चौतर्फी मूल्यवृद्धिको चपेटामा सर्वसाधारण : पेट्रोलियम, खाद्यान्नदेखि तरकारीसम्मको भाउ बढ्यो

चिनीदेखि लिएर सबैको मूल्य बढेको काठमाडौंको बल्खुमा चिया पसल चलाइरहेका नवराज खड्का सुनाउँछन् ।

चैत्र २२, २०८२

सीमा तामाङ, आरती पौडेल

Common people in the grip of all-round price hikes: Prices of everything from petroleum to food items to vegetables have increased

What you should know

काठमाडौँ — खाद्यान्न, पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासलगायत सबैको मूल्य बढेपछि उपभोक्ता मर्कामा छन् । उनीहरू बढिरहेको खाद्यान्नको मूल्यदेखि आजित छन् । पठाओ चलाएर जीवन निर्वाह गरिरहेका नुवाकोट दुप्चेश्वर–४ का पूर्ण तामाङ विदेश जानेबारे सोच्न थालेका छन् । दालचामल र तेलको मूल्य किन्न गएपिच्छे बढेको र यही बेला कोठा भाडासमेत बढेपछि उनी दिग्दार छन् । 

‘एउटा वस्तुको मात्र भाउ बढेको भए पो काठमाडौं बस्न सजिलो हुन्थ्यो । पेट्रोलदेखि रासनसम्मको मूल्य बढेको छ, कोठा भाडा पनि बढिरहन्छ,’ उनले भने, ‘पेट्रोलको मूल्य ह्वात्तै बढेपछि राइड सेयरिङबाट पनि नाफा हुने गरी कमाइ छैन ।’

चिनीदेखि लिएर सबैको मूल्य बढेको काठमाडौंको बल्खुमा चिया पसल चलाइरहेका नवराज खड्का सुनाउँछन् ।रासनको मूल्य बढिरहेकाले घर कसरी चलाउने भन्ने पीरमा छिन्, टोखा–बिडारी चोककी ज्ञानु बिडारी । ‘सबै कुरा एकैचोटि बढेको छ । छोइखानु केही भएन, कसरी घर चलाउने हो भन्ने पीर परेको छ,’ उनले भनिन्, ‘हिजो तेल किन्न जाँदा एउटा मूल्य छ, आज त्यही तेल किन्न गयो भने अर्को मूल्य हुन्छ । कसरी घर चलाउने हो ? रनभुल्लमा छु ।’ तेल, दाल, ग्यास, चिनी जस्ता सामानको मूल्य घटे सजिलो हुने उनी सुनाउँछिन् । ‘सबैभन्दा धेरै तिनै वस्तु किन्नुपर्छ । तर तिनको मूल्य छोइसक्नु छैन,’ उनले भनिन्, ‘यसरी नै सामानको मूल्य बढिरहने तर तलब नबढ्ने हो भने काम गरेर खाने हामी जस्ताको बेहाल हुन्छ ।’ 

लोक सेवाको तयारी गरिरहेकी पोखरा महानगरपालिका–३२ की सञ्जु अर्याल पनि सीमित पैसामा कसरी गुजारा गर्ने भन्ने सोचिरहेकी छन् । ‘समयमा ग्यास पाइन्न, अहिले सबै सामान बढेको छ । तेल र चामल हरेक दिन बढ्यो भन्छन्,’ उनले भनिन्, ‘पश्चिम एसिया युद्धको मारमा हामी जस्ता विद्यार्थी पनि पर्‍यौं ।’ चिनीदेखि लिएर सबैको मूल्य बढेको काठमाडौंको बल्खुमा चिया पसल चलाइरहेका नवराज खड्का सुनाउँछन् । ‘चिया मात्र नभएर अर्डरअनुसार खाना पनि बनाउने गरेका छौं । तर चामल, तेल सबैको मूल्य बढ्यो,’ उनले भने, ‘मूल्य बढाउँदा ग्राहक आउँदैनन् । जति छ, त्यतिमा बेच्दा आफैंलाई घाटा भइरहेको छ ।’ 

ग्यास नपाएपछि पत्रकारिता केन्द्रीय विभागका केही विद्यार्थीले दिनकै खाना खाने गरेको समेत उनले सुनाए । आफूहरूलाई मूल्य बढेर आएकाले त्यहीअनुसार बिक्री गरेको होलसेल तथा खुद्रा व्यवसायी बताउँछन् । बढेको मूल्यमा बिक्री गर्दा ग्राहकले आफूहरूले मात्र बढाए जस्तो बताउने गरेको समेत उनीहरूको भनाइ छ । 

१४ वर्षदेखि काठमाडौंस्थित रानीवनमा सञ्चालित बज्र स्टोरकी सञ्चालक यशोदा गुरुङ पनि महँगीले आकाश छोएको दाबी गर्छिन् । हरेक दिन खाद्य सामग्री किन्न आउने ग्राहकले खाद्यान्नको मूल्य धेरै बढेको भन्दै गुनासो गर्ने गरेको उनले सुनाइन् । ‘दसैंअगाडिसम्म हामीले नै खाने तेलको मूल्य प्रतिकार्टुन २ हजार १ सयमा रुपैयाँमा बेचेका थियौं । अहिले २ हजार ९ सय पुगेको छ,’ उनले भनिन्, ‘हरेक सामानको मूल्य बढेको छ । मूल्य बढिरहँदा ग्राहकलाई बेच्न पनि गाह्रो भइसक्यो ।’ पश्चिम एसियामा जारी युद्धका कारण मूल्य बढेको भनेर आफूहरूलाई सुनाउने र ग्राहकलाई पनि त्यही भन्ने गरेको उनले जनाइन् । 

काठमाडौंमा मात्र नभई पोखराका खुद्रा तथा होलसेल विक्रेता पनि खाद्यान्नको मूल्य बढेपछि ग्राहकको गुनासो सुन्न बाध्य छन् । युद्धका कारण देखाउँदै आफूहरूलाई मूल्य बढेर आएको पोखरा महानगरपालिका–३२ मा रहेको युनिक सपकी कमला जोशीले बताइन् । सबैभन्दा बढी तेलको मूल्य बढेको उनको भनाइ छ । ‘सबैभन्दा धेरै मूल्य तेलमा बढेको छ, अहिले चोकरमा पनि बढेको छ,’ उनले भनिन्, ‘हामीले सामानको मूल्य बढ्यो भनेर ल्याउने ठाउँमा भन्छौं । ग्राहकले हामीलाई सुनाउँछन् ।’ पेट्रोलियम पदार्थको मूल्य बढेपछि ढुवानी खर्चसमेत बढेकाले सामानको मूल्यवृद्धि भएको उनले जनाइन् । 

पश्चिम एसिया युद्धका कारण मूल्य बढेको भन्दा उल्टै गाली खानुपरेको काठमाडौं टोखा–१ मा मालुङ स्टोर्सका सञ्चालक कृष्णप्रसाद मानन्धर बताउँछन् ।खाद्यान्नसँगै मसलाको पनि मूल्य बढिरहेको छ । टोखा–२ साईबाबा चोक घर भएकी मीना डंगोल मसला पिस्ने र किनबेच गर्दै आएकी छन् । ‘मसलाको मूल्य पनि बढेर आएको छ, मसला पिस्न र किन्न आउँछन्,’ उनले भनिन्, ‘जिरा–धनियाँ सबैखाले मसलाको मूल्य बढेको छ, कति मूल्य बढाएको भन्दै आउँछन् ।’ 

पश्चिम एसिया युद्धका कारण मूल्य बढेको भन्दा उल्टै गाली खानुपरेको काठमाडौं टोखा–१ मा मालुङ स्टोर्सका सञ्चालक कृष्णप्रसाद मानन्धर बताउँछन् । ‘केही ग्राहकले तेल, चिनी, चामलको मूल्य बढ्यो भन्नुहुन्छ । युद्धको कारण सबै सामान बढेको हो भनी सम्झाउँदा नयाँ सरकार आएपछि बढाएको भन्दै उल्टै गाली गर्नुसमेत हुन्छ,’ उनले भने । 

पश्चिम एसियामा जारी द्वन्द्वका कारण खाद्यान्नको मूल्य बढेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले जनाए । ‘हरेक पटक सामान सकिएर मगाउँदा बढेर आउँछ, युद्धकै कारण यस्तो भएको हो,’ उनले भने । खाद्यान्न सामग्रीमा सबैभन्दा धेरै खाने तेलको मूल्य बढेको उनी स्विकार्छन् । ‘चामल, मसलालयायत अन्य खाद्य सामग्रीको मूल्य पनि बिस्तारै बढिरहेको छ, कति ठाउँमा होलसेलमा बढ्दा खुद्रामा बढेको देखिँदैन,’ उनले भने, ‘कैत होलसेल र खुद्रा दुवैमा बढेको छ ।’

पछिल्लो समय चामलको मूल्य बढिरहेको काठमाडौंस्थित भिस्तार ट्रेडका संस्थापक उत्सव गोयलले बताए । ‘चामल, मैदा, आँटालगायत सामग्री बेचिरहेका छौं,’ उनले भने, ‘सबैखाले चामलको मूल्य बढेको छैन, लङ ग्रेन चामलको मूल्य बढेको छ ।’ यस्तो चामल २० किलोको बोरामा २ सयदेखि ३ सय रुपैयाँ बढेको उनको भनाइ छ । 

जिरा मसिनो चामल बोरा (२५ केजी) मा एक सयदेखि १५० रुपैयाँसम्म वृद्धि भएको गोयलले जनाए । भारतमै धानको मूल्य वृद्धि भएकाले नेपालमा पनि त्यसको असर परेको उनले बताए । उपभोक्ता, ख्रुदा र थोक व्यवसायीले भनेजस्तै पछिल्लो समय खाद्य सामग्रीसँगै तरकारी एवं फलफूलको मूल्य वृद्धि भएको छ ।

गत पुसदेखि नै तेलको मूल्य बढिरहेको नेपाल खुद्रा व्यापार संघको तथ्यांक छ । १ पुसमा प्रतिलिटर सनफ्लावर तेलको मूल्य २ सय ४५ रहेकामा १५ पुसमा ५ रुपैयाँ बढेर २५० रुपैयाँ पुगेको थियो । १ माघमा फेरि ५ रुपैयाँ बढेको सनफ्लावर तेलको मूल्य १५ माघमा लिटरमै १५ रुपैयाँले बढेको संघको तथ्यांक छ । फागुनभर मूल्य वृद्धि नभएकाले प्रतिलिटर तेलको मूल्य २ सय ७५ रुपैयाँमै सीमित थियो । तर १ चैतमा सनफ्लावर तेलको मूल्य लिटरमा २० रुपैयाँ बढेर २ सय ९५ रुपैयाँ पुगेको छ । लङ ग्रेन बासमती चामलको मूल्य पनि बढिरहेको छ । 

१ माघसम्म प्रतिकिलो १ सय ७० रुपैयाँ रहेको चामलको मूल्य १५ माघमा ५ रुपैयाँ बढेर १ सय ७५ रुपैयाँ पुगेको थियो । त्यसयता ५ रुपैयाँ बढेर प्रतिकिलो १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । १५ फागुनसम्म प्रतिकिलो २ सय रहेको रहर दालको मूल्य १ चैतमा १५ रुपैयाँ बढेर २ सय १५ रुपैयाँ पुगेको छ । १५ चैतमा फेरि ५ रुपैयाँ बढेर २ सय २० रुपैयाँमा कारोबार भइरहेको संघको तथ्यांक छ । 

खाद्य सामग्रीको मूल्यमा वृद्धि भए जसरी तरकारीहरूको भाउ पनि अकासिएको छ । १५ फागुनको तुलनामा १५ चैतमा तरकारीको पनि मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाउँछ ।माघमा प्रतिकिलो ५ सय २० रुपैयाँ रहेको जिरा फागुनयता ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । संघका अनुसार पुसमा भटमासको तेलको मूल्य प्रतिलिटर २ सय ४५ रुपैयाँ थियो । माघ र फागुनमा मूल्य नै तोकिएको थिएन । तर १५ चैतमा आइपुग्दा २ सय ९० रुपैयाँ पुगेको संघले जनाएको छ । 

खाद्य सामग्रीको मूल्यमा वृद्धि भए जसरी तरकारीहरूको भाउ पनि अकासिएको छ । १५ फागुनको तुलनामा १५ चैतमा तरकारीको पनि मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाउँछ । स्थानीय काउलीको मूल्य ९४.६६ प्रतिशतले बढेको समितिको तथ्यांक छ । १५ फागुनमा प्रतिकिलो औसत ३४.२५ रुपैयाँ रहेकामा १५ चैतमा ६६.६७ रुपैयाँ पुगेको छ । 

ब्रोकाउलीको मूल्य प्रतिकिलो ८५.७१ प्रतिशतले बढेको छ । १५ फागुनमा ३५ रुपैयाँ रहेकामा १५ चैतमा ६५ रुपैयाँ पुगेको छ । तराईको काउलीको मूल्य ५७.१४ प्रतिशतले बढेको समितिको तथ्यांक छ । १५ फागुनमा ३५ रुपैयाँ रहेकामा १५ चैतमा ५५ रुपैयाँ पुगेको छ । विभिन्न सागको मूल्य सर्वाधिक रूपमा वृद्धि भएको छ । रायो सागको मूल्य २५० प्रतिशत, पालुंगोको मूल्य २०० प्रतिशत र चम्सुरको सागको मूल्य १३३.३३ प्रतिशतले बढेको छ । साग मुठामा बिक्री हुन्छ । 

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत पुगेको देखाएको छ । २०८१ फागुनमा महँगी दर ३.३४ प्रतिशत थियो । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । २०८१ फागुनको तुलनामा भने मूल्य घटेको हो । २०८१ फागुनमा ३.९७ प्रतिशत थियो । मासिक रूपमा हेर्दा महँगी दर बढेको केही विन्दुले बढेको देखिए पनि औसतमा घटेको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा औसत मुद्रास्फीति २.१३ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.७२ प्रतिशत थियो ।

फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.४९ प्रतिशत, घिउ तथा तेलको ९.८६ र फलफूलको ९.६३ प्रतिशतले वृद्धि भएको छ । दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.६६, खाद्य तथा खाद्यजन्य पदार्थको २.१८ र मरमसलाको २.०३ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

फागुनमा सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.८२ प्रतिशतले वृद्धि भएको छ । ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.०६ प्रतिशतले बढेको छ । प्रदेशअनुसार हेर्दा फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी मधेशको ४.९५, लुम्बिनीको ४.२१, कोशीको ३.९६, बागमतीको ३.३१, गण्डकीको २.८७, सुदूरपश्चिमको २.२५ र कर्णालीको २.२१ प्रतिशत छ । यतिका मूल्यवृद्धि भइरहँदा वर्तमान सरकारले भने यससम्बन्धी विषयलाई सम्बोधन गर्न कुनै कार्ययोजना ल्याएको छैन ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully