कानुनअनुसार पाउनुपर्ने सेवा-सुविधाबाट बञ्चित गराइएको उजुरी बढेको भन्दै मन्त्रालयले न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपचार, सुरक्षा, बिमालगायतका सुविधा दिनुपर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ ।
काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तालिमीसहित सबै खालको श्रमिकलाई अनिवार्य रूपमा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउन रोजगारदातालाई आग्रह गरेको छ ।
कानुनअनुसार पाउनुपर्ने सेवा-सुविधाबाट बञ्चित गराइएको उजुरी बढेको भन्दै मन्त्रालयले न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपचार, सुरक्षा, बिमालगायतका सुविधा दिनुपर्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ । तर, पछिल्लो समय विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक-कर्मचारी तथा अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूबाट तोकिएको पारिश्रमिक र सुविधा नपाएको उजुरी बढेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यस्ता गुनासाहरूलाई गम्भीर रूपमा लिइएको छ । 'न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न सबै रोजगारदातालाई हार्दिक अनुरोध गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ ।
कानुन विपरीत श्रमिकलाई पारिश्रमिक तथा सुविधाबाट वञ्चित गराएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ ।
