आन्तरिक टर्मिनलको यात्रु आगमन कक्षमा स्वचालित ब्यागेज ह्यान्डलिङ सिस्टम जडान भएपछि यात्रुलाई राहत मिलेको छ ।
What you should know
भैरहवा —
रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत आन्तरिक टर्मिनलमा बुधबारबाट ब्यागेज ह्यान्डलिङ सिस्टम (बीएचएस) सञ्चालनमा ल्याइएको छ ।
आन्तरिक टर्मिनलको यात्रु आगमन कक्षमा स्वचालित ब्यागेज ह्यान्डलिङ सिस्टम जडान भएपछि यात्रुलाई राहत मिलेको छ । यसअघि जहाजबाट ट्रयाक्टरबाट ओसारिएका झोला र लगेज कर्मचारीले आगमन कक्षमा जम्मा गरेपछि यात्रुले बुझ्ने गरेका थिए ।
उक्त सेवाको बुधबार बिहान नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले शुभारम्भ गरेका थिए । कर्णले स्विच अन गरेर सिष्टम चालु गरेका थिए । लगत्तै यती र बुद्ध एयरबाट आएका यात्रुका झोला र सुटकेस ब्यागेज ह्यान्डलिङ सिस्टममा राखिएको थियो । पहिलो पटक यस्तो सिस्टमबाट सामान प्राप्त गरेपछि यात्रु खुसी भएका थिए ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहले चालु आर्थिक वर्षको नियमित योजनाअन्तर्गत आगमन कक्षलाई सुविधा सम्पन्न बनाउन ब्यागेज ह्यान्डलिङ सिस्टम जडान गरिएको बताए । यसले आन्तरिक उडानमार्फत भैरहवा अवतरण गर्ने यात्रुले सहज ढंगले आफ्ना समान प्राप्त गर्ने उनले बताए ।
उनका अनुसार गत वर्ष यात्रुको सुविधाका लागि आन्तरिक टर्मिनलअन्तर्गत आगमन कक्षलाई आधुनिक, फराकिलो र सुविधासम्पन्न बनाइएको थियो । यसपालि ब्यागेज ह्यान्डलिङ सिस्टम जडान गरिएको हो । ‘अब छिट्टै आगमन कक्षलाई वातानुकुलित तुल्याइनेछ,’ उनले भने, ‘केही समयभित्रै एसी जडानको काम सुरु हुनेछ ।’
विमानस्थलका अनुसार १ लाख २० हजार ७ सय ९३ अमेरिकी डलर खर्च गरेर यो प्रविधि जडान गरिएको हो । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर यसको ठेक्का लगाइएको थियो । भैरहवाबाहेक मुलुकका धनगढी, नेपालगन्ज, जनकपुर र विराटनगर विमानस्थलमा यस्तो प्रविधि जडान गरिएको छ । यसले आगमन कक्ष व्यवस्थित हुनुका साथै यात्रुलाई सुविधा पुग्ने गरेको निमित्त महाप्रबन्धक साहले जानकारी दिए ।
