वीरगन्ज कृषि औजार कारखानाबाट १७ लाखका औजार बिक्री

२०७९ माघ १ देखि केन्द्रले नेपाल सरकारबाट यो कारखाना आफ्नो जिम्मामा लिएर सञ्चालन गरिरहेको छ ।

चैत्र १२, २०८२

शंकर आचार्य

Birgunj Agricultural Tool Factory sells tools worth Rs. 1.7 million

What you should know

पर्सा — पूर्वशिक्षा मन्त्री एवम् सांसद महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना वीरगन्जबाट स्थापनाकालदेखि झण्डै १७ लाख रुपैयाँ बराबरको कृषि औजार बिक्री वितरण गरेको छ ।

केन्द्रको वीरगन्जका प्रमुख इन्जिनियर रितेश देवका अनुसार हालसम्म मकै गोड्ने मेसिन ‘रिजर’ ३ सय थान बढी बिक्री भएको छ । केन्द्रले १ हजार ५ सय रुपैयाँमा यो उपकरण बिक्री गरिरहेको छ ।

त्यसैगरी, झारपात सफा गर्ने उपकरण ‘रेक’ पनि ३ सय थान बढी बिक्री भइसकेको छ । यसको मूल्य ७ सय रुपैयाँ राखिएको छ । मकै रोप्ने मेसिन ‘कर्न प्लान्टर’ २ वटा बिक्री भएको छ । यसको मूल्य १५ हजार रहेको छ।

केन्द्रले ७ वटा धान रोप्ने मेसिन ‘राइस प्लान्टर’ पनि बिक्री गरेको छ । यसको मूल्य २६ हजार रुपैयाँ रहेको छ। यसका साथै दुई दर्जन भन्दा बढी प्रकारका विडर, खन्ने, जोत्ने आदि हाते उपकरण पनि ६० देखि ७० हजार रुपैयाँ बराबरको बिक्री भइसकेको देवले जानकारी दिए ।

केन्द्रले अर्डर अनुसार माछा उत्पादन गर्ने फिस इन्क्युवेटर मेसिन र  अक्सिजन एरिएसन मिक्सिङ टावर पनि उत्पादन गरी बिक्री गरिसकेको छ । केन्द्रले हालै व्याट्रीले चल्ने ‘कृषि इ ट्रिलर’ को आविष्कार गरेको छ ।

यो सानो हाते ट्याक्टर चलाउन डिजेल वा पेट्रोल चाहिँदैन । लिड एसिड व्याट्रीबाट चल्ने यो हाते ट्याक्टर कृषि प्रयोजनमा जोत्ने, बिषादी छर्ने तथा व्यापारीक प्रयोजनमा माल सामान ओसार्न प्रयोग गर्न सकिन्छ । नेपालमा पहिलो पटक यस्तो व्याट्रीबाट चल्ने ट्रयाक्टर उत्पादन गरिएको हो ।

हाल कारखानामा सबै खाले जनशक्ति गरी ४५ जनाले रोजगारी पाएका छन् । २०७९ माघ १ देखि केन्द्रले नेपाल सरकारबाट यो कारखाना आफ्नो जिम्मामा लिएर सन्चालन गरिरहेको छ । कारखाना सन्चालनमा हालसम्म केन्द्रले करिब ३ करोड रुपैयाँ खर्च गरिसकेको जनाएको छ । उक्त रकम  केन्द्रका संस्थापक पुनले आफ्नो आत्मकथा पुस्तक बिक्री गरेर जम्मा गरेको करिब १२ करोड रुपैयाँ प्राप्त भएको इन्जिनियर देव बताउँछन् ।

२०२४ सालमा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरी सन्चालनमा आएको कृषि औजार कारखाना २०४६ सालको परिवर्तनपछि रुग्ण अवस्थामा गएपछि २०४९ सालमा बन्द गरिएको थियो । नेपाल सरकारले बाचा गरे अनुसार कारखाना सन्चालन गर्न २० करोड रुपैयाँ नदिएको गुनासो गर्दै केन्द्रका संस्थापक पुन आफ्नै आत्मकथा पुस्तक बेचेर उक्त रकमको जोहो गर्ने अभियानमा छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully