रोपाइँको मुख्य समय (असार–साउन) मा पर्याप्त वर्षा नहुनु, लामो समयसम्म खडेरी पर्नु र मलखादले धानको गाँज हाल्ने प्रक्रियामा अवरोध पुर्याउँदा त्यसको असर धान उत्पादनमा देखिएको हो।
रौतहट —
अन्नभण्डारका रूपमा चिनिएको मधेशमा यस वर्ष धान उत्पादन घटेको छ । नेपालको कुल धान उत्पादनको २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने मधेशका ८ जिल्लामा यस वर्ष उत्पादनमा गिरावट आएको हो । रोपाइँको मुख्य समय (असार–साउन) मा पर्याप्त वर्षा नहुनु, लामो समयसम्म खडेरी पर्नु र मलखादले धानको गाँज हाल्ने प्रक्रियामा अवरोध पुर्याउँदा त्यसको असर धान उत्पादनमा परेको हो ।
मधेशका ६६ प्रतिशत किसान कृषि पेसामा छन्, जहाँ धान, गहुँ, मकै बढी उत्पादन हुने गरेको छ । तर रोग र किराको प्रकोपले मधेशका कतिपय जिल्लामा धान उत्पादनमा समस्या देखिँदै आएको छ । सिँचाइको असुविधा र भूमिगत सिँचाइका लागि विद्युत् महसुल महँगो हुनुले किसान आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । समयमै मल नपाउँदा उत्पादकत्व घटेको किसानको गुनासो छ । बीउको गुणस्तरमा समस्या हुँदा कतिपय ठाउँमा धानको बोट मात्र अग्लो हुने तर बाला नलाग्ने समस्या देखिएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।
नेपालको कुल धान उत्पादनको २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने मधेशका ८ जिल्लामा यस वर्ष उत्पादनमा गिरावट आएको छ।मधेशमा धान उत्पादन घट्नुको सिधा असर राष्ट्रिय अर्थतन्त्रमा पर्ने निश्चित रहेको मधेश मामिलाका जानकार चन्द्रकिशोर बताउँछन् । ‘मधेशको अन्नभण्डार कमजोर हुँदा मधेश मात्र होइन, देशका अन्य भागमा पनि प्रभाव पार्छ, कोरोनाकालका बेला पनि मधेशमा उत्पादन अनुकूल थियो । तर यस पटक सिँचाइ र मौसम परिवर्तनका कारण धान उत्पादन कम भयो,’ उनले भने, ‘सिँचाइ प्रणाली कमजोर र बर्सेनि मौसम परिवर्तन हुनुले किसानको चुलो चिसो हुने देखियो ।’
आन्तरिक उत्पादन घटेपछि भारतबाट हुने चामलको आयात बढ्ने देखिएको छ । हिउँदे बाली (गहुँ, मकै) का लागि समयमै मल र उन्नत बीउको व्यवस्था नहुँदा उत्पादनमा असर परेको किसान राजकिशोर साहको भनाइ छ । धान रोप्ने समयमा पर्याप्त वर्षा नहुनु र पछिल्लो समय आएको बेमौसमी बाढी, पहिरोले पाकेको धानमा क्षति पुर्याउनु जस्ता कारणले उत्पादन घट्दो छ । खेतीको मुख्य सिजनमा किसानले रासायनिक मल (युरिया, डीएपी) समयमै नपाउनु पनि समस्या भएको कृषि ज्ञान केन्द्र रौतहटका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जनाए ।
गत १७ असोजदेखि १९ सम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा धान बालीमा असर गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष रौतहटमा २१ हजार ५ सय ७८ टन धानको उत्पादन घटेको छ । गत वर्ष जिल्लामा १ लाख १६ हजार ७ सय ८ टन धान उत्पादन भएको र यस वर्ष ९५ हजार १ सय ३० टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कुर्मीले बताए । यस वर्ष ३१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
अघिल्लो वर्ष ३५ हजार ८ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । गत असोजमा आएको बाढीले १७ हजार ६ सय ३८ हेक्टर खेतमा लगाएको धान बालीमा क्षति पुर्याएको थियो । कृषि ज्ञान केन्द्र पर्साका अनुसार अघिल्लो वर्षको तुलनामा पर्सामा यस वर्ष २४ हजार ९ सय ९७ टनले धान उत्पादन घटेको छ । यस वर्ष जिल्लाभर ४७ हजार १ सय ३० हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । प्रतिहेक्टर ३ दशमलव ६७ टनका दरले १ लाख ७२ हजार ९ सय ६७ टन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।
यस वर्ष उत्पादन १२ दशमलव १६ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले बताए । मधेशका ८ जिल्लाका कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार सप्तरीमा अघिल्लो वर्ष २ लाख ७४ हजार १ सय ७६ टन धान उत्पादन भएको थियो । यस वर्ष १ लाख ९७ हजार ४ सय ९४ टन उत्पादन भएको छ । सिरहामा अघिल्लो वर्ष २ लाख ४ हजार ३ सय ६३ टन धान उत्पादन भएको थियो । यस वर्ष १ लाख ७९ हजार ४ सय ९६ टन धान उत्पादन भएको छ ।
धनुषामा गत वर्ष १ लाख ६८ हजार ३ सय ५० टन उत्पादन भएको थियो । यस वर्ष भने १ लाख ३८ हजार १ सय ७७ टन धान उत्पादन भएको छ । सर्लाहीमा गत वर्ष १ लाख ६१ हजार ६ सय ६६ टन धान उत्पादन भएको थियो । यस वर्ष भने १ लाख ३७ हजार ६ सय ३ भएको कार्यालयले जनाएको छ । महोत्तरीमा गत वर्ष १ लाख ५९ हजार ८ सय टन धान उत्पादन भएको थियो । यस वर्ष ८० हजार ९ टन मात्र उत्पादन भएको छ ।
गत वर्ष बारामा २ लाख ७३ हजार २ सय ८४ टन धान उत्पादन भएको थियो । यस वर्ष भने २ लाख ७० हजार ५ सय १० टन उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रहरूका अनुसार धान गोड्ने र गाँज हाल्ने बेला डीएपी र युरिया मलको हाहाकार हुँदा बालीले आवश्यक पोषक तत्त्व पाउन नसकेको र त्यसले उत्पादनमा फरक पारेको हो ।
रोपाइँको मुख्य समय (असार–साउन) मा पर्याप्त वर्षा नहुनु, लामो समयसम्म खडेरी पर्नु र मलखादले धानको गााज हाल्ने प्रक्रियामा अवरोध पुर्याउँदा त्यसको असर धान उत्पादनमा देखिएको हो।सरकारले मधेशका किसानका लागि सिँचाइ क्षेत्रमा करोडौं रकम लगानी गरे पनि अनुगमन शून्य हुँदा प्रतिफल किसान र राज्यले लिन नसकेको मधेशका अर्थविद् भोगेन्द्र झाले जनाए । ‘हामी अर्थतन्त्रको कुरा गर्छौं । मधेश अन्नको भण्डार हो भन्छौं । तर मधेशमा यति धेरै भूमिगत सिँचाइका लागि राज्यले लगानी गरेको छ,’ झाले भने, ‘अनुगमन खोइ ? पानी आयो आएन, जडान गरिएका बोरिङ दुरुस्त छन्/छैनन् ? केही हेरिएको छैन । खडेरीका कारण पनि मधेशको अन्नभण्डारको अवस्था खस्कँदो छ ।’
प्रत्येक वर्ष देशभर मध्य असारबाट रोपाइँ सुरु गरेर १५ साउनसम्म सक्नुपर्ने किसानको वार्षिक क्यालेन्डर जस्तै हो । गएको बर्खामा भने मधेशका किसानले रोपाइँका बेला खडेरीको समस्या बेहोरे । बर्खामै पानी नपर्दा सुक्खा खेतमा समयमै धान रोप्न सम्भव भएन । अन्नको भण्डार मानिने मधेशमा खेत वरपर साना तथा ठूला डिप बोरिङ हुनेहरूले मात्र रोपाइँ गरे । बोरिङको पहुँच नहुनेहरू आकाशे पानीको भर पर्न बाध्य भए । मधेशमा सरकारी खर्चमा जडित साना–ठूला डिप बोरिङको संख्या ९ हजार छन् । तीमध्ये करिब १५ सय सञ्चालनमा छैनन् । बजेट अभावमा सबै बिग्रिएर थन्किएका छन् ।
जलवायु परिवर्तनले प्रत्येक वर्ष वर्षा हुने समय पछि धकेलिएको र भूमिगत जलस्रोतमा मात्र भर परेर रोपाइँ हुन ढिलाइ भइरहेको मधेशका सांसद एवं पूर्वमन्त्री युवराज भट्टराईले बताए । ‘नेपालमा मनसुनमा आधारित खेती प्रणाली हुन्छ । यसपालि पर्याप्त मनसुन हुन सकेन,’ उनले भने, ‘सिँचाइका लागि जडित स्यालो र डिप बोरिङले धानेनन् । भएका पनि बिग्रेका छन् । समयमा सिँचाइ सुविधा नहुँदा धान रोपाइँ ढिला हुन गयो र उत्पादन घट्यो ।’
मधेश देशकै अन्नभण्डार भए पनि पछिल्लो दुई–तीन वर्षदेखि खडेरीको मारमा परिरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक तथा कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जका प्रमुख सचिनकुमार मिश्रले जनाए । ‘जलवायु परिवर्तनको प्रभाव बढ्दो छ, यसअघि वर्षमा एकै समयमा एकनासले पानी परेर धान लगाउन सकिन्थ्यो, पछिल्लो समय वर्षे धान लगाउन हम्मेहम्मे परेको छ,’ उनले भने, ‘सबैभन्दा बढी कृषि क्षेत्रदेखि जनजीवन प्रभावित भएको छ । गएको वर्ष बढी देखिएको छ । समयमा पानी नै पर्दैन । अब मौसम अनुकूल देखिँदैन ।’ बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार मधेशमा बर्खे धान हुने कुल क्षेत्रफल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर छ ।
