भारतले नेपाललाई वैशाखदेखि १६ घण्टा मात्रै बिजुली दिने

प्राधिकरणले औसतमा ४ सय मेगावाट बिजुली आयात गर्दै आएको छ ।

चैत्र १७, २०८२

सीमा तामाङ

India will provide electricity to Nepal for only 16 hours from April

काठमाडौँ — भारतले अप्रिलदेखि अगस्टसम्मका लागि बिजुली आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिएको छ । भारतले १८ चैतदेखि २ वैशाखसम्म २४ घण्टा, ३ वैशाखदेखि १६ असारसम्म १६ घण्टा र १७ असारदेखि १५ भदौसम्म २४ घण्टा बिजुली दिने बिजुली दिने गरी नवीकरण गरिदिएको हो । यद्यपि जेठ अन्तिम सातादेखि नेपालले भारत र बंगलादेशमा निर्यात थाल्छ । 

२०८१ चैतमा भारतले पटकपटक गरी १२ र १६ घण्टा बिजुली आयात गर्न अनुमति नवीकरण गरिदिँदै आएकामा मंगलबारसम्मका लागि २४ घण्टा नै बिजुली दिँदै आएको थियो । बुधबारदेखि भने नेपाल विद्युत् प्राधिकरणले दिनको १६ घण्टा मात्र बिजुली आयात गर्न पाउनेछ । 

भारतले ६ सय ५४ मेगावाट बिजुली भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई आगामी अगस्टसम्मका लागि अनुमति नवीकरण गरेको हो । बुधबारदेखि आईएक्समार्फत बिजुली खरिद गर्न भारतले फेरि अनुमति नवीकरण गरिदिनुपर्ने थियो । भारतले दिनको १६ घण्टा बिजुली आयात गर्न मिल्ने गरी अनुमति नवीकरण गरिदिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनाए । 

हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न नेपालले बर्सेनि भारतबाट विद्युत् आयात गर्दै आएको छ । प्राधिकरणले चौबीसै घण्टा (आरटीसी) ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६ सय ५४ मेगावाट बिजुली प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको छ । 

भारतले अप्रिल र मेमा १६ घण्टा र त्यसपछिका महिनामा भने चौबीस घण्टा (आरटीसी) मोडमा नै बिजुली आयात गर्न मिल्ने गरी अनुमति नवीकरण गरिदिएको हो । अप्रिलमा बिहान २ देखि साँझ ६ बजेसम्म र मेमा बिहान ४ देखि बेलुका ८ बजेसम्म बिजुली आयात गर्न पाइने प्राधिकरणको भनाइ छ । 

भारतले अनुमति नवीकरण गरिदिसकेकाले बिजुली आयातमा समस्या नहुने प्राधिकरणले जनाएको छ । मंसिर २०८१ मा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले २ चैतसम्म दिनको २० घण्टा र चैत ३ देखि २०८२ असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो । ३ चैत २०८१ यता प्राधिकरणले दिनको १२ घण्टा बिजुली आयात गर्दै आएकामा १५ चैतमा दैनिक १६ घण्टा बिजुली आयात गर्ने अनुमति दिएको थियो । त्यसपछि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ देखि बिहान ४ बजेसम्म बिजुली आयात गरेको थियो । 

भारतले अनुमति नवीकरण गरिदिए पनि गत वैशाखमा मागअनुसार भारतबाट बिजुली नआउँदा उद्योगमा आंशिक बिजुली कटौती गरेको थियो । त्यति बेला भारतमा आईपीएल जारी रहँदा माग बढेकाले आईएक्सको दररेट पीईसीको दररेटभन्दा बढी भएकाले बिहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दासमेत विद्युत् प्राप्त हुन नसकेको प्राधिकरणले नै भनेको थियो ।

इन्डियन प्रिमियर लिग (आईपीएल), बढ्दो तापक्रमलगायत विभिन्न कारणले भारतमै माग उच्च हुँदा नेपालले चाहे जति बिजुली किन्न नपाउँदा औद्योगिक क्षेत्रमा बिजुली कटौती गरिएको भन्दै प्राधिकरणले विज्ञप्ति जारी गरेको थियो । भारतमा यस पटक पनि शनिबारदेखि आईपीएल सुरु भएको छ । त्यसकारण माग अनुसार बिजुली पाइने/नपाइनेमा यसपटक पनि आशंका रहेको जानकारहरू बताउँछन् । 

प्राधिकरणले औसतमा ४ सय मेगावाट बिजुली आयात गर्दै आएको छ । गर्मी सुरु भएयता नेपालमा पनि विद्युतीय उपकरणको प्रयोग बढ्दा मुलुकमा पनि बिजुलीको माग बढिरहेको प्राधिकरणले जनाएको छ । सुक्खायाममा ऊर्जा सुरक्षा नै चुनौती रहेको भन्दै सरकारले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना अघि बढाउनुको विकल्प नरहेको जानकार बताउँछन् । प्राधिकरणले आईएक्सको डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत बिजुली खरिद गर्दै आएको छ  । यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ  । प्राधिकरणले द्विपक्षीय सम्झौतामार्फत भारतको पावर ट्रेडिङ कम्पनी (पीटीसी इन्डिया) सँग १ सय ८० मेगावाट बिजुली प्रतियुनिट ६.९५ भारुमा खरिद गर्ने सम्झौता गरेको थियो । यो जनवरी २०२६ देखि मे ३१ सम्मका लागि थियो । यो सम्झौता अन्तर्गत ढल्केबर–मुजफ्फरपुरबाट १०० मेगावाट र बिहारको १३२ केभी प्रसारणलाइनबाट ८० मेगावाट बिजुली आयात गर्न पाइनेछ । यो सम्झौता विवादित भए पनि प्राधिकरणले बिजुली आयात गर्दै आएको छ ।

१३२ केभी कटैया (भारत)–कुशवा (नेपाल), रक्सौल–परवानीपुर र गण्डक (नेपाल)– रामनगर (भारत) प्रसारण लाइनबाट २२० मेगावाट र १३२ केभीको मैनहिया (नेपाल)–सम्पत्तिया (न्यु नौतनवा, भारत)बाट ५० मेगावाट आयात गर्न पाइने प्राधिकरणले जनाएको छ । भारतले अप्रिल १५ सम्म १६ घण्टा र त्यसपछिका अवधिमा आरटीसी मोडमा आयात गर्न दिने गरी अनुमति दिएको छ । 

प्राधिकरणले नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को १७ औं बैठकले १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने बिजुलीको दर प्रतियुनिट ८.२२ भारु (१३ रुपैयाँ १५ पैसा), ३३ केभीमा प्रतियुनिट ८.९१ भारु (११ रुपैयाँ ५८ पैसा) 

तथा ११ केभी स्तरमा प्रतियुनिट ९.५५ भारु (१५‍ रुपैयाँ २८ पैसा) कायम गरेको छ ।पीईसीमार्फत नेपालले ३५० मेगावाट बिजुली आयात गर्न सक्नेछ । चैत–वैशाख महिनामा पर्ने सुक्खा मौसममा नेपालको विद्युत् आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउने प्राधिकरणले अपेक्षा गरेको छ ।

प्राधिकरणले यही सुक्खायामलाई मध्यनजर गर्दै खुला प्रतिस्पर्धी दरबाट बिजुली आयात गर्न दुई पटक सूचना जारी गरेको थियो । प्राधिकरणले १९ जनवरीमा यही सुक्खायामका लागि भारतबाट १०० मेगावाट बिजुली खरिद गर्ने भन्दै प्रस्ताव मागेको थियो । प्राधिकरणले फेब्रुअरीदेखि मार्चसम्म प्रतियुनिट ६.६० भारु र अप्रिल र मेका लागि प्रतियुनिट ६.९० भारु बढी नहुने गरी प्रस्ताव मागेको थियो । २८ जनवरीसम्म आवेदन दिन भन्दै सूचना जारी गरे पनि त्यति बेला कुनै प्रस्ताव परेको थिएन ।

प्राधिकरणले सुक्खायाममा प्रणालीको आवश्यकताअनुसार विद्युत् आयात गर्दै आएको छ । त्यसकारण प्राधिकरणले १३ फेब्रुअरीमा १ सय मेगावाट बिजुली अप्रिल र मे महिनाका लागि खरिद गर्ने भन्दै प्रस्ताव माग गरेको थियो । त्यतिबेला प्राधिकरणले २२ फेब्रुअरीसम्म प्रस्ताव पेस गर्नुपर्ने भनेको थियो । तर प्राधिकरणले २१ फेब्रुअरीमा सूचना संशोधन गर्दै २७ फेब्रुअरीसम्म म्याद तोकिएको थियो । १ अप्रिलदेखि ३१ मेसम्म खरिद गर्ने बिजुलीको प्रतियुनिट दर ६.९० भारुभन्दा बढी हुन नहुने प्राधिकरणले तोके पनि कुनै प्रस्ताव परेन ।

तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङको अध्यक्षतामा गत १५ पुसमा बसेको प्राधिकरण बोर्ड बैठकले सुक्खायाममा १ सय मेगावाट विद्युत् खुला प्रतिस्पर्धामार्फत खरिद गर्न १० दिनको समयावधि दिई सार्वजनिक सूचनामार्फत आवश्यक परे आयोगको सहमति लिई क्याटागोरी १ का भारतीय ट्रेडर (व्यापारिक कम्पनी) हरूसँग सिलबन्दी कोटेसन प्रस्ताव माग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्राधिकरणले प्रस्ताव माग गरेको थियो ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully