सगरमाथा र ल्होत्से हिमालमा डोरीमार्फत बाटो बनाउन खटाइए १० शेर्पा 

हिमाल आरोहण गराउने व्यवसायीहरुको संगठन एक्सपिडिसन अपरेटरस् एसोसिएसन अफ नेपालले दुवै हिमालका लागि बाटो खोल्ने तथा हिमालमा डोरी जडान गर्न सिपालु १० जना शेर्पा टोलीलाई मंगलबार काठमाडौंबाट विशेष समारोह अयोजना गरेर बिदाइ गरेको हो ।

चैत्र १०, २०८२

सुरज कुँवर

10 Sherpas deployed to build ropeways on Everest and Lhotse

What you should know

काठमाडौँ — यसपटकको वसन्तकालीन हिमाल आरोहण २०२६ अभियानका लागि विश्वकै अग्लो हिमचुचुरो सगरमाथा (८८४८.८६ मिटर) र चौथो अग्लो हिमाल ल्होत्से (८५१६ मिटर) मा डोरी बाँधेर बाटो बनाउन १० जना नेपाली शेर्पालाई मंगलबार बिदाइ गरिएको छ । 

हिमाल आरोहण गराउने व्यवसायीहरुको संगठन एक्सपिडिसन अपरेटरस् एसोसिएसन अफ नेपालले दुवै हिमालका लागि बाटो खोल्ने तथा हिमालमा डोरी जडान गर्न सिपालु १० जना शेर्पा टोलीलाई मंगलबार काठमाडौंबाट विशेष समारोह अयोजना गरेर बिदाइ गरेको हो । 

एक्सपिडिसन अपरेटर्सका महासचिव ऋषि भण्डारीका अनुसार, यसपटक एसोसिएसनले सगरमाथा र ल्होत्से हिमालमा आरोहीहरुका लागि डोरी टाँगेर बाटो बनाउन मिङ्मा तेन्जी शेर्पा (टोली प्रमुख), पाम दोर्जे शेर्पा, छोम्बा तेन्जी शेर्पा, पासाङ टाशी शेर्पा, मिङ्मा नुर्बु शेर्पा, लोप्साङ भोटे, फुर्तेन्जिङ शेर्पा, गुरु भोटे, मिङ्मा दोर्ची शेर्पा र पासाङ तेन्जिङ शेर्पालाई मंगलबार काठमाडौंमा बिदाइ गरेको हो । 

टोलीमा सोलुखुम्बुका पाम दोर्जे र लोप्साङ भोटे ताप्लेजुङका हुन् भने बाँकी ८ जना संखुवासभाका हुन् । यी सबै शेर्पाहरुसँग उच्च हिमालमा गाइड गरेको कम्तीमा पनि १८ वर्षको अनुभव रहेको टोली नेता मिङ्मा तेन्जीले बताए । उनका अनुसार, उनीहरु बुधबार सडकमार्ग हुँदै सोलुखुम्बुको सुर्के जाँदै छन् । त्यहाँबाट हिँडेर यो टोली सगरमाथा आधार शिविर एक सातामा पुग्ने योजना रहेको छ । यो टोली सगरमाथामा कम्तीमा २ महिना रहने छ ।  

10 Sherpas deployed to build ropeways on Everest and Lhotse

५२ सय मिटर उचाईमा पर्ने सगरमाथा आधार शिविरदेखि ६ हजार ५ सय मिटर उचाईमा पर्ने दोस्रो क्याम्पसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो बनाउने छ । दोस्रो क्याम्पदेखि सगरमाथा र ल्होत्सेको चुचुरोसम्मको बाटो एक्सपिडिसन अपरेटर्सका तर्फबाट खटाइएको यो १० जना शेर्पाको टोलीले बनाउनु पर्ने छ । 

एक्सपिडिसन अपरेटर्सले अघिल्ला वर्ष विभिन्न आरोहण दलमा आबद्ध शेर्पाहरुलाई बाटो बनाउने जिम्मा दिन्थ्यो । तर यसपटक यी १० जना शेर्पाले यो सिजनका लागि सगरमाथा र ल्होत्सेमा डोरी टागेर बाटो बनाउने, पुराना डोरी झिक्ने लगायतका काम मात्रै गर्ने जिम्मेवारी पाएको महासचिव भण्डारीले कान्तिपुरसँग बताए । उनका अनुसार, यो कामका लागि मात्रै ८ देखि १२ लाख रुपैयाँ जनही उनीहरुलाई पारीश्रमिक दिइने सम्झौता भएको एशोशिएसनले जनाएको छ । यो पारिश्रमिकबाहेक यातायात, खाना, आवास, विमा, गियरहरुको खर्च एसोसिएसनले नै गर्नु पर्छ । एसोसिएसनका अनुसार दुवै हिमालका लागि १५ सय किलोग्राम तौलको डोरीसहित गियरहरु पठाइँदै छ । 

सगरमाथा आधार शिविर र काठमाडौंबीच प्रभावकारी समन्वयका लागि एसोसिएसनका सदस्य बाबु शेर्पालाई बेस क्याम्प संयोजक तथा सम्पर्क व्यक्ति तोकिएको छ । साथै, सेभेन समिट ट्रेक्स एन्ड एक्सपिडिसनका बेस क्याम्प म्यानेजर तथा सिरदार दोर्जे ओङ्दाक शेर्पालाई अतिरिक्त संयोजकको रूपमा नियुक्त गरिएको छ ।

टोलीलाई सेभेन समिट ट्रेक्सका निर्देशक छाङ दावा शेर्पाले डाउन सुट तथा क्लाइम्बिङ बुटलगायत आवश्यक गियर सामग्री उपलब्ध गराएका छन् । यसपटक वैशाख अन्तिम सातासम्म दुवै हिमालको चुचुरोमा डोरीको सहायताले बाटो बनाउने लक्ष्य रहेको व्यवसायीहरुले बताएका छन् । 

सगरमाथा आरोहणमा यसपटक ४ सय र ल्होत्सेमा १ सय विदेशी आरोही पुग्ने अनुमान एसोसिएसनको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully