आयात हुने कच्चा पदार्थमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ भने अभाव हुन सक्ने भन्दै उद्योगी चिन्तित छन् ।
What you should know
काठमाडौँ — पश्चिम एसियामा इरानसँग इजरायल र अमेरिकाको युद्ध चर्किएसँगै त्यसका बाछिटा नेपालका उद्योगमा देखिन थालेका छन् । प्लास्टिक उद्योग कच्चा पदार्थ अभावमा बन्द हुने अवस्थामै पुगेका छन् । सञ्चालनमा रहेका प्लास्टिकजन्य उद्योगले पनि ३० प्रतिशत उत्पादन कटौती गरेका छन् ।
कच्चा पदार्थ आयात गर्न समस्या भएकाले उत्पादनमा भारी कटौती गर्नुपरेको एमएम पोलिमर्सका सञ्चालक स्वागतराज प्याकुरेलले बताए । कम्पनीले हेटौंडा औद्योगिक क्षेत्रमा कोकाकोला, फेन्टालगायत पेय पदार्थका बोतल उत्पादन गर्दै आएको छ ।
प्लास्टिकजन्य उद्योगलाई आवश्यक औद्योगिक कच्चा पदार्थ पेट्रो केमिकल र पोलिमरको अभाव हुँदै गएको प्याकुरेलले जनाए । भारतले अन्य मुलुकबाट ‘क्रुड आयल’ ल्याएर रिफाइन गरेर नेपाललगायत अन्य मुलुकलाई पेट्रो केमिकल निर्यात गर्दै आएको छ । यति बेला भारतमै कच्चा तेलको समस्या रहेको र युद्ध लम्बिए नेपालका प्लास्टिकजन्य उद्योगसँगै अन्य उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुने नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यले बताए । कच्चा पदार्थको अभावले प्लास्टिकजन्य उद्योगले उत्पादन कटौती गर्दै आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख संगीता कुँवरले जनाइन् ।
अहिले प्लास्टिकजन्य उद्योगमा प्रयोग हुने प्लास्टिक ‘दाना’ को अभाव सुरु भएको छ । भारत हुँदै नेपाली भान्सासम्म पुग्ने भटमास र सूर्यमुखी तेलका लागि आवश्यक कच्चा पदार्थको आयातसमेत प्रभावित बनेको छ । कच्चा पदार्थ अभावकै कारण बुटवल औद्योगिक क्षेत्र, भैरहवा–परासी औद्योगिक करिडोरमा सञ्चालित उद्योग बन्द हुने अवस्था सिर्जना हुन थालेको सम्बद्ध उद्योगीहरूको भनाइ छ ।
पहिलो चरणमा प्लास्टिकजन्य उद्योग अप्ठ्यारोमा परेको बुटवल औद्योगिक क्षेत्र उद्योग संघ अध्यक्ष उपेन्द्र अग्रवालले बताए । ‘प्लास्टिकजन्य कच्चा पदार्थमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ,’ उनले भने, ‘यस्तै अवस्था हुने हो भने बढेको मूल्यमा पनि कच्चा पदार्थ नपाइन सक्छ भनिएको छ । यसले झनै अन्योल र अप्ठ्यारो बनाएको छ ।’
प्लास्टिक दाना नपाउँदा प्लास्टिकजन्य र प्याकेजिङ उद्योगमा संकट गहिरिएको हो । पानीका बोतल, बोतलका बिर्का, खानेपानी र भवन निर्माणमा प्रयोग हुने पाइप, मोटरसाइकलका हेल्मेट, प्लास्टिकका कुर्सी, प्याकेजिङका प्लास्टिक, कार्टुनलगायत सामग्री उत्पादनमा सोझै असर परिरहेको उद्योगीको गुनासो छ ।
अहिले मौज्दातको सामान सप्लाई भइरहेको र उद्योगको पनि स्टकमा केही सामान रहेकाले तत्काललाई उद्योग चलेका छन् । तर एक साताभित्र कच्चा पदार्थ आयात गर्न नसके यससम्बन्धी धेरैजसो उद्योग बन्द हुने रूपन्देही उद्योग संघका पूर्वअध्यक्ष एवं युनाइटेड प्लास्टिक उद्योगका सञ्चालक एजाज आलमको भनाइ छ । भारतीय आपूर्तिकर्ता (सप्लायर्स) कम्पनीले नेपाली उद्योगको अर्डर लिन छाडेको उद्योगीले जनाए ।
भारत र तेस्रो मुलुकबाट नेपाल आउने कच्चा पदार्थ ढुवानी गर्ने कम्पनीले अब पठाउन नसक्ने सन्देश दिइरहेको आलमले बताए । ‘प्लास्टिकजन्य ‘दाना’ को मूल्य ४० प्रतिशतसम्म बढ्दा उद्योगी अप्ठ्यारोमा परिसकेका छन्,’ उनले भने, ‘पेट्रोलियम बाई–प्रोडक्ट्सहरूको धेरै मूल्य बढेको छ । ९ सय डलर पर्ने सामानको मूल्य १ हजार ५ सय पुगेको छ ।’
नेपाली उद्योगीले भारतको रिलायन्स र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्लास्टिकका दाना खरिद गर्छन् । रूपन्देहीमा मात्र त्यस्ता प्लास्टिक दाना खरिद गरेर प्रशोधन गरेर प्लास्टिकजन्य सामान उत्पादन गर्ने उद्योग ५ सयभन्दा बढी छन् । तिनमा कम्तीमा २० हजार श्रमिक कार्यरत छन् । ती उद्योगले हरेक १५ दिनमा एलसी खोलेर सामान आयात गर्ने गरेका छन् । तर अहिले एसली खोलेर पनि सामान आयात गर्न नसकेपछि भएको स्टकले १० दिन पनि धान्दैन । त्यसपछि उद्योग बन्द गर्नुको विकल्प नहुने उद्योगी बाबुराम बोहराले बताए ।
रूपन्देहीमा चामल उद्योगदेखि सिमेन्ट, छड पनि उत्पादन हुँदै आएको छ । सबै सामग्रीको कच्चा पदार्थ भारत हुँदै आउने गरेको छ । तर, पछिल्ला दुई सातामा बेलहिया नाकाबाट आउने सामानमा केही कमी हुँदै गएको बेलहिया भन्सार कार्यालयका अधिकृत सन्तोष न्यौपानेले जनाए ।
‘अहिले भारतीय सप्लायर्सले अर्डर लिन छाडेका छन् । यसको असर अर्को साताबाट देखिन सक्छ,’ न्यौपानेले भने, ‘अहिले नै त लोड गाडीको संख्यामा केही कमी आए पनि ठ्याक्कै आयात कति घटेको छ भन्ने आँकडा तयार भएको छैन ।’ १५ देखि २० प्रतिशतसम्म सामान्य आयातमा गिरावट आएको हुन सक्ने उनको भनाइ छ । बेलहिया नाकाबाट आउने सामान धेरै भारतीय सप्लायर्समार्फत नै आउने गरेकाले तत्कालै धेरै गिरावट नआउने कार्यालयले जनाएको छ । तेस्रो मुलुकबाट आउने सामान धेरै वीरगन्जबाट भित्रिन्छ ।
युद्धका कारण कच्चा पदार्थ आयात ठप्प भएपछि उद्योग क्षेत्रमा गम्भीर समस्या उत्पन्न भएको नेपालगन्ज उद्योग वाणिज्य संघका एसोसिएट सदस्य तथा स्टार पोलिपाइपका प्रबन्ध निर्देशक कमल कार्कीले जनाए । ‘कच्चा पदार्थ नआउँदा हाम्रो उत्पादन घटिरहेको छ, युद्धका कारण कच्चा माल रोकिएको डेढ महिना भइसक्यो,’ उनले भने ।
कच्चा सामग्रीको आयात रोकिएसँगै उत्पादन घटेको उनले बताए । उत्पादन घटेसँगै उद्योग सञ्चालनमा समस्या भएको छ । पेट्रो–केमिकलसँग सम्बन्धित कच्चा पदार्थ तेस्रो मुलुकबाट भारत हुँदै नेपाल भित्रिने गरेको छ । तर, अहिले भारतले आफ्नै बजारमा अभाव हुन नदिन निर्यातमा कडाइ गरेपछि यहाँका उद्योग संकटमा परेको नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बताए । पेट्रो–केमिकलसँग सम्बन्धित कच्चा पदार्थ अभावले अहिले प्लास्टिकजन्य उत्पादन मात्र होइन, दैनिक उपभोग्य वस्तु उत्पादनमा समेत असर देखिन थालेको उनको भनाइ छ ।
रिलायन्स स्पिनिङ मिल्सका प्रबन्ध निर्देशक अक्षय गोल्यानले भने तत्काललाई स्टकमा कच्चा पदार्थ रहेकाले असर नदेखिएको बताए । ‘युद्धले कच्चा तेलको मूल्यवृद्धि भएको छ । हरेक उत्पादनमूलक उद्योगको कच्चा पदार्थको सम्बन्ध कच्चा तेलसँग जोडिएको हुन्छ,’ उनले भने, ‘युद्व लम्बिँदै गए पक्कै यसको असर पर्छ ।’
कच्चा पदार्थ अभाव भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका सयभन्दा बढी प्लास्टिक उद्योगको उत्पादन नराम्ररी प्रभावित भएको छ । साउदी अरब, कतारलगायत खाडी मुलुकबाट भित्रिने कच्चा पदार्थ युद्ध सुरु भएयता नआएको बागमती प्लास्टिक उद्योगका संस्थापक नन्दकिशोर राठीले जनाए ।
‘खाडीका निर्यातकर्ताले कच्चा पदार्थ पठाउन सकेका छैनन्, खाडीको विकल्पका रूपमा भारतबाट समेत उद्योगले कच्चा पदार्थ आयात गरिन्थ्यो,’ उनले भने, ‘भारतले निर्यात रोकेपछि उद्योगहरूमा कच्चा पदार्थको अभाव सुरु भएको छ ।’
हाइडेन्सिटी पोलिथिन पाइप म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले विज्ञप्ति जारी गर्दै कच्चा पदार्थको नयाँ मूल्य करिब ६२ प्रतिशतले बढेको बताएको छ । ‘एचडीपी उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ (एचडीपी ग्रानुयल्स) कच्चा तेलको प्रशोधन गरी उत्पादन गरिन्छ । पश्चिम एसियामा जारी तनावका कारण भारतलगायत तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थको ढुवानी विगत केही सातादेखि अवरुद्ध भइरहेको छ,’ एसोसिएसनले भनेको छ । केही उद्योगमा कच्चा पदार्थको मौज्दात शून्य भएकाले उद्योग बन्द भएको र केही उद्योग बन्द हुने संघारमा रहेको एसोसिएसनले जनाएको छ ।
खासगरी जुत्ता–चप्पल उद्योगदेखि केवल तारलगायतका प्लास्टिकजन्य उद्योगमा यसको प्रत्यक्ष प्रभाव देखिन थालेको छ । चीनबाट आउने सामानको लागत पनि बढेको भन्सार एजेन्ट सुरेश बोहराले बताए । रसियाबाट आउने रासायनिक मल र युक्रेनबाट आउने खाद्यान्नको आपूर्ति शृंखलासमेत प्रभावित बनेको छ । इन्धनको मूल्यमा भएको वृद्धिका कारण ढुवानी खर्च बढ्दा हरेक उपभोग्य सामानको मूल्यमा चाप परेको छ । युक्रेनबाट आउने सामान आइपुग्न ४० देखि ४५ दिनसम्म लाग्ने गरेकामा हालको अवरोधले थप अन्योल सिर्जना गरेको व्यवसायी बताउँछन् ।
युद्धको असर कपडा उद्योगमा पनि पर्ने देखिएको छ । विश्वव्यापी रूपमा उत्पादन लागत १० देखि १५ प्रतिशत मूल्य बढ्नेसमेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । सिन्थेटिक फाइबर पेट्रो केमिकललगायतबाट उत्पादन हुन्छ । तेलको मूल्य बढेपछि पेट्रो केमिकलका उत्पादनको लागत स्वतः बढ्छ ।
अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि स्वतः ढुवानी लागत बढ्छ । यसले आपूर्ति शृंखलामा समेत प्रभाव पार्ने हुँदा धागो, कपडालगायत सबैको उत्पादन लागत वृद्धि हुन्छ । फाइबर उत्पादक र कपडा मिल, कपडा बनाउनेदेखि खुद्रा विक्रेतासम्म यसको असर पर्ने बताइएको छ ।
मुलुकमा उत्पादन लागत २० प्रतिशतसम्म बढ्ने नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जनाए । ‘कपडा, धागो, जिपर, टाँकलगायत कच्चा पदार्थ भारत, चीन, जापान, कोरिया, बंगलादेशबाट आउँछन्,’ उनले भने, ‘आपूर्ति शृंखला नै खलबलिएको छ । ढुवानी भाडा बढेको छ । यसको असर देखिने भइहाल्यो ।’ ढुवानी लागत र कच्चा पदार्थको मूल्य वृद्धि हुँदा उत्पादन लागत स्वतः बढ्ने उनको भनाइ छ ।
जुत्ता उत्पादक क्षेत्रमा पनि युद्धको असर परेको छ । सोल बनाउने, टाँस्नेलगायत कच्चा पदार्थको अभाव भएको जुत्ता उत्पादक संघका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताए । पेट्रोलियमका सहउत्पादन भएकाले मूल्य बढिरहेको र अभाव पनि देखिन थालेको उनले जनाए । जुत्ता उत्पादनलाई आवश्यक ७० प्रतिशत कच्चा पदार्थ बाहिरबाट ल्याउने गरिएको उनको भनाइ छ ।
पेट्रोलियम पदार्थको सहउत्पादन भएका कारण बिटुमिन आयात प्रभावित बनेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । ‘बिटुमिन आयातमा समस्या देखिएको छ, अर्कोतिर सिमेन्ट र डन्डीको मूल्य बढेको छ,’ उनले भने, ‘डन्डीको मूल्य प्रतिकिलो २० रुपैयाँ र बिटुमिनको १ सय ३५ रुपैयाँसम्म वृद्धि भएको छ ।’
युद्ध नरोकिए मुलुकमा रासायनिक मलको आयातसमेत प्रभावित हुनेछ । रासायनिक मलमा नेपाल आयातमै निर्भर छ । पश्चिम एसियाका साउदी अरब, कतार, ओमान, यूएईलगायत देश युरिया, सल्फर र एमोनियाका प्रमुख आपूर्तिकर्ता हुन् । माटोको पोषक तत्त्वका लागि महत्त्वपूर्ण मानिने एमोनियाको तेस्रो ठूलो उत्पादक इरान हो । विश्व बजारमा मूल्यवृद्धि भइरहेकाले त्यसको प्रभाव नेपालमा पर्ने देखिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्यवृद्धिसँगै, बोलपत्र आह्वान गर्दाको मूल्य र आपूर्ति गर्दाको बजार मूल्यबीचको अस्थिरताका कारण नोक्सानी हुने डरले आपूर्तिकर्ता डेलिभरी गर्न हिचकिचाइरहेको कृषि मन्त्रालयकै एक अधिकारीले बताए । पश्चिम एसियामा देखिएको समस्याले गर्दा मल आपूर्तिमा केही असहज अवस्था आउन सक्ने भएकाले मन्त्रालयमा त्यस्तो अवस्थामा चाल्नुपर्ने वैकल्पिक उपायबारे छलफल गरिएको उनले जनाए । आगामी जेठसम्मलाई पुग्ने मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाइ छ । रासायनिक मल र हिलियम आयातको माध्यम ‘स्ट्रेट अफ हर्मुज’ रहेको बताइएको छ ।
द्वन्द्वकै असर मुलुकका औषधि उत्पादक उद्योगमा समेत पर्ने देखिएको छ । नेपालमा उत्पादन हुने औषधिका कच्चा पदार्थ आयात गरिने भएकाले तिनको अभाव बढे उद्योगमा समस्या आउने देखिएको हो । युद्ध लम्बिए नेपालमा औषधि उत्पादन गर्न गाह्रो हुने नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीको भनाइ छ । ‘युद्धका कारण औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य ३० प्रतिशत वृद्धि भएको छ,’ उनले भने, ‘विशेषगरी पेट्रोलियम पदार्थ आधारित उत्पादन पाउन मुस्किल हुन सक्छ ।’ स्लाइन बोतल बनाउन प्रयोग हुने प्लास्टिक र अन्य कच्चा पदार्थको आपूर्तिमा समस्या देखिने उनले सुनाए ।
सरकारले कतिपय अत्यावश्यक औषधिको मूल्य तोकेको छ । मानिसको जीवनसँग जोडिएकाले सरकारले औषधि उत्पादनमा विशेष ध्यान दिनुपर्ने अधिकारीले जनाए । ‘हामीलाई औषधि स्टोर गर्न भनेर निर्देशन दिए पूर्वतयारी गर्न सक्छौं, नत्र हामीले महँगो मूल्यमा कच्चा पदार्थ किनेर सस्तोमा दिन सक्ने अवस्था छैन,’ उनले भने ।
तत्काल मुलुकमा औषधिका लागि ठूलो समस्या नदेखिएको औषधि व्यवस्था विभागका किरण सुन्दर बज्राचार्यले बताए । ‘हामीले कस्ता औषधि, कच्चा पदार्थ कुन देशबाट आएका छन्, विस्तृत अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘लामो समय युद्ध जारी रहे त्यसको प्रभाव पर्न सक्छ । तर, अहिले तुरुन्तै भने नेपालमा त्यसको असर देखिएको छैन ।’
आपूर्ति शृंखलामा आएको हलचलसँगै मुलुकको निर्यात र उत्पादन लागत बढी प्रभावित हुने देखिएको छ । कार्गोलगायत सबै ढुवानीको भाडा बढेको नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका अध्यक्ष राजेन्द्र संग्रौलाले जनाए । आयात–निर्यात ढुवानी बढ्दा उत्पादन लागत ५० प्रतिशतसम्म बढ्ने उनको अनुमान छ । ‘पश्चिम एसियाबाट कार्गो आएनन् भने वस्तु आयात–निर्यात कसरी गर्ने ? यत्तिकै पनि अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न सकिँदैनथ्यो, अब झन् गाह्रो हुन्छ,’ उनले भने ।
- साथमा आरती पौडेल (काठमाडौं), प्रताप विष्ट (हेटौंडा), घनश्याम गौतम (बुटवल), रूपा गहतराज (नेपालगन्ज), पर्वत पोर्तेल (विराटनगर) र शंकर आचार्य (पर्सा)
