महासंघ नेतृत्वका लागि दुई समूह प्रतिस्पर्धामा

साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन्, बाँकी पदाधिकारीका लागि हुने निर्वाचनका लागि दुई समूहले आआफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

Two groups vying for federation leadership

What you should know

काठमाडौँ —  

यही २९ र ३० चैतमा हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र नयाँ नेतृत्वका लागि दुई समूह प्यानल बनाएर मैदानमा उत्रिएका छन् । साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् । बाँकी पदाधिकारीका लागि निर्वाचन हुनेछ । सोही निर्वाचनका लागि दुई समूहले आआफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

करिब एक महिनाअघि (११ फागुन) मा महासंघको वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार अर्को समूहले पनि उम्मेदवारी घोषणा गरेको हो । शिवप्रसाद घिमिरेको प्यानललाई हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले समर्थन गरेका छन् । सोमबार काठमाडौंको र्‍याडिसन होटलमा आयोजित उम्मेदवारी घोषणासभाको ब्यानरमै ‘नेपाल उद्योग वाणिज्य महासंघका भावी अध्यक्ष अञ्जन श्रेष्ठ समूहको पदाधिकारी तथा कार्यकारिणी सदस्य घोषणा कार्यक्रम’ राखिएको थियो । यसकारण पनि यस समूहलाई आगामी अध्यक्ष श्रेष्ठको समर्थन रहेको बुझ्न कठिन छैन । 

कार्यक्रममा वस्तुगत उपाध्यक्षतर्फ घिमिरे, एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला/नगरतर्फ उपाध्यक्षद्वयमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी घोषणा गरेका हुन् । यद्यपि यस प्यानलले वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको उम्मेदवारी भने घोषणा गरेको छैन । 

वस्तुगततर्फको उपाध्यक्षमा सोमबार घिमिरेले आफ्नो प्यानल घोषणा गरेका छन् । घिमिरेले १६ सदस्यीय पदका उम्मेदवारसहितको समूह सार्वजनिक गरेका हुन् । घिमिरे नेतृत्वमा वस्तुगततर्फको सदस्य पदका उम्मेदवारहरूमा अरनिको राजभण्डारी, रवीन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारू, राजेशभक्त श्रेष्ठ, होमप्रसाद घिमिरे, धनप्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एबबहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुवबहादुर गौतम छन् । 

आफ्नो समूहमा उद्योग र व्यापारका विभिन्न विधालाई समेटेर समावेशी टिम जुटाएको ऊर्जा र एलपी ग्यास क्षेत्रमा स्थापित व्यवसायी घिमिरेले बताए । ‘मैले वर्षौंदेखि देखेको समृद्धिको सपना र व्यवसायी साथीहरूको भरोसाका कारण आज महासंघमा वस्तुगत उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दछु । यसले मलाई वास्तविक शक्ति केन्द्र बनाउने अठोटले मनमा नयाँ उत्साह भरेको छ,’ घिमिरेले भने, ‘आज महासंघ एउटा निर्णायक मोडमा छ । निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड त हो । तर नीति निर्माणमा हाम्रो आवाज कमजोर छ । अब महासंघलाई शक्तिशाली बनाउने बेला आएको छ ।’ 

एसोसिएट उपाध्यक्ष पदका उम्मेदवार पाण्डेको चुनावी टिममा पनि विभिन्न क्षेत्रका उद्योगी व्यवसायी समेटिएका छन् । आफ्नो समूहले ‘समावेशी र सन्तुलित’ टिम बनाएको पाण्डेको दाबी छ । उनको टिममा अभया मल्ल, अम्बिकाप्रसाद पौडेल, बाबुकाजी कार्की, हेमन्त गोल्छा, ईश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, मनोज पौडेल, निकोलस पाण्डे, प्रियाराज रेग्मी, राजेशकुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, शक्तिकुमार बेगानी, सुशील थापा, सुयोस प्याकुरेल र उज्ज्वल श्रेष्ठ छन् । 

करिब एक महिनाअघि महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हेमराज ढकालको समूहमा उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे, उमेश डालमिया, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र महिला उपाध्यक्षमा कमला श्रेष्ठ छन् । यो समूहले भने कार्यकारिणी सदस्य घोषणा गरिसकेको छैन । 

सोमबारको घोषणा कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न आग्रह गरे । निर्वाचनमा हुने प्यानलगत विभाजनले निजी क्षेत्र कमजोर हुने भएको भन्दै उनले समझदारीमा जोड दिएका हुन् । अहिले देशमा दुईतिहाइको स्थायी सरकार बन्ने प्रक्रियामा रहेको र यस्तो बेला निजी क्षेत्र एकढिक्का हुनुपर्ने उनको भनाइ छ । एकढिक्का भएर आवाज उठाए मात्रै सरकारले सुन्ने उनको धारणा छ ।

महासंघकी पूर्वअध्यक्ष भवानी राणाले पनि निजी क्षेत्रका व्यवसायी एकीकृत भएर अगाडि बढ्नुपर्ने बताइन् । व्यवसायीहरूबीच एकता भए मात्र सरकारले निजी क्षेत्रको आवाज सुन्ने र महत्त्व दिने उनले जनाइन् ।

कान्तिपुर

Link copied successfully