध्यक्ष उप्रेतीले मन्त्री वाग्लेसँग भने, ‘व्यवसायीहरूले विभिन्न समस्याको सामना गर्नु परिरहेको हुँदा सरकारले अटोमोबाइल वस्तुहरूको उत्पादनका लागि आवश्यक वातावरण तयार गरी दिनु पर्छ ।’ भेटमा अध्यक्ष उप्रेतीले नाडाकातर्फबाट ३६ बुँदे लिखित राय सुझाव समेत पेस गरेको नाडाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
छलफलका क्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोबइल कम्पोनेन्ट उद्योगहरूको ठूलो सम्भावना रहेको बताए । नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानी मैत्री नीति नियमहरूको खाँचो रहेको भन्दै नेपालमा विद्युतीय सवारी साधनहरूको सम्बर्द्धन र प्रवर्द्धनका लागि आवश्यक नीति बारेमा चर्चा गरे ।
