निजी क्षेत्रले घुस खुवाउन, लाइन बस्न र थुनिनु नपर्ने अर्थमन्त्री वाग्लेको दाबी

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रमैत्री सरकार भएकाले अब उद्योगी व्यवसायीलाई घुस, लाइन र अनावश्यक थुन्ने झन्झट हट्ने बताएका छन्।

चैत्र १६, २०८२

कान्तिपुर संवाददाता

Finance Minister Wagle claims that the private sector does not have to pay bribes, stand in lines, and be detained.

काठमाडौँ — अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजमा लाइन लाग्न र बिनाकारण थुनिनु नपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीहरुसागको भेटघाटमा सोमबार अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रमैत्री भएकाले ढुक्क भएर लगानी विस्तार गर्न र रोजगारीका अवसर सृजना गर्न आग्रह गरेका हुन् ।

‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नँ । म अर्थतन्त्रको हवाइजहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ,’ उनले भने, ‘निजी क्षेत्रले अब दुःख पाउँदैन, हामी तपाईंहरूको सहयात्री हौं । अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, बिनाकारण निजी क्षेत्रका मानिस थुनिनु पर्दैन ।’

निजी क्षेत्रले आर्थिक बेइमानी गरेको अवस्थामा सरकारले आर्थिक जरीवानामा गर्ने पनि अर्थमन्त्री वाग्लेले बताए ।  यसकारण गलत गरेको अवस्थामा उद्योगी व्यवसायीलाई आर्थिक जरिवाना गर्ने तर थुन्ने काम नगर्ने उनले बताएका हुन् ।  

यसरी राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्रबाट पनि बेइमानी नहोला भन्ने सरकारको अपेक्षा रहेको अर्थमन्त्रीले बताए । ‘नियोजित रुपमा र नियतवस कसैले बेइमानी गर्छ भने त्यसमा सरकार निर्मम हुन्छ,’ अर्थमन्त्री वाग्लेले भने । 

कान्तिपुर

Link copied successfully