बागमती प्रदेश सरकारद्वारा ८ महिनामा साढे २४ अर्ब राजस्व संकलन

सरकारले आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

चैत्र ९, २०८२

रासस

Bagmati Province government collects Rs 24.5 billion in revenue in 8 months

What you should know

काठमाडौँ — बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व स‌ंकलन गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यो लक्ष्यको तुलनामा ४५ दशमलव १३ प्रतिशत अर्थात १३ अर्ब ९३ करोड ९७ लाख १५ हजार राजस्व संकलन भएको प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत सुरज पौडेलले जानकारी दिए । 

उनका अनुसार चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेसन शीर्षकबाट ७ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा पहिलो ८ महिनामा २ अर्ब ५६ करोड २ लाख ४ हजार राजस्व सङ्कलन भएको छ । 

यसैगरी, प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२/८३ मा ८ अर्ब २५ करोड अनुमान गरेकोमा ४ अर्ब ४४ करोड ९३ लाख ४० हजार संकलन गरेको छ । 

यस्तै, प्रदेश सरकारले बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकामा सो अवधिसम्ममा ५ अर्ब ४ करोड ६५ लाख १७ हजार संकलन भएको छ भने अन्तःशुल्क करबापत ४ अर्ब ३ करोड ७९ लाख ९ हजार प्राप्त हुने अनुमान गरिएकामा १ अर्ब ७५ करोड ३ लाख ३६ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकामा ८ महिनाको अवधिमा त्यसको ५३ दशमलव ६० प्रतिशत अर्थात् ७ अर्ब ९४ करोड २७ लाख ५६ हजार प्राप्त भएको अधिकृत पौडेलले बताए । 

यस्तै, चालु आव २०८२/८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्वबाट ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकामा ८ महिनामा लक्ष्यको ५२ दशमलव ३५ प्रतिशत अर्थात २ अर्ब ५० करोड १२ लाख १८ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्री कारोबारमा आएको कमी, २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा प्रदेश सरकारको राजस्व संकलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायतका कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको उनको भनाइ छ ।

रासस

Link copied successfully