रोग अन्यत्र फैलनबाट रोक्न संक्रमण देखिएको ठाउँका कुखुरा नष्ट गरिएको हो।
चितवन — भरतपुरको एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु रोग देखा परेपछि उक्त फार्म र आसपासका कुखुरा र दानालगायतका सामग्री नष्ट गरिएको छ ।
लेयर्स कुखुरा अण्डाका लागि व्यवसायिक रूपमा पाल्ने गरिन्छ । रोग अन्यत्र फैलनबाट रोक्न यसो गरेको भरतपुरको पशु सेवा कार्यालयका अधिकारीहरूले बताएका छन् ।
कार्यालयका प्रमुख डा.प्रभात न्यौपानेले चैत्र १२ मा भरतपुर महानगरपालिका-४ को लेयर्स कुखुरा फार्ममा बर्ड फ्लु रोग लागेको पुष्टि भएको बताए ।
बर्डफ्लु देखा परेपछि उक्त फार्म र फार्मको चार किल्लाभित्र पर्ने कुखुरा र दानालगायतका सामग्री नष्ट गरेको डा. न्यौपानेले बताए । यो क्रममा आइतबारसम्म गरेर कुल १७ हजार ९५० लेयर्स कुखुरा र ९१३ लोकल कुखुरा नष्ट गरेको उनले जानकारी दिए । अन्यत्र रोग फैलन नदिन विशेष सतर्कता अपनाएको उनले बताए।
