लेकसाइडको खहरेचोकदेखि सहिद चोकसम्मको करिब साढे तीन किलोमिटर सडक क्षेत्र उत्सवमय बन्नेछ । यसपल्ट महोत्सवको मुख्य आकर्षण प्रदेशस्तरीय मौलिक तथा रैथाने खानाको प्रदर्शनी रहनेछ ।
What you should know
पोखरा — माछापुच्छ्रेको छायाँ मुसुक्क हाँस्ने फेवातालको किनार । चैतको न्यानो हावा र नयाँ वर्षको उमंग । पोखरा यतिबेला आफ्नै पुरानो लय र उत्सवको तयारीमा जुटेको छ । होटल संघ पोखराले २१ औं फेवा नव वर्ष महोत्सवको तयारी तीव्र बनाएको हो ।
२९ चैतदेखि १ वैशाखसम्म लेकसाइडमा हुने महोत्सव पोखराको पर्यटनले कोरेको दुई दशक लामो गौरवपूर्ण यात्राको निरन्तरता पनि हो । वि.सं. २०६० को दशकको सुरुवातमा जब देश द्वन्द्व र राजनीतिक अस्थिरताको चपेटामा थियो, पोखराको पर्यटन सुस्ताएको थियो । त्यही बेला पर्यटन, संस्कृति र खानालाई एउटै थलोमा पस्केर पर्यटक तान्ने उद्देश्यले सुरू भएको यो सडक महोत्सवले २१ औं संस्करणसम्म आइपुग्दा एउटा बलियो इतिहास रचिसकेको छ ।
बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक लक्ष्मण सुवेदीले उत्साहजनक तथ्यांक सुनाए । ‘यसपालि महोत्सवमा हामीले तीन लाख आन्तरिक तथा बाह्य पर्यटक पोखरा भित्रिने आकलन गरेका छौं,’ उनले भने, ‘होटलहरूको अकुपेन्सी ९० प्रतिशतभन्दा माथि पुग्ने हाम्रो विश्वास छ ।’
पोखराको पर्यटनलाई पुनर्जीवन दिन संघले ‘जाऔं है पोखरा’ अभियान लिएर पूर्वी नेपालका सहर र लुम्बिनी प्रदेशसम्म पुगेर निम्तो बाँडिसकेको छ । महोत्सवलाई थप आकर्षक बनाउन संघले पर्यटकका लागि विशेष प्याकेजहरूको घोषणा गरेको छ । संघमा आबद्ध होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छूट दिने भएका छन् । ई–सेवामार्फत होटल बुकिङ गर्दा १० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको छ ।
लेकसाइडको खहरेचोकदेखि सहिद चोकसम्मको करिब साढे तीन किलोमिटर सडक क्षेत्र उत्सवमय बन्नेछ । यसपल्ट महोत्सवको मुख्य आकर्षण प्रदेशस्तरीय मौलिक तथा रैथाने खानाको प्रदर्शनी रहनेछ । ‘हामी आधुनिकतासँगै आफ्नो मौलिकता र इतिहास जोगाउन चाहन्छौं,’ अध्यक्ष सुवेदी थप्छन्, ‘त्यसैले पञ्चैबाजा प्रतियोगिता र मौलिक झाँकीहरूलाई प्राथमिकता दिएका छौं ।’
महोत्सवको औपचारिक सुरुआत हुनुअघि खहरेबाट निकालिने विविध जातजातिको झाँकीले अम्बोटमा पुगेर उद्घाटन समारोहको रूप लिनेछ । लोकदोहोरी, पप कन्सर्ट र पर्यटक दौड प्रतियोगिताले लेकसाइडको सडकलाई थप गुञ्जायमान बनाउने आयोजकको विश्वास छ ।
सुरुआती वर्षहरूमा लेकसाइडको साँघुरो गल्लीबाट सुरु भएको यो महोत्सवले पोखरालाई ‘इभेन्ट टुरिजम’ को हब बनाउन जग बसालेको थियो । विदेशी संस्कृतिको प्रभाव बढ्दै गएको बेला नेपाली मौलिक नयाँ वर्षलाई सडकमा उत्सवका रूपमा मनाउने परम्परा बसाल्नु नै यसको ऐतिहासिक उपलब्धि मानिन्छ ।
पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले महोत्सवले पोखरालाई सुरक्षित र जीवन्त गन्तव्यका रूपमा विश्वमाझ चिनाउने अर्को अवसर प्रदान गर्ने बताए । होटल संघ पोखराका पूर्व अध्यक्ष विकल तुलाचनका अनुसार यो महोत्सवले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउने छ ।
‘चैतको अन्तिम साता पोखराको सडकमा पाइला टेक्दा पर्यटकले केवल संगीत र खानपान मात्र पाउने छैनन्, पोखरेली आतिथ्यताको न्यानोपन पनि महसुस गर्नेछन्,’ उनले भने, ‘जसले वर्षौंदेखि यो सहरलाई पर्यटनको राजधानी बनाइराखेको छ ।’
