यस वर्ष आठ महिनामा १४ अर्ब ९५ करोड ७७ लाख रुपैयाँको विद्युतीय सवारी आयात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १६ अर्ब ६४ करोड ३२ लाख रुपैयाँको विद्युतीय सवारी आयात भएको थियो ।
What you should know
काठमाडौँ — चालु आर्थिक वर्षको साउन–फागुनसम्म ६ हजार ३ सय ९६ युनिट विद्युतीय सवारी आयात भएका छन् । यो गत आर्थिक वर्षको ८ महिनाको तुलनामा ६ सय ८४ युनिट कम हो । यस वर्ष आठ महिनामा १४ अर्ब ९५ करोड ७७ लाख रुपैयाँको विद्युतीय सवारी आयात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १६ अर्ब ६४ करोड ३२ लाख रुपैयाँको विद्युतीय सवारी आयात भएको थियो ।
सरकारले स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीति लिँदै आएको छ । यही कारण पछिल्ला वर्षमा ईभीको आयात तीव्र गतिमा बढेको छ । यद्यपि सरकारले लिएको नीति अस्थिर रहेको भन्दै व्यवसायीले आलोचना गर्दै आएका छन् ।
विभागका अनुसार सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका विद्युतीय सवारी सबैभन्दा बढी ३ हजार ६ सय ७२ युनिट आयात भएको छ । जबकि गत आर्थिक वर्षको ८ महिनामा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ३ हजार ८ सय ७९ युनिट सवारी आयात गरिएको थियो ।
चालु आर्थिक वर्षको ८ महिनामा ५० किलोवाटसम्मका २ हजार १ सय ९८ युनिट सवारी आयात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा २ हजार ५ सय ३१ युनिट सवारी आयात भएको थियो । गत आर्थिक वर्षभर ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँको १३ हजार ५ सय ६९ युनिट सवारी आयात भएको थियो ।
सरकारले सन् २०२५ सम्म कुल सवारीसाधन बिक्रीमा निजी विद्युतीय सवारीको हिस्सा २५ र सार्वजनिक विद्युतीय सवारीको २० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । सरकारले सन् २०३० सम्म निजी सवारीमध्ये ९० र सार्वजनिक सवारीमध्ये ६० प्रतिशत विद्युतीय बनाउने लक्ष्य लिएको छ ।
