सातामा २ दिनको बिदाले १० प्रतिशत इन्धन जोगिने, जोर–बिजोर प्रणालीको पनि सुझाव

दुई दिनको सार्वजनिक विदाले कुल इन्धन उपभोगको करिब १० प्रतिशत अर्थात ७ लाख ७५ हजार लिटर जोगिने अनुमान

चैत्र २३, २०८२

सीमा तामाङ

2 days off a week can save 10 percent of fuel, odd-even system also suggested

What you should know

काठमाडौँ — सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने सरकारले निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी दिए । सरकारले सोमबारदेखि शैक्षिक संस्थाबाहेकमा कार्यालय समय ९ देखि ५ बजे रहने भनेको छ । इन्धन खपत कम गराउन नेपाल आयल निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सरकारी तथा निजी सवारीमा जोर–बिजोर प्रणाली सञ्चालन गर्न पनि सरकारलाई सुझाव दिएको छ । 

पश्चिम एसियामा जारी तनावका कारण पेट्रोलियम पदार्थको आपूर्ति शृंखला प्रभावित बनेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर देखिइसकेको छ । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय २ रुपैयाँ र डिजेल एवं मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ पुगिसकेको छ । 

सातामा दुई दिन बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुर बताउँछन् । ‘बिदा पायौं भनेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने नै हो,’ प्रवक्ता ठाकुरले भने । सरकारले आइतबार थप बिदा दिने निर्णय गरे पनि पेट्रोलियम पदार्थको खपतमा ठूलो योगदान नहुने निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट बताउँछन् । ‘तर, इन्धन खपत कम गर्न बिदा दिने निर्णयलाई सकारात्मक रूपमा हेर्नुपर्छ,’ उनले भने, ‘सरकारका कार, जिपलगायत साना सवारी छन् । यो निर्णयले थोरै परिमाणमा भए पनि पेट्रोलको खपत घटाउँछ ।’ 

आइतबार थप बिदापछि करिब १० प्रतिशत इन्धन खपत कम हुने आकलन रहेको उनले जानकारी दिए । निगमका अनुसार मुलुकमा दैनिक २५ लाख लिटर पेट्रोल, ५० लाख लिटर डिजेल र ४५ हजार टन खाना पकाउने ग्यास खपत हुँदै आएको छ । पेट्रोल र डिजेलको कुल उपभोगको १० प्रतिशत अर्थात् ७ लाख ५० हजार लिटर इन्धन बचत हुने अनुमान छ । 

2 days off a week can save 10 percent of fuel, odd-even system also suggestedनिगमका अनुसार अहिलेको मूल्यअनुसार दिनको ९० करोड ३७ लाख ५० हजार रुपैयाँको डिजेल खपत हुन्छ भने ५० करोड १८ लाख ७५ हजार रुपैयाँको पेट्रोलको खपत हुन्छ । यसरी दिनको १ अर्ब ४० करोड ५६ लाख रुपैयाँको इन्धन खपत भइरहेको छ । ‘ठूलो परिमाणमा इन्धन खपत घटाउन वा पैसा जोगाउन सवारीमा जोर–बिजोर प्रणाली नै लागू गर्नुपर्छ,’ भट्टले भने । अहिले पेट्रोलियम पदार्थमा मूल्यवृद्धिले निगमको घाटा बढाएको छ । निगमलाई पेट्रोलमा भन्दा डिजेलमा धेरै नोक्सानी रहेको उनले बताए । अहिलेको मूल्यमा डिजेलमा प्रतिलिटर १२० रुपैयाँ, पेट्रोलमा ३४ रुपैयाँ र खाना पकाउने ग्यासमा ४१६ रुपैयाँ घाटा छ । 

नेपालमा ढुवानी, सार्वजनिक बस, निर्माण क्षेत्रलगायतमा डिजेल खपत हुन्छ । दुईपांग्रे, कार, जिप, भ्यानलगायतमा पेट्रोल खपत हुन्छ । अधिकांश सरकारी सवारीहरूमा पेट्रोल खपत हुन्छ । २०८२ को शैक्षिक सत्र अन्तिम भएकाले सरकारले नयाँ शैक्षिक सत्र पनि वैशाख १५ पछि मात्रै सुरु गर्ने निर्णय गरेको छ । केही निजी विद्यालयले वैशाख पहिलो सातादेखि नै २०८३ को शैक्षिक सत्र सुरु गर्ने तयारी गरेका थिए । 

सरकारले यसअघि दुई पटक सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यसअघि १४ वैशाख २०७९ मा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । २६ वैशाख २०७९ मा राजपत्रमा सूचना प्रकाशन गर्दै १ जेठदेखि लागू हुने बताइएको थियो । विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाएको थियो । 

पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र दुई दिन सार्वजनिक बिदा दिने जनाएको थियो । तर उक्त निर्णय एक महिना मात्रै कार्यान्वयन भयो । सातामा दुई दिन बिदा अव्यावहारिक भएको भन्दै विरोध भएपछि १ असारदेखि लागू नहुने निर्णय गरिएको थियो ।

त्यसअघि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा २०५६ देखि पनि सातामा दुई दिन सार्वजनिक बिदाको अभ्यास सुरु गरिए पनि दुई वर्ष मात्र लागू भएको थियो । त्यतिबेला कर्मचारीको उत्पादकत्व बढ्ने, बिहानको समयमा ट्राफिक व्यवस्थापनमा सहजता आउने, कार्यालय सञ्चालन खर्च र इन्धन खपतमा कमी आउने भन्दै बिदा दिइएको थियो ।

सरकारी निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गरिए मात्र सफल हुने पूर्वमुख्यसचिव विमल कोइराला बताउँछन् । ‘सरकारले बिदा दियौं भनेर मात्र हुँदैन, प्रतिव्यक्ति इन्धन खपत पनि तोकिदिनुपर्छ । ४० लिटर पेट्रोल खपत हुन्छ भने ३० लिटर मात्रै दिने व्यवस्था गराउनुपर्छ,’ उनले भने । आइतबार सार्वजनिक बिदा हुँदा पनि सेवाग्राहीलाई दिने सेवामा कमी नहुने कोइरालाले दाबी गरे । ‘आइतबार बिदा नहुँदा पनि ४० घण्टा सेवा दिने हो,’ उनले भने, ‘अब कार्यालय समय परिवर्तन गरिसकेकाले ५ दिने सेवा दिँदा पनि ४० घण्टा नै हुन्छ । सेवाग्राहीले पाउने सेवा कति पनि प्रभावित हुँदैन ।’

2 days off a week can save 10 percent of fuel, odd-even system also suggestedआइतबार सार्वजनिक बिदा दिँदा इन्धन र बिजुली खपत घट्ने र त्यसको प्रभाव सरकारी निकायको चालु खर्चमा समेत पर्ने कोइराला बताउँछन् । ‘इन्धन खपत घट्यो भने सरकारी खर्च पनि घट्छ,’ उनले भने । 

निगमले लामो दूरीका सवारीका लागि एक पटकमा २ सय लिटर र छोटो दूरीका लागि अधिकतम ५० लिटर मात्रै इन्धन बिक्री गर्ने, पेट्रोल पम्पहरूले मोटरसाइकललाई एक पटकमा ५ लिटर र कार तथा जिपलगायतका साना सवारीलाई २० लिटर मात्र इन्धन बिक्री गर्नेलगायत विषय पनि सिफारिस गरेको छ । सार्वजनिक सवारी तथा ढुवानीमा प्रयोग हुने गरी सवारीसाधनहरू पूर्ण क्षमतामा चलाउनुपर्ने निगमले जनाएको छ ।

विश्वभर ऊर्जा संकटका बेलामा आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय अहिलेको आवश्यकता भएकाले सकारात्मक रूपमा लिनुपर्ने अर्थशास्त्री गुणाकर भट्ट बताउँछन् । ‘अहिलेको अवस्थामा इन्धनको उपयोग घटाउन यो निर्णय राम्रो हो, अन्य मुलुकले पनि सार्वजनिक बिदा दिइरहेका छन्,’ उनले भने, ‘भविष्यमा यसले आन्तरिक पर्यटनलाई पनि चलायमान बनाउँछ ।’

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully