अर्थमन्त्री वाग्लेको चेतावनी : राजस्व चुहावट भए सम्बन्धित कार्यालय प्रमुखले जिम्मेवारी लिनुपर्छ

‘पहिले जस्तो सरकार अब छैन, राजस्व चुहावट गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘कुनै कार्यालयमा त्यसो गरेको पाइए सम्बन्धित कार्यालय प्रमुख नै त्यसको जिम्मेवार हुनुपर्छ ।’

चैत्र २०, २०८२

शंकर आचार्य

Finance Minister Wagle warns: If there is revenue leakage, the head of the concerned office should take responsibility

पर्सा — अर्थमन्त्री स्वर्णिम वाग्लेले कुनै पनि कार्यालयमा राजस्व चुहावट भएको पाइए त्यसको जिम्मेवार सम्बन्धित कार्यालय प्रमुख नै हुने चेतावनी दिएका छन् । अर्थ मन्त्रालयमातहतका कार्यालय प्रमुखहरूलाई शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा निर्देशन दिने क्रममा उनले यस्तो बताएका हुन् ।

‘पहिले जस्तो सरकार अब छैन, राजस्व चुहावट गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘कुनै कार्यालयमा त्यसो गरेको पाइए सम्बन्धित कार्यालय प्रमुख नै त्यसको जिम्मेवार हुनुपर्छ ।’

अर्थमन्त्री वाग्लेले वीरगन्ज भन्सारको यार्डमा आयातकर्ताले जाँचपास गराई नलगी थन्किएर बसेका मालवाहक कन्टेनरबारे मन्त्रालयले छिट्टै टुंगो लगाउने पनि बताए । यसका लागि समिति गठन गरी उपयोगविहीन भएर बसेका कन्टेनरको व्यवस्थापन गरिने उनले जानकारी दिए ।

त्यसैगरी, भन्सार यार्डमा जाँचपास गराई नलगेका सवारीसाधनबारे पनि मन्त्रालयले छिट्टै निकास दिने उनले बताए । यस्ता सवारीसाधन प्रक्रिया पूरा गरी आवश्यक सरकारी कार्यालयलाई दिने वा लिलाम प्रक्रियामा लैजाने तयारी गरिएको उनले बताए ।

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीबाट यात्रु शाखा सञ्चालन हुन नसकेको विषयमा पनि छिट्टै प्रक्रिया अघि बढाइने उनले बताए । तेस्रो मुलुकका पर्यटकलाई यहीँबाट अध्यागमन सेवा दिने व्यवस्था मिलाइने उल्लेख गर्दै उनले भारतीय पर्यटकलाई पुरानै भन्सार नाकाबाट र तेस्रो मुलुकका पर्यटकलाई एकीकृत सुरक्षा जाँच चौकीबाट आवागमन गराउँदा सहज हुने बताए ।

Finance Minister Wagle warns: If there is revenue leakage, the head of the concerned office should take responsibility

भन्सार कार्यालयहरूमा जनशक्तिको अभाव भए पूर्ति गरिने तर अब पुरानै शैलीमा काम नगरी सम्पूर्ण भन्सार कार्य अनलाइन प्रणालीमार्फत सञ्चालन गर्न उनले निर्देशन दिए ।

वीरगन्ज भन्सारमा दुई दशकदेखि थन्किएर बसेको कन्टेनर एक्स–रे मेसिनलाई छिट्टै सञ्चालनमा ल्याइने पनि उनले बताए । भन्सार नाकाबाट जाँचपास भई छुट्ने मालबाहक सवारीसाधनलाई राजमार्गमा विभिन्न बहानामा ढाट राखी अवैध असुली गर्ने गरिएको गुनासो बढेकाले त्यस्ता ढाट अवैध पाइए तत्काल हटाइने उनले बताए ।

अर्थमन्त्री वाग्लेले वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी परिसरको स्थलगत निरीक्षणसमेत गरेका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully