पश्चिम एसियाको द्वन्द्वपछि एडीबीले सहायता प्याकेज उपलब्ध गराउँदै

पश्चिम एसियाको द्वन्द्वबाट अर्थतन्त्रमा परेको असर कम गर्न एडीबीले विकासशील सदस्य राष्ट्रहरूलाई तत्काल वित्तीय सहायता प्याकेज उपलब्ध गराउने बताएको छ ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

ADB provides aid package after West Asia conflict

What you should know

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले पश्चिम एसियामा जारी द्वन्द्वका कारण आफ्ना विकासशील सदस्य राष्ट्रहरूको अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न विशेष वित्तीय सहायता प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै एडीबीले आर्थिक र वित्तीय जोखिम व्यवस्थापनका लागि यस्तो सहयोगको उपलब्ध गराउने जनाएको छ ।

बैंकका अध्यक्ष मासातो कान्डाले सदस्य राष्ट्रहरूलाई तत्कालको दबाब झेल्न र दीर्घकालीन रूपमा सक्षम बनाउन बैंकले तुरुन्त, छरितो सहयोग उपलब्ध गराउने उल्लेख गरेका छन् । ‘तेललगायत अत्यावश्यक सामग्रीको आयात सुनिश्चितताका लागि आर्थिक सहायता र व्यापार एवं आपूर्ति सञ्जाल स्थिर राख्न सहयोग गरिनेछ,’ कान्डाले भनेका छन्, ‘विश्वव्यापी अनिश्चिततामाझ एसिया र प्रशान्त क्षेत्रमा हाम्रो सहयाताको बलियो इतिहास यसले निर्माण गर्नेछ ।’ 

पश्चिम एसियाको द्वन्द्वले ढुवानी मार्गहरूमा अवरोध सिर्जना हुँदा सामानको लागत बढेको र समयमा सामान नपुग्ने समस्या देखिएको एडीबीको विश्लेषण छ । यसले ऊर्जा क्षेत्रमा मात्र नभई कृषि र खाद्य उत्पादनमा प्रयोग हुने रासायनिक मल र पेट्रोकेमिकल्सको आपूर्तिमासमेत ठूलो जोखिम बढाएको छ । पर्यटन र रेमिट्यान्समा निर्भर अर्थतन्त्र भएका देशहरूमा यसले असर पार्न सक्ने बैंकले चेतावनी दिएको छ ।

एडीबीले विश्व बजारको अस्थिरता र बढ्दो महँगीलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ । प्रभावित देशहरूको वित्तीय सन्तुलन कायम राख्न र विपन्न नागरिकलाई जोगाउन बैंकले सरकारहरूलाई बजेटरी सहयोग उपलब्ध गराउने तयारी गरेको जनाएको छ । यसका लागि बैंकले गम्भीर असर परेका सदस्य राष्ट्रहरूसँग तत्काल आवश्यक सहयोगका विषयमा छलफल सुरु गरिसकेको विज्ञप्तिमा उल्लेख छ । बैंकले निजी क्षेत्र र अन्य विकास साझेदारहरूसँग मिलेर आर्थिक स्थिरता कायम गर्न काम गर्ने प्रतिबद्धता पनि जनाएको छ । 

कान्तिपुर

Link copied successfully