महिला उद्यमी महासंघ नेपालको मंगलबारको बैठकले उक्त निर्णय गरेको हो । मेला ललितपुरको हेरिटेज गार्डेनमा हुनेछ ।
काठमाडौँ — यही चैत २० गतेदेखि २२ सम्म नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ हुने भएको छ ।
महिला उद्यमी महासंघ नेपालको मंगलबारको बैठकले उक्त निर्णय गरेको हो । मेला ललितपुरको हेरिटेज गार्डेनमा हुनेछ ।
महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको महासंघले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्न लागेको हो ।
मेलामा देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका सफल महिला उद्यमीहरूलाई उनीहरूको उद्यमशीलताको पहिचान, प्रोत्साहन र उत्साह अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । मेलाको उद्घाटन समारोह चैत २० गते हुने बताइएको छ ।
महासंघले नेपालभरका ७७ जिल्लामा जिल्ला महिला उद्यमी संघ स्थापना गरी ६ हजारभन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको छ । करिब १ लाखभन्दा बढी अप्रत्यक्ष लाभग्राहीहरू रहेको महासंघको दाबी छ ।
मेलामा नेपालका विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीहरूको सहभागिता रहने बताइएको छ ।
मेलाले महिला उद्यमीहरूलाई आफ्नो रैथाने तथा मौलिक उत्पादनको प्रदर्शन, बजार विस्तार, नेटवर्किङ र व्यापारिक सहकार्यको अवसर प्रदान गर्ने महासंघको दाबी छ । मेलामा जम्मा १४० वटा स्टलहरु रहने छन् ।
हस्तकलाका सामानहरु जस्तैः प्राकृतिक रेसाजन्य वस्तु ढाकाका सामानहरु, गलैंचा, हाते कागजका सामानहरु जैविक खाद्य पदार्थ स्वदेशी रैथाने खानेकुरामा परिकारहरु, कृषिजन्य उत्पादनहरु, जडिबुटीका सामानहरु विभिन्न मूर्तिहरु गरगहना सजावटका सामानहरु, विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु आकर्षक ढंगले प्रदर्शनीमा राखिने बताइएको छ ।
मेलामा जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुका सिप र सिर्जनालाई अगाडि ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान सघाउ पुर्याउनका साथै उनीहरुलाई अगाडि बढ्न प्रोत्साहन गर्ने विश्वास पनि महिला उद्यमी महासंघको दाबी छ ।
मेलामा भारतबाट फेवरिक तथा कस्मेटिक सामग्रीहरु, चीनबाट ‘इलेक्ट्रोलाइट ड्रिक्स’, कोरियाबाट कस्मेटिक सामान तथा नुडल्सहरु र भुटानबाट रिसाइकल उत्पादनहरुका साथै अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको उत्कृष्ट उत्पादनहरुको प्रदर्शनी रहने विज्ञप्तिमा उल्लेख छ ।
मेलामा कुन प्रदेशबाट के ?
कोशी प्रदेशबाटः अल्लोका सामानहरु, बाँसका सामानहरु, कफी जुटका सामानहरु, अम्रिसो प्राकृतिक रेसाका वस्तुहरु, टिमुर आदि ।
मधेश प्रदेशबाटः प्रख्यात मिथिला आर्टका वस्तुहरु तथा बाँसका उत्पादनहरु
बागमती प्रदेशबाटः डेरी उत्पादन, चिज छुर्पी अकबरे खुर्सानी, लप्सीका विभिन्न प्रकारका उत्पादनहरु, दुना टपरी तथा विभिन्न हस्तकलाका सामान, माटोका भाँडाकुँडा, नर्सरी उत्पादनहरु, लत्ताकपडाहरु, गरगहना तथा खाद्यान्न उत्पादनहरु
गण्डकी प्रदेशः विवाह सजावटका सामानहरु, कागुनो, गेडागुडी जडिबुटी अल्लो उत्पादन, ढाकाका उत्पादनहरु
लुम्बिनी प्रदेशः ढाका कपडा, अल्लोका उत्पादनहरु, बाँस र बेतका सामानहरु, थाकलाबाट बुनेका सामानहरु प्राकृतिक रेसाजन्य वस्तुहरु, गेडागुडी, भाङ्गो, परम्परागत खाद्यवस्तुहरु जस्तै अचार आदि
कर्णाली प्रदेशः राडिपाखी तथा अल्लोका सामानहरु, कषिजन्य गेडागुडी उत्पादनहरु,
सुदूरपश्चिम प्रदेशबाटः गलैंचा, काठबाट बनेका सामानहरु तथा कृषिजन्य उत्पादनहरु
