नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट सागर ढकालले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दै महासंघभित्र रहेर देशको अर्थतन्त्र सुधार र व्यवसायीमैत्री नीति निर्माणमा पैरवी गर्नका लागि आफूले वस्तुगततर्फको सदस्य पदमा उम्मेदवारी दिएको बताए । ‘अहिले विभिन्न वस्तुगत सदस्यहरूको थुप्रै कानुनी तथा व्यवहारिक समस्या रहेका छन्,’ उम्मेदवारी घोषणासँगै उनले भने, ‘महासंघभित्र रहेर वस्तुगत संघका समस्या समाधानका लागि सरकारसँग बहस, पैरवी तथा नीतिगत लबिङ गर्न मैले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।’
नेपालको पुँजी बजारमा ७२ लाखभन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रूपमा पुँजी बजारलाई सशक्त रूपमा अघि बढाउन आफूले पहल गर्ने समेत उनले जानकारी दिए । ‘नेपालको पुँजीबजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ, अब यसलाई नेपालको पुँजी बजार मात्र सीमित नराखी समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्छ,’ उनले भने, ‘समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि मैले महासंघको आसन्न निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ ।’
करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकाल पुँजी बजारका साथै जलविद्युत, होटल, पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन् ।
