वीरगन्ज नाकाबाट ग्यास र मट्टीतेल आयात घट्यो

गत आर्थिक वर्षको साउनदेखि फागुनसम्मको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ग्यास र मट्टीतेल आयात घटेको हो ।

चैत्र १४, २०८२

शंकर आचार्य

Gas and kerosene imports from Birgunj border decrease

What you should know

पर्सा — सबैखाले इन्धन भित्रिने देशको मुख्य नाका वीरगन्जबाट खाना पकाउने एलपी ग्यास र मट्टीतेलको आयात घटेको छ ।

गत आर्थिक वर्षको साउनदेखि फागुनसम्मको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यी इन्धनको आयात घटेको हो । यो नाकाबाट डिजेल, पेट्रोल र हवाई इन्धनको आयात भने सामान्य वृद्धि भएको छ ।  

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत वर्ष यस अवधिमा २४ अर्ब ६ करोड रुपैयाँ बराबरको २१ करोड ४२ हजार ७ सय ८५ किलो एलपी ग्यास आयात भएकोमा चालु आर्थिक वर्षमा २० अर्ब ५४ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख किलो ग्यास आयात भएको छ । तुलनात्मक रुपमा चालु आर्थिक वर्षमा ७२ लाख २८ हजार किलो ग्यास कम आयात भएको छ ।

ग्यासको आयात घट्दा राजश्वमा पनि गिरावट आएको छ । गत वर्ष ग्यास आयातबाटै ४ अर्ब ५० करोड रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षमा ३ अर्ब ८५ करोडमात्र राजश्व संकलन भएको छ ।

गत वर्ष यस अवधिमा ४५ करोड रुपैयाँ बराबरको ५ हजार २० किलोलिटर मट्टीतेल आयात भएकोमा चालु आर्थिक वर्षमा भने २७ करोड बराबरको ३ हजार १ सय किलोलिटरमात्र आयात भएको छ । गत वर्ष यसको आयातबाटै १८ करोड रुपैयाँ राजश्व संकलन भएकोमा यस वर्ष जम्मा ८ करोड रुपैयाँ राजश्व संकलन भएको छ।

सामान्य आयात वृद्धि भएका इन्धनहरुमा गत आर्थिक वर्षमा ६१ अर्ब ५१ करोड रुपैयाँ बराबरको ६ लाख ८६ हजार ५ सय ५१ किलोलिटर डिजेल आयात भएकोमा चालु वर्षमा ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको ७ लाख २ हजार ३ सय किलोलिटर डिजेल आयात भएको छ । गत आर्थिक वर्षमा डिजेल आयातबाट मात्रै २७ अर्ब ३२ करोड रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षमा २८ अर्ब ४ करोड राजश्व संकलन भएको छ।

गत आर्थिक वर्षको पहिलो ८ महिनामा यो नाकाबाट २५ अर्ब ३० करोड रुपैयाँ बराबरको २ लाख ९० हजार किलोलिटर पेट्रोल आयात भएको थियो । चालु आर्थिक वर्षको यस अवधिमा २७ अर्ब ५५ करोड रुपैयाँ बराबरको ३ लाख २५ हजार किलोलिटर पेट्रोल आयात भएको छ । तुलनात्मक रुपमा पेट्रोलको आयात ३५ हजार २ सय ४६ किलोलिटरले वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा यो नाका हुँदै १० अर्ब ९३ करोड रुपैयाँ बराबरको १ लाख १९ हजार किलोलिटर हवाई इन्धन आयात भएकोमा चालु आर्थिक वर्षको यस अवधिमा ११ अर्ब ६६ करोड बराबरको १ लाख २६ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ । यसको आयात तुलनात्मक रुपमा ६ हजार ७ सय ८३ किलो लिटरले वृद्धि भएको छ ।

समग्रमा गत आर्थिक वर्षको फागुनसम्म यो नाका हुँदै १ खर्ब २२ अर्ब २६ करोड रुपैयाँ बराबरका यी पाँच इन्धन आयात भएकोमा यिनको आयातबाट ५० अर्ब १४ करोड राजश्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा भने १२ खर्ब ३६ अर्ब बराबरको इन्धन आयात हुँदा ५२ अर्ब १५ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम डिजेल र एलपी ग्यासको आयात घट्नुले औद्योगिक उत्पादन तथा घरेलु उपभोगमा गिरावट आएको संकेत देखिएको बताउँछन् । पेट्रोलको आयात बढ्नुमा निजी सवारी साधनको प्रयोग बढ्दै गएको सूचक रहेको उनले बताए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully