प्रतापपुर गाउँपालिका-८ मा रहेको इन्दिरा सुगर मिलले किसानको बक्यौता नतिरेर उद्योग समेत संचालनमा ल्याएकाे छैन ।
What you should know
परासी — पश्चिम नवलपरासीका प्रतापपुर गाउापालिका–९ का सुदामा गुप्ताले दुई वर्ष अगाडि बिक्री गरेको उखुको मूल्य अझै पाएका छैनन् ।
अघिल्लो वर्ष उधारोमा इन्दिरा सुगर मिललाई उखु बिक्री गरेका गुप्ता भुक्तानीका लागि पटक पटक उद्योग, पालिका र प्रशासन गुहार्न पुगे । बिक्री गरेको वर्ष भुक्तानी नपाए पनि चालु वर्षमा भने भुक्तानी पाउनेमा उनी ढुक्क थिए । तर, यस वर्ष भुक्तानी दिनुपर्ने उद्योग नै सञ्चालनमा नआएपछि मिहनेत र लगानी दुबै खेर जाने होकी भन्ने पिरलोमा छन् ।
इन्दिरा सुगर मिलबाट गुप्ताको परिवारले मात्र १० लाख रुपैयाँ भन्दा बढी रकम पाउनुपर्ने छ । ‘ऋण खोजेर खेती लगायो, उधारोमा उद्योगलाई बिक्री गर्यो, भुक्तानी लिने समयमा यसरी भतारिनु परेको छ,’ गुप्ताले भने,‘ किसानको उखु उधारोमा लिएर चिनी बिक्री गर्ने र भुक्तानी दिने समयमा उद्योग नै बन्द गरेर सञ्चालक फरार भएपनि सयाैं किसानको मेहनत र लगानी डुब्न लागेको छ । सरकारले किसानको समस्या समाधानमा ध्यान दिनु पर्यो ।’
गुप्ताको जस्तै पश्चिम नवलपरासीका सयाौ किसानले दुई वर्षदेखि उखु बिक्री बापतको भुक्तानी पाएका छैनन् । प्रतापपुर गाउँपालिका–८ मा रहेको इन्दिरा सुगर मिलले किसानको बक्यौता नतिरेरै उद्योग समेत संचालनमा ल्याएको छैन ।
उद्योगले समयमा नै भुक्तानी नदिएको भन्दै किसानले प्रतापपुर गाउँपालिकामा गुनासो गरेपछि पालिकाले तत्काल किसानको बक्यौता रकम भुक्तानी गर्न पत्राचार गरे पनि उद्योगले माग सुनुवाइ गरेको छैन् ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवम् उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले जिल्लाका अन्य चिनी उद्योगले किसानले रकम क्रमशः भुक्तानी दिए पनि इन्दिरा सुगर मिलले भने ६ करोड भन्दा बढी रकम भुक्तानी नगरेको बताए । ‘इन्दिरा सुगर मिलले दुई वर्षदेखि किसानको रकम भुक्तानी गरेको छैन्,’ यादवले भने, ‘हामीले तत्काल भुक्तानी सुरु गर्न पटक पटक पत्राचार र ध्यानाकर्षण गराएका छौं । उद्योगले अटेरी गरको छ । सञ्चालक पनि सम्पर्कमा नहुँदा समस्या भयो ।’
अघिल्लो आर्थिक वर्षमा उद्योगले दिनुपर्ने १२ करोड रुपैयाँमध्ये ६ करोड भुक्तानी गरे पनि अझै ६ करोड भुक्तानी गर्न बाँकी रहेको छ । लामो समय भुक्तानी नपाएको र उद्योग नै बन्द भएपछि किसानले जिल्ला प्रशासन कार्यालयमा भुक्तानीको लागि पहल गरिदिन आग्रह गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयले उद्योग सञ्चालक राकेश अग्रवाललाई कारवाहीका लागि उद्योग विभागमा पत्राचार गरिएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले बताए । ‘लामो समयदेखि किसानको उखु खरिद गरे बापत भुक्तानी नगरेको र उद्योग पनि सञ्चालनमा अनाएको भेटियो,’ भण्डारीले भने,‘किसानको रकम भुक्तानीको लागि आवश्यक वातावरण बनाउन उद्योग विभागलाई पत्राचार गरिएको छ ।’ जिल्लामा लुम्बिनी, बागमती खाडसारी र तत्व फर्मा प्रालिले यस वर्ष उखु क्रसिङ गरे पनि इन्दिरा सुगर मिल भने सञ्चालनमा आएन ।
