सामान्य वर्षामै अवरुद्ध बन्ने राजमार्ग बर्खामा सहज होला ?

सरकारी निकायले बर्खालाई लक्ष्य गर्दै दिगो सडक पूर्वाधार बनाएको दाबी गरे पनि प्रत्येक वर्ष पहिरो खसेर सडक अवरुद्ध बन्ने, जनधनको क्षति हुने गरेको छ, शुक्रबार साँझ बीपी राजमार्गमा यस्तै भयो

चैत्र १५, २०८२

विमल खतिवडा

Will a highway that becomes blocked during normal rains be easier to navigate during monsoons?

काठमाडौँ — स्यार्र पानी पर्दा पनि राजमार्ग अवरुद्ध बन्न थालेपछि बर्खामा के हुने हो भन्ने अन्योल सर्वसाधारणमा थपिएको छ । उनीहरूको एउटै प्रश्न छ— बर्खाका लागि राजमार्ग सुरक्षित छन्/छैनन् ? सरकारी निकायले बर्खालाई लक्ष्य गर्दै दिगो सडक पूर्वाधार बनाएको दाबी गरे पनि प्रत्येक वर्ष पहिरो खसेर सडक अवरुद्ध बन्ने, जनधनको क्षति हुने गरेको छ । शुक्रबार साँझ बीपी राजमार्गमा यस्तै भयो । 

शुक्रबार ७ बजेबाट अवरुद्ध बनेको बीपी राजमार्ग शनिबार दिउँसो ३ बजेबाट सञ्चालनमा आयो । पानी परेसँगै रोशी खोलामा आएको बाढीले राजमार्गको अस्थायी डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प बनेको हो । राजमार्ग स्थायी निर्माणका क्रममा रहेकाले खोलामा अस्थायी डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । बाढीले साढे ५ किलोमिटर अस्थायी डाइभर्सन बगाएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘चौकीडाँडादेखि बर्खे खोलासम्म नै बाढीले क्षति गरेको छ,’ उनले भने, ‘बढी समस्या कटुन्जेबेंसी, चारसय बेंसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, पिप्ले खण्डमा समस्या भएको छ ।’ 

आउने बर्खामा खोलाभन्दा माथि स्थायी रूपमा बनाइएको सडकबाटै सवारीसाधन चलाउने गरी काम भइरहेको योगेशको भनाइ छ । ‘२०८२ वैशाखमा पनि यस्तै भएको थियो । अचानक परेको पानीले रोशी खोलामा बाढी आएपछि एक दिन सडक बन्द भएको थियो,’ उनले भने, ‘यो पटक चैतमै पानी परेर बाढी आउँदा समस्या भएको हो, वैशाखसम्म स्थायी रूपमा बनाइएको सडकबाट सवारीसाधन चलाउनेछौं ।’ खोलाभन्दा माथि जहाँ–जहाँबाट सडक सवारीसाधन चलाउन मिल्छ, बर्खाअघि नै ती ठाउँबाट सवारी साधन चलाउने व्यवस्था गरिने उनको दाबी छ । 

बर्खाअघिसम्म कतिपय ठाउँमा खोलामै डाइभर्सन बनाएर सवारीसाधन चलाइने उनले सुनाए । ‘बर्खामा यो पटक समस्या हुन दिँदैनौं, स्थायी रूपमा बनाएको सडकबाटै सवारीसाधन चलाउँछौं,’ योगेशले भने, ‘सडकमा पूरै काम नभए पनि बर्खाभर चलाउन मिल्ने बनाउँछौं ।’ यो राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा बढी क्षति गरेको हो । क्षतिग्रस्त राजमार्गको ३.२ किमिबाहेक २७.३ किमि खण्डको ठेक्का भई काम भइरहेको छ ।

काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो । दुई लेनमा निर्माण भइरहेको राजमार्गको भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । दुवै ठेक्काको सम्झौता असारमा भएको हो ।

पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग गत कात्तिकमा सम्झौता भएको हो । यस खण्डको ठेक्का रकम ६८ करोड ८० लाख रुपैयाँ छ । जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक निर्माण गर्नेछ । जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा उक्त खण्डमा सडक निर्माण हुन लागेको हो । 

Will a highway that becomes blocked during normal rains be easier to navigate during monsoons?

बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ छ । सबै खण्डको काम सम्झौता भएका मितिले दुई वर्षभित्र सक्नुपर्ने सडक विभागले जनाएको छ । राजमार्गमा सडकको भए पनि पुल निर्माणको सुरसार अझै गरिएको छैन । यस खण्डमा सबैभन्दा बढी ट्राफिक जाम पुलमा हुने गरेको छ । दिनको ४ हजारभन्दा बढी सवारी यो सडक भएर ओहोरदोहोर गर्छन् । साँघुरा र सिंगल लेनका पुलका कारण सवारीसाधन वारपार गर्न लाइन लाग्नुपर्ने अवस्था छ । असोज २०८१ मा आएको बाढीले हेटौंडा–काठमाडौं जोड्ने कान्ति राजमार्गका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सवारी आवागमन रोकिएको थियो । ललितपुरको टीकाभैवरदेखि बगुवासम्म २९ किलोमिटर दूरीमा ठेक्का भएर काम भइरहेको छ । 

बगुवादेखि हेटौंडा बुद्धचोकसम्म ५० किमिमा पनि ठेक्का भएर काम भइरहेको सडक विभागले बताएको छ । यो सडक पूर्वी तराई जाने सवारीसाधनका लागि उपयुक्त बन्दै आएको छ । दुग्धपदार्थ बोकेका ट्यांकर, कुखुरा र तरकारी बोकेका गाडी पनि यही मार्ग हुँदै राजधानी भित्रिन्छन् । यो दुई लेनको सडक हो । पहाड कटिङ गर्न नसकेको खण्डसहित दुई किलोमिटर सडक अहिले पनि एक लेन नै छ ।

दुग्धपदार्थ बोकेका ट्यांकर, कुखुरा र तरकारी बोकेका गाडी पनि यही मार्ग हुँदै राजधानी भित्रिन्छन् । यो दुई लेनको सडक हो । पहाड कटिङ गर्न नसकेको खण्डसहित दुई किलोमिटर सडक अहिले पनि एक लेन नै छ ।यस राजमार्गले संघीय राजधानी काठमाडौं र बागमती प्रदेश राजधानी हेटौंडा जोडेको छ । बगुवामा निर्माण थालिएको पुलको काम अझै सकिएको छैन । यस राजमार्गको विभिन्न खण्डमा काम भइरहे पनि बर्खामा पहिरो खसेर सडक अवरुद्ध बन्ने जोखिम कायमै रहेको सडक विभाग स्रोतले जनाएको छ । बर्खामा सबैभन्दा बढी समस्या आउने अर्को सडक हो, पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको दाउन्ने । सामान्य पानी पर्नासाथ यो खण्डमा सवारी आवागमन ठप्प बन्छ । पानी परेपछि सवारीसाधन चिप्लने गरेका छन् । 

उक्त सडक विस्तारको काम थालेको सात वर्ष बित्दा काम अझै पूरा भएको छैन । अन्यत्र काम सकिए पनि सबैभन्दा बढी समस्या आइरहने दाउन्नेको १४ किलोमिटर खण्डको सकस नटरेको हो । बर्खामा बढी समस्या आउन थालेपछि यस खण्डको ११ किमिमा सिमेन्ट प्रयोग गरेर सडक निर्माण गरिँदै छ । सुरुको डिजाइनमा कालोपत्र गर्ने विषय उल्लेख भए पनि निर्माणका क्रममा त्यस क्षेत्रको माटोका कारण कालोपत्र टिकाउ नहुने अवस्था देखिएपछि ढलानको काम अघि बढाइएको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए । 

‘दाउन्नेमा काम भइरहेको छ,’ ढकालले भने, ‘आउने बर्खासम्म यस ठाउँको काम सकिइसक्छ, विगत वर्षहरूको जस्तो समस्या यात्रु र चालकले यो पटक झेल्नुपर्नेछैन ।’ पानी रसाइरहने र दलदल माटो बढी भएकाले उक्त क्षेत्रमा मालवाहक सवारीसाधन बढी गुड्ने भएकाले ब्रेक लगाउँदा कालोपत्र सडक भासिने र बिग्रने जोखिम रहेकाले सडकको टिकाउका लागि ढलानको काम गरिएको ढकालले सुनाए । 

यसबाहेकको ९९ किमिमा ग्रामीण र जंगल क्षेत्रमा चार लेन र बजार क्षेत्रमा दुईतिर सर्भिस लेनसहित ८ लेनसम्म सडक बनिसकेको छ । अहिले रङरोगनसहित फिनिसिङको काम भइरहेको ढकालले बताए । 

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा यसको विस्तार गरिएको हो । अर्को ठूलो समस्या हुने सडक हो, नागढुंगा–मुग्लिन । नागढुंगा–मुग्लिन सडकअन्तर्गत पहिरो खस्ने जोखिम रहेका क्षेत्रमा फुर्के खोला, झ्याप्ले खोला, १३ किमि, चारकिलो, नागढुंगा सुरुङको मुख, रातमाटे, शीतलबजार नजिक, मलिंगा, विशाल बजार नजिक, ज्यामिरेघाट, जवाङ खोला, मौवा खोला र घोप्टेभीर छन् ।

 विश्व बैंकको सहुलियतपूर्ण ऋणमा स्तरोन्नति थालिएको नागढुंगा–मुग्लिन सडकको काम अझै सकिएको छैन । यसलाई तीन खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ । नागढुंगा–नौबिसे सडक खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ । स्तरोन्नति थालिएको १२.२६ किलोमिटरमा अब अन्तिम चरणको कालोपत्रको काम मात्र बाँकी छ । यही खण्डमा पर्ने झ्याप्ले खोलामा १३ असोज २०८१ मा पहिरो खसेर रोकिराखेका माइक्रो र यात्रुबस पुर्दा ३५ जनाको ज्यान गएको थियो । यस क्षेत्रमा पहिरोको जोखिम कायमै छ । 

दोस्रो खण्ड नौबिसे–मलेखु हो । यस खण्डको दूरी ४३.५४ किमि छ । असारअघि १५ किमि सडकमा पहिलो तहको कालोपत्र गरिएको थियो । यस खण्डमा साढे २१ किमि पहिलो तहको कालोपत्र दुईतर्फी नै सकिएको छ । दोस्रो तहमा १५ किमि सडक कालोपत्र भइसकेको छ । यस खण्डमा पर्ने १३ पुलमध्ये १० वटाको काम सकिइसकेको छ । सोप्याङ, फेदी खोला र खहरे खोला पुलको निर्माण बाँकी छ । यस खण्डमा बिजुलीका पोल समयमै नहटाउँदा कामको गति बढ्न नसकेको हो । नागढुंगादेखि मुग्लिनसम्मको दूरी ९४.६६ किमि छ । यो सडक भएर दिनहुँ १२ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । जोखिमयुक्त क्षेत्र मानिएका ठाउँहरूमा पहिरो रोकथामको काम भएको नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाले जनाए । 

‘पहिचान भएका ठाउँहरूमा पहिरो नियन्त्रणको काम भएको छ । तर अनुमान गरेको भन्दा पनि नयाँ–नयाँ ठाउँमा पहिरो खस्ने गरेकाले यसै भन्न सक्ने अवस्था छैन,’ ओझाले भने, ‘आउने बर्खामा समस्या नहुने गरी नै काम गरिरहेका छौं ।’ मलेखु–मुग्लिन खण्डको प्रगति भने न्यून छ । यस खण्डको कुल दूरी ३८.८६ किमि छ, जसमा ११ किमि चार लेन सडकमै पहिलो तहको कालोपत्र भएको छ । विशालटार, मझिमटार क्षेत्रमा ६ किमि पुरानो कालोपत्र सडक भत्काएर नयाँ गरिँदै छ । मेची राजमार्गका विभिन्न खण्डमा प्रत्येक वर्षको पहिरो खसेर समस्या हुने गरेको छ । 

बर्खामा कुनै पनि राजमार्ग र सडकमा समस्या हुन नदिने गरी काम भइरहेको सडक विभागका महानिर्देशक विजय जैसीले जनाए । ‘पानी पर्नासाथ बीपी राजमार्गमा समस्या आउने गरेको छ, त्यहाँ पनि बर्खा सुरु हुनुअघि नै सडकबाट सवारीसाधन चलाउने व्यवस्था हुन्छ । त्यहीअनुसार काम भइरहेको छ,’ उनले भने, ‘बेला–बेलामा नसोचेको समयमा पानी पर्ने गरेकाले समस्या आउने गरेको छ ।’ 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully