कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको सिँचाइलाई प्राथमिकता दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

सरकारद्वारा निर्धारित १०० दिने कार्ययोजनाअनुसार सचिवस्तरमा आवश्यक सल्लाह तथा तयारी प्रक्रिया आइतबारदेखि सुरु गर्न समेत ऊर्जामन्त्री श्रेष्ठले निर्देशन दिए ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Energy Minister Shrestha directs to prioritize irrigation directly linked to agricultural production

What you should know

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कृषि उत्पादनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा सिँचाइलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । आइतबार ऊर्जामन्त्री श्रेष्ठको अध्यक्षतामा मन्त्रालयस्तरीय ब्रिफिङ कार्यक्रममा यस्तो निर्देशन दिइएको हो । 

सरकारद्वारा निर्धारित १०० दिने कार्ययोजनाअनुसार सचिवस्तरमा आवश्यक सल्लाह तथा तयारी प्रक्रिया आइतबारदेखि सुरु गर्न समेत उनले निर्देशन दिएका हुन् ।

विपद् तथा मौसमको बदलिँदो प्रवृत्तिको अध्ययन सुरु गर्नुपर्ने आवश्यकता औंल्याउँदै सो सम्बन्धी तथ्यांक भविष्यमा मन्त्रालयका लागि महत्त्वपूर्ण सम्पत्ति हुने गरी कार्य गर्ने समेत उनले बताए ।

सचिवस्तरमा आन्तरिक बैठक आयोजना गरी प्राथमिकता निर्धारण गर्नुपर्ने र बजेट कार्यान्वयनको अन्तिम चरणमा रहेका तथा शीघ्र कार्यान्वयन सम्भव हुने आयोजनालाई प्राथमिकतामा राख्ने, सिँचाइ क्षेत्रको समग्र प्रगति,लक्ष्य तथा लक्षित क्षेत्रको स्पष्ट विवरण तयार गर्नुपर्ने र विशेषतः कृषि उत्पादनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा सिँचाइलाई प्राथमिकता दिनपर्ने उनको भनाई छ ।

अघिल्लो आर्थिक वर्षको बजेट तथा खर्च क्षमताको समीक्षा आवश्यक रहेको र प्राविधिक क्षमताको अभावका कारण बजेट खर्च हुन नसकेको अवस्थाको विश्लेषण गर्ने,चालू आर्थिक वर्षको बजेटलाई उत्पादकत्व अभिवृद्धि तथा परिणाममुखी कार्यसँग जोड्ने मन्त्रालयले जनाएको छ ।

प्राथमिकतामा रहेका आयोजनाहरूको कार्यकारी अनुगमन / स्थलगत भ्रमणको तयारी गर्ने र ती आयोजनाहरुको पृष्ठभूमि अध्ययनका आधारमा ढिलाइ, लापरवाही वा अवरोधको पहिचान गरी निराकरणको लागि तत्काल पहल गर्ने र आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयारीको सन्दर्भमा कार्यसम्पादनलाई थप गतिशील बनाउँदै प्राथमिकतामा आधारित भई गहन छलफल तथा विश्लेषण गर्ने भएको छ ।

चालू आयोजनाहरूमा रहेका अवरोधहरूको पहिचान गरी सूची तयार पार्ने र समाधानका लागि आवश्यक पहल गर्ने र मन्त्रालयमा उपलब्ध प्राविधिक जनशक्ति तथा अनुभवलाई सकारात्मक रूपमा उपयोग गर्दै परिणाममुखी ढंगले कार्य अगाडि बढाउने सरकारले जनाएको छ ।

कान्तिपुर

Link copied successfully