निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धिबारे छिट्टै सम्बोधन गर्छौं : मन्त्री लम्साल

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसाग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री लम्सालले निर्माण उद्योगलाई अब सूचना प्रविधिको उच्चतम् प्रयोग गरी ‘भ्रष्टाचार शून्य’ बनाइने दृढता व्यक्त गरे ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

We will soon address the price hike in the construction sector: Minister Lamsal

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनिल लम्सालले निर्माण उद्योगमा विद्यमान समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसाग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री लम्सालले निर्माण उद्योगलाई अब सूचना प्रविधिको उच्चतम् प्रयोग गरी ‘भ्रष्टाचार शून्य’ बनाइने दृढता व्यक्त गरे ।

पश्चिम एशियाको युद्धका कारण इन्धन र निर्माण सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि भएको प्रसंगमा मन्त्री लम्सालले दुई हप्ताभित्रमै निर्देशिका जारी गरेर मूल्यवृद्धिको समस्या सम्बोधन गरिने प्रतिबद्धता जनाए । मन्त्री लम्सालले एक वर्ष अवधि भएका सबै ठेक्काको हकमा पनि मूल्यवृद्धिको व्यवस्था गरिने जानकारी दिए । निर्माण उद्योगमा अब आइन्दा भुक्तानीको समस्या नरहने गरी रकमान्तरको निर्णय भएको बताउँदै मन्त्री लम्सालले मोबिलाइजेसन पेश्कीको सदुपयोग भएनभएको अनुगमन गर्न विशेष प्रणाली स्थापना गरिएको सुनाए ।

भुक्तानी र 'भिओ'मा विलम्ब नहुनेगरी आयोजना प्रमुखलाई जिम्मेवार बनाइने जानकारी मन्त्री लम्सालले गराए । निर्माण उद्योगमैत्री हुने गरी सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रिया अघि बढेको बताउँदै मन्त्री लम्सालले उक्त संशोधन प्रक्रियामा महासंघको पनि संलग्नता रहने स्पष्ट पारे । 

नवनिर्वाचित महासंघका अध्यक्ष पाण्डेले रुग्ण ठेक्काहरूको समस्या समाधानका लागि मन्त्री लम्सालको ध्यानाकर्षण गराए । ठेक्काहरूलाई सकेसम्म ‘रुग्ण’ हुनै दिन नहुने भन्दै आवश्यक वर्गिकरण गरी अधिकतम् लचकता अपनाई रुग्ण ठेक्काको समस्या हल गरिने मन्त्री लम्सालले स्पष्ट पारे ।

कान्तिपुर

Link copied successfully