पोखराका युवा उद्यमी पृथ्वीकल्याण पराजुलीले सुरु गरेको ‘पोसिलो’ सातु अहिले नेपाली भान्सामा मात्र सीमित नभई अमेरिका र भारतका स्टोरहरूसम्म पुग्छ
What you should know
पोखरा — कोभिड महामारीको पहिलो चरणपछि अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्किएका पृथ्वीकल्याण पराजुलीले जाँतोमा मकै–भटमास पिस्दै गरेको देखे । थोरै सातु हातमा लिएर चाखे । बाल्यकालमा मुखमै गडेको स्वाद सम्झिहाले । कोभिडका बेला प्रतिरोधात्मक क्षमता बढाउने पोसिलो खाना खोज्ने लहर नेपालमा पनि उत्तिकै चर्को थियो । पोखरा फर्किएर उनले परम्परागत नेपाली खाजा सातुलाई आधुनिक प्याकेजिङमा ढालेर ‘पोसिलो’ नाम दिए ।
पुस २०७८ मा पोखरामा उनले स्थापना गरेको पोसिलो फुड्स प्रालिले अहिले झापामा आफ्नो उद्योग विस्तार गरी भारतदेखि अमेरिकासम्म आफ्नो उत्पादन निर्यात गरेको छ । एक करोडको लगानी सुरु गरिएको यो उद्योगमा हालै प्रतिष्ठित निर्यातकर्ता ‘मनराम ग्रुप’ साझेदारका रूपमा भित्रिएको छ । यो साझेदारीपछि पोसिलो सातुले अन्तर्राष्ट्रिय बजारमा फड्को मारेको हो । विगत दुई दशकदेखि अमेरिकामा छुर्पी निर्यात गर्दै आएको मनराम ग्रुपको ‘हिमालय डग च्यु’ को बलियो नेटवर्क प्रयोग गरी पोसिलोले अमेरिकी बजारमा आफ्नो दरिलो उपस्थिति जनाएको छ । पछिल्लो ६ महिनामा मात्रै डेढ टनभन्दा बढी सातु अमेरिका पुगिसकेको छ भने त्यहाँका करिब २ सय वटा स्टोरमा यो उपलब्ध छ ।
कोरोना महामारीका बेला पराजुलीले व्यापार तथा बजार व्यवस्थापनमा बीबीए सकाइसकेका थिए । जागिरभन्दा व्यवसाय गर्ने उनको सपना थियो । एक वर्षसम्म बजार अनुसन्धान गरेपछि २३ वर्षको उमेरमा उनले पोसिलो फुड्स प्रालि स्थापना गरेका थिए । सेयर बेचेर, परिवारको सहयोग मागेर र बैंकबाट ऋण लिएर एक करोड रुपैयाँको लगानी जुटाए ।
पोखरा–१८ पोखराबेंसीमा सुरु भएको उद्योगमा पहिलो दिन एक सय केजी सातु उत्पादन भयो । बिस्तारै उत्पादन १ सय ५०, फेरि २ सय र ४ सय केजीसम्म पुग्यो । उपभोक्ताको प्रतिक्रिया उत्साहजनक थियो । विशेष गरी कोभिड काल र त्यसपछिको स्वास्थ्य चेतनाको लहरले पोसिलोलाई राम्रो बजार बनाइदियो ।
पोसिलो सातुको विशेषता यसको शुद्धता र पोषणमा छ । मकै, भट्ट, गहुँ, चनाजस्ता स्थानीय अन्नका साथै यसमा हाडे बदाम, काजु, आलस, छोकडा, ओखर, तिल र विभिन्न सुपरफुडहरू मिसाइएको छ । पोसिलोले हाल ‘मल्टिग्रेन’, ‘नट्टी डिलाइट’, ‘प्रोटिन प्लस’ र ‘न्युट्री प्लस’ जस्ता ८ प्रमुख प्रकारका सातु उत्पादन गरिरहेको छ । विशेषगरी फिटनेसमा रुचि राख्ने एथलेट्स, गर्भवती महिला, बालबालिका र वृद्धवृद्धाको पोषणको आवश्यकतालाई ध्यानमा राखेर फरक–फरक मिश्रण तयार पारिएको छ ।
यी उत्पादनहरू आधा किलोदेखि दुई किलोसम्मको प्याकेटमा उपलब्ध छन् । कम्पनीका अनुसार यसमा कुनै पनि कृत्रिम रङ, स्वाद वा प्रिजर्भेटिभ्स प्रयोग गरिएको छैन, जसका कारण यो शतप्रतिशत प्राकृतिक र स्वास्थ्यवर्द्धक छ । ‘सहरमा हराइसकेको सातुलाई पुनः युवामाझ परिचित गराउन व्यावसायिक रूपमै हाम फालें,’ अध्यक्ष पराजुलीले भने, ‘पोसिलो सातु नेपालीको मौलिक पोसिलो खाजा पनि हो । साँच्चिकै उच्च पोषणयुक्त उत्पादन हो ।’
पराजुलीले एक वर्षअघि मनराम ग्रुपसँग साझेदारी गर्ने निर्णय गरे । ५० प्रतिशत सेयरसहित मनराम ग्रुप पोसिलोमा भित्रियो र पोखराको कारखाना बन्द गरेर झापाको बिर्तामोडमा नयाँ अत्याधुनिक कारखाना स्थापना गरियो । नेपालकै पहिलो स्वचालित सातु प्रशोधन प्रणालीसहितको यस कारखानाको दैनिक उत्पादन क्षमता १० हजार केजी पुग्यो ।
हाल कारखानाबाट दैनिक तीन हजार केजी सातु उत्पादन भइरहेको पराजुलीले बताए । उनका अनुसार उत्पादन, बजारीकरण, बिक्री, प्रशासन र खरिदलगायत विभिन्न क्षेत्रमा ४५ जनाले रोजगारी पाएका छन् । ‘पोखराबाट सुरु भएको यात्रा झापासम्म आइपुग्यो । अहिले नेपालकै पहिलो स्वचालित सातु प्रशोधन प्रविधि हामीसँग छ,’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय मापदण्डको अन्न प्रशोधन प्रणालीले गर्दा नै हाम्रो उत्पादन विदेशी बजारमा प्रतिस्पर्धी हुन सकेको हो ।’
पोसिलोको अमेरिका प्रवेशको कथा मनराम ग्रुपसँगको सहकार्यसँग जोडिन्छ । मनरामकै कृषि फार्मको उत्पादन हाल पोसिलोमा प्रयोग हुन्छ । मनराम त्यही समूह हो जसको कम्पनी ‘हिमालय डग च्यु’ ले विगत दुई दशकदेखि नेपालको छुर्पी अमेरिकामा कुकुरको स्वास्थ्यवर्द्धक खानाका रूपमा निर्यात गर्दै आएको छ । यही सञ्जाल र अनुभव अहिले पोसिलो सातुका लागि प्रयोग भइरहेको छ ।
अध्यक्ष पराजुलीका अनुसार साझेदारी भएको ६ महिनाभित्रै दुई पटकमा डेढ टनभन्दा बढी सातु अमेरिका पुगिसकेको छ । २ सयभन्दा बढी स्टोरमा पोसिलो सातु उपलब्ध भइसकेको छ । अमेरिकामा वितरण र अनलाइन मार्केटिङ पनि मनराम ग्रुप आफैंले सम्हालिरहेको छ । अमेरिका मात्र होइन, भारतको विशाल बजारमा पनि पोसिलोले राम्रो जग बसाल्दै छ । अमेजनमार्फत भारतभर, ब्लिन्किटमार्फत कोलकाता र मुम्बईका स्टोरहरूमा र दिल्लीको मोडर्न बजार चेन स्टोरलगायत ठाउँमा पोसिलो सातु बिक्री भइरहेको छ ।
गत वर्ष भारतको दिल्लीमा प्रतिष्ठित ‘आहार एक्स्पो’ मा पोसिलोले आफ्नो उत्पादन चिनायो । पहिले गाउँमा जे अन्न पाइन्थ्यो, त्यही भुटेर पिसिन्थ्यो सातु । अहिले पोसिलोले विज्ञान र परम्पराको सुन्दर मेल गरी विभिन्न उमेर समूह र जीवनशैलीका लागि आठ थरी सातु उत्पादन गर्दै आएको छ ।
पोसिलोको उत्पादन प्रक्रिया नेपालका किसानको खेतबाट सुरु हुन्छ । विभिन्न कृषि सहकारीमार्फत नेपाली अन्न खरिद गरिन्छ । मकै, भट्ट र गहुँ नेपालकै उत्पादनले धान्छ । खरिद गरेपछि स्वचालित सफाइ र ग्रेडिङ गरिन्छ अनि रोस्टिङ, मिलिङ, मिक्सिङ र प्याकेजिङको क्रम पार गर्दै उत्पादन बजारमा
पुग्छ । हरेक दिन मेसिनको स्यानिटाइजेसन हुन्छ । आफ्नै गुणस्तर नियन्त्रण टिमले हरेक ब्याच जाँच गर्छ । कर्मचारीहरू उत्पादन स्वच्छतामा तालिम प्राप्त छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा पोसिलोका सबै उत्पादनमा कुनै पनि कृत्रिम रङ, संरक्षक वा स्वाद प्रयोग गरिँदैन, थपिएको चिनी पनि छैन । नेपालको अन्नलाई ग्रेडिङ गरेर बजारीकरण गर्ने काम पनि पोसिलोले सुरु गरेको छ । जसले किसानलाई उचित मूल्य दिलाउन र गुणस्तरीय नेपाली अन्नको पहिचान स्थापित गर्न मद्दत पुर्याउँछ ।
पोसिलो केवल व्यापार मात्र नभएको युवा उद्यमी पराजुली बताउँछन् । ‘सामाजिक उत्तरदायित्वप्रति पनि सचेत छौं,’ उनले भने, ‘नेपाली खेलाडीलाई प्रायोजन र सहयोग गर्ने, बच्चालाई पोषणबारे शिक्षित गर्ने र किसानलाई उन्नत कृषि अभ्यासमा सशक्त बनाउने काम कम्पनीले गर्दै आएको छ ।’
नेपालको अन्न र त्यसबाट बन्ने उत्पादनलाई संसारभर चिनाउने, नेपालको निर्यात बढाएर देशको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिने कम्पनीको लक्ष्य रहेको उनले सुनाए । आउँदो आर्थिक वर्षसम्म एक सय जना प्रत्यक्ष रोजगारी थप्ने, नेपाल, भारत र अमेरिकाको बजार थप विस्तार गर्ने, नयाँ देशहरूमा प्रवेश गर्ने र नेपाली अन्नबाट नयाँ उत्पादन विकास गर्ने योजना कम्पनीसँग छ । ‘नयाँ व्यवसायमा हात हालियो, के हुने हो भन्ने मनमा थियो । तर अहिले उपभोक्ताले मन पराएको देख्दा ठीकै गरिएको छ भन्ने लागेको छ,’ उनले भने, ‘अबको लक्ष्य संसारका थप कुनाकाप्चामा नेपालको यो पोसिलो खाजा पुर्याउने हो ।’
