खाडीमा युद्धको झट्का, काठमाडौंको आकाशमा तरंग

नेपालको अन्तर्राष्ट्रिय उड्डयन व्यापारमा प्रत्यक्ष जोडिएका नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र काठमाडौं विमानस्थलले दिनहुँ कम्तीमा ७ करोडका दरले प्रत्यक्ष आम्दानी गुमाउँदै।

चैत्र ८, २०८२

सुरज कुँवर

Shockwaves of war in the Gulf, ripples in the sky of Kathmandu

What you should know

काठमाडौँ — संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा गरेको सैन्य आक्रमणपछि पश्चिम एसियामा चर्किएको द्वन्द्वको प्रत्यक्ष आवाज नेपालसम्म नआए पनि यसको गहिरो कम्पनले पछिल्ला २१ दिनयता नेपाली आकाशले दिनहुँ करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति बेहोरिरहेको छ । यसले देशको उड्डयनमा आश्रित व्यापारलाई दबाबमा पारेको छ । 

नेपालको अन्तर्राष्ट्रिय उड्डयन व्यापारमा प्रत्यक्ष जोडिएका नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र काठमाडौं विमानस्थलले दिनहुँ कम्तीमा ७ करोड रुपैयाँका दरले २१ दिनयता १ अर्बभन्दा बढीको कारोबार गुमाइसकेको यी निकायले बताएका छन् । नेपालबाट निर्यात हुने हवाई कार्गो ढुवानीमा कम्तीमा २५ प्रतिशतले भाडा वृद्धि भएको पनि सरोकारवालाको भनाइ छ । 

खाडी क्षेत्रमा दिनहुँ भइरहेको हवाई हमलाले नियमित उडान अवरुद्ध हुँदा नेपालका हवाई व्यवसायीहरूमा अनिश्चितता र चिन्ता गहिरिँदै गएको छ । यो संकट कति लामो समयसम्म रहन्छ, स्पष्ट नभइरहेका बेला उड्डयन आश्रित नेपाली व्यवसायी एक दशकयता भोगेका कठिन अनुभव सम्झन फेरि बाध्य भएका छन् । चाहे त्यो ७ वर्षअघिको कोभिड महामारीका बेला देखिएको आर्थिक गतिरोध होस् वा ११ वर्षअघि भारतले नेपालमा लगाएको आर्थिक नाकाबन्दीका कारण उत्पन्न आपूर्ति संकट र त्यसै बेलाको भूकम्पपछि देखिएको व्यापक आर्थिक असर । 

अहिलेको अवस्था पनि ती घटना जस्तै दीर्घकालीन र गम्भीर प्रभाव पार्ने खालको हो कि भन्ने आशंका व्यवसायीले व्यक्त गर्न थालेका छन् । ‘हाम्रो यो मार्च अवधिको ब्यालेन्स–सिट पूरै गोलमाल हुनेछ,’ खाडीका कतार, दुबई र दमाममा कुल हवाई व्यापारको ८० प्रतिशत आश्रित हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कान्तिपुरसँग भने, ‘हामीले भूकम्प, नाकाबन्दी र कोभिडमा नराम्रो व्यापार घाटा बेहोर्‍यौं । अहिले त्यसै बेलाको जस्तो परिस्थिति आइपर्ने हो कि भन्ने चिन्ता छ । तर यो युद्ध कति दिन जान्छ । त्यसैले नाफा–घाटा निर्धारण गर्नेछ ।’

Shockwaves of war in the Gulf, ripples in the sky of Kathmandu

१६ फागुनको दिउँसो इरानमा हमला भएपछि खाडी क्षेत्रका कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइन गरी नौ देशले त्यसै दिनदेखि आफ्ना आकाशमाथिबाट हुने व्यावसायिक उडानमा रोक लगाए । यी मुलुकले व्यावसायिक उडानमा लगाएको प्रतिबन्ध अझै पूर्ण खुला भइरहेको छैन ।

खाडी क्षेत्रका कतारको दोहा, साउदी अरबको दमाम, कुवेत र यूएईका दुबई र शारजाहबाट नेपालका लागि दिनहुँ कम्तीमा १ दर्जन उडान हुँदै आएका थिए । कतारको दोहा, साउदीको दमाम, दुबई र कुवेतका लागि नेपालबाट हिमालय एयरलाइन्सले उडान गर्दै आएको थियो । नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमले पनि दोहा, दमाम र दुबईका लागि व्यावसायिक यात्रु उडान गर्दै आएको थियो । खाडीका कुवेतको जजिरा र कुवेत एयरवेज, यूएईबाट एयर अरेबिया, फ्लाई दुबई तथा दोहाबाट कतार एयरवेजले नेपालका लागि उडान गर्थे ।

यी वायुसेवा बन्द भएपछि अहिले काठमाडौंमा रहेका टिकट काउन्टर तथा ट्राभल एजेन्सीका कार्यालयमा दिनहुँ टिकट फिर्ता या पुनर्तालिका गराउन यात्रुको भीड देखिन्छ । नक्सालमा रहेको कतार एयरवेज, गैरीधारामा रहेको हिमालय र न्युरोडमा रहेको नेपाल वायुसेवा निगमका टिकट काउन्टरमा अतिरिक्त सुरक्षाकर्मी राखेर यात्रुहरूको व्यवस्थापन गरिँदै आएको छ । वायुसेवा कम्पनीहरूले पछिल्ला दिन दिनहुँजसो सूचना सार्वजनिक गर्दै उडान तालिकाबारे आआफ्ना अपडेट सार्वजनिक गर्दै आएका छन् । काठमाडौं विमानस्थलले शुक्रबारसम्म २२ पटक खाडी उडानबारे सूचना सार्वजनिक गरिसकेको छ । 

अघिल्लो वर्ष १७ अर्ब रुपैयाँको कारोबार गरेको हिमालय एयरलाइन्सले खाडी क्षेत्रको उडान रद्द हुँदा आफ्नो क्यासफ्लोमा ८० देखि ९० प्रतिशतसम्म नकारात्मक असर पर्ने दाबी गरेको छ । ‘अहिले २०–२२ दिनमै गाह्रो साह्रो भन्न मुस्किल छ । तर एयरलाइन्सको बिजनेस क्यासफ्लोमा आधारित हुने भएकाले असर देखिएको छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘मध्यपूर्वको उडान नहुँदा हिमालयले दैनिक २ लाख डलर (२ करोड ९९ लाख रुपैयाँ) हाराहारी कारोबार गुमाइरहेको छ ।’ 

Shockwaves of war in the Gulf, ripples in the sky of Kathmandu

हिमालयले अहिलेको हिउँदे तालिकाअनुसार, दोहा, दुबई, दमाम र कुवेतका साप्ताहिक २४ उडान गुमाइरहेको छ । यी रुटमा उसले १ सय ८० सिट भएका तीन वटा एयरबस ए–३२० र १ सय ४४ सिट क्षमताको एयरबस ए–३१९ गरी चारवटा जहाज सञ्चालन गर्दै आएको छ । 

हिमालयमा जस्तै आर्थिक कारोबारमा असर नेपाल वायुसेवा निगमले पनि बेहोरिरहेको छ । तर हिमालयको तुलनामा निगमको कारोबार घाटा कम छ । किनकि निगमले भारतका तीनवटा सहर दिल्ली, बैंग्लोर, मुम्बई र बैंकक, क्वालालम्पुर, हङकङ एवं जापानको नारितामा पनि उडान गर्छ । यी रुटमा हिमालयले उडान गर्दैन । 

नेपालबाट पूर्वी एसियामा हिमालयले मलेसियाको क्वालालम्पुरमा दिनहुँ उडान गर्छ । उसको नियमित उडान हुने यो मात्रै एउटा गन्तव्य बाँकी छ । पोखराबाट सातामा एक र काठमाडौंबाट सातामा दुई गरी तिब्बतको ल्हासामा हिमालयले उडान राखेको छ । ‘यो रुटमा यात्रु डिमान्ड अत्यधिक न्यून छ । बंगलादेशको ढाकामा पनि उडान राखेका छौं तर त्यो यात्रुको माग भई आए मात्रै हुन्छ । त्यसैले हाम्रो कारोबारको ८० प्रतिशत हिस्सा खाडी नै हो, जसले हामीलाई प्रभावित पारेको छ,’ उपाध्यक्ष श्रेष्ठले भने । 

खाडी रुटमा दुईतर्फी यात्रुको चाप ८० प्रतिशतभन्दा बढी हुने भएकाले घरेलु वायुसेवा प्रायः घाटामा हुँदैनन् । किनकि यी श्रम गन्तव्यका ‘प्वाई–टु–प्वाइट’ रुटमा कामदारको आवागमन वर्षभर भइरहने तथ्यांकमा देखिन्छ ।

यता नेपाल वायुसेवा निगमले पनि दिनको सवा दुई करोड रुपैयाँ बराबर खाडीमा हुने उडानबाट व्यापार गुमाइरहेको निगमको प्रक्षेपण छ । ‘दोहा, दुबई र दमाममा साप्ताहिक १३ वटा उडान हुन्थे,’ निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले भने, ‘खाडीमा सिर्जना भएको युद्धको असरले सवा २ करोड रुपैयाँ हाराहारीको यात्रु तथा कार्गोबाट हुने व्यापार निगमले गुमाइरहेको छ ।’

निगमले यात्रु उडानमा आन्तरिक र बाह्य अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमला स्वदेशी र विदेशी वायुसेवाको जहाजलाई भूमिस्थ सेवा (ग्राउन्ड ह्यान्डलिङ) को काम पनि गर्छ । काठमाडौंमा ३० वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्छन् । यीमध्ये २७ वटा वायुसेवा कम्पनीलाई निगमले ग्राउन्डमा उपकरण, लगेज ओसारपसार, जहाजहरूको साधारण मर्मत र सफाइमा सेवा दिन्छ । यो कारोबारबाट निगमले वार्षिक ३ अर्ब रुपैयाँ आम्दानी गर्छ ।

Shockwaves of war in the Gulf, ripples in the sky of Kathmandu

खाडीको अवरोधपछि निगमले अहिले दिनको कम्तीमा १५ वटा वायुसेवाको ग्राउन्ड ह्यान्डलिङ गुमाइरहेको छ । निगमले न्यारोबडी जहाजको २२ सय डलर (३ लाख २४ हजार रुपैयाँ) र वाइडबडीको २४ सय डलर (३ लाख ५४ हजार रुपैयाँ) आम्दानी गुमाइरहेको छ । यस हिसाबले निगमले दैनिक ५० लाख रुपैयाँ ग्राउन्ड ह्यान्डलिङबाट गुमाइरहेको छ । निगमले शुक्रबारसम्म २१ दिनमा अन्तर्राष्ट्रिय उडान र ग्राउन्ड ह्यान्डलिङबाट कम्तीमा ५५ करोड आम्दानी गुमाइसकेको अनुमान गर्न सकिन्छ । निगमले अबको केही महिनापछि आफ्ना दुइटा वाइडबडी विमानका चारवटा इन्जिन मर्मत गराउनुपर्ने तालिका छ । यो कामका लागि उसलाई १० अर्ब रुपैयाँ चाहिनेछ । खाडीको व्यापार गुमाउनुपर्दा वाइडबडीको इन्जिनको ओभरहल काम नै प्रभावित हुने कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

खाडीको युद्धको असरपछि नेपाल वायुसेवा निगमले अहिले सञ्चालनमा रहेका जापान र नयाँदिल्लीमा उडान थप्न छलफल गरिरहेको छ । दिल्ली, बंगलादेशको ढाका, ओमान, नारिता, मलेसियामा उडान संख्या वृद्धि गर्न निर्देशकहरूसँग छलफल गरिरहेको कार्यकारी निर्देशक श्रेष्ठले पुष्टि गरे । ‘दिल्लीमा अहिले सातामा १० उडान गर्दै छौं । ३ दिन बिहान र बेलुकी गरी दुई र बाँकी ४ दिनको एकका दरले साप्ताहिक १० वटा उडान गर्दै छौं । भारतबाट अनुमति पनि आइसकेको छ,’ श्रेष्ठले भने, ‘खाडीको असरले अहिले निगमले ग्राउन्ड ह्यान्डलिङ र उडान दुबैबाट गर्दा कुल आम्दानीको एकतिहाइ आम्दानी गुमाउनुपरेको छ ।’ 

निगमले क्षेत्रीय उडानमा न्यारोबडी पठाउँदा दुईतर्फी कम्तीमा ७० लाख र वाइडबडी उडानमा १ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गर्छ । निगमको वार्षिक आम्दानी २२ अर्ब हाराहारी छ । 

Shockwaves of war in the Gulf, ripples in the sky of Kathmandu

खाडी प्रभावित भएको तीन सातायता निगमले दुइटा र हिमालय एयरलाइन्सले ७ वटा काठमाडौं–दुबई–काठमाडौं यात्रु उद्धार उडान सञ्चालन गरेका थिए । यस्तो अवस्थामा उडान गर्दा सामान्य अवस्थाको भन्दा अतिरिक्त बिमा अनिवार्य गर्नुपर्छ । निगमका उच्च अधिकारीहरूका अनुसार, यस्तो बिमा गर्दा प्रतिउडान ९२ हजार डलरको बिमा गर्नुपर्छ । यो वायुसेवाहरूको अतिरिक्त खर्च हो । यदि युद्ध क्षेत्रमा उडान गर्दा बिमा नगरेमा भवितव्य भइहाले कुनै पनि जोखिम कभरेज हुँदैन ।

निगम र हिमालय एयरलाइन्सले जस्तै काठमाडौं विमानस्थलले पनि खाडी क्षेत्रका लागि हुने दैनिक कम्तीमा १७ उडान कटौती हुँदा वायुसेवा कम्पनीबाट प्राप्त गर्ने एयर न्याभिगेसन, ल्यान्डिङ, पार्किङ, यात्रु सेवा शुल्क, सुरक्षा शुल्कलगायत शीर्षकमा आम्दानी गुमाइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । ‘खाडीबाट हुने उडान रद्द हुँदा काठमाडौं विमानस्थलले १६ फागुनपछि दिनको २ करोड १० लाख रुपैयाँ हाराहारी आम्दानी गुमाउनुपरेको छ,’ भुलले भने । काठमाडौं विमानस्थलले जहाजको प्रकार र अधिकतम तौलका आधारमा न्यूनतम ४ हजार डलर र अधिकतम वाइडबडीको ८ हजार डलर शुल्क लिन्छ । काठमाडौं विमानस्थलले जस्तै हवाई इन्धनको व्यापार आयल निगमले पनि गुमाइरहेको छ ।

काठमाडौंबाट खाडीका कतार र दुबईमा अत्यधिक मात्रामा हरियो तरकारी निर्यात हुन्थ्यो । तर उडान कटौतीले तीन सातायता नेपाली किसानको तरकारी निर्यात हुन सकिरहेको छैन । उडान कटौती हुँदा नेपालबाट छोटो र लामो दूरीको हवाई कार्गो ढुवानीमा पनि असर परेको नेपाल फ्रेट फर्वाडिङ एसोसिएसनका अध्यक्ष राजेन्द्र संग्रौला बताउँछन् । ‘भारतलगायत छोटो दूरीमा अन्तर्राष्ट्रिय गन्तव्यमा १ सयदेखि डेढ सय रुपैयाँ किलोग्रामका दरले कार्गो ढुवानी भइरहेको थियो, ५० रुपैयाँ वृद्धि भएर २ सय पुगेको छ,’ संग्रौलाले भने, ‘अमेरिका, अस्ट्रेलियालगायत लामो दूरीका देशमा ५ सय ५० रुपैयाँ प्रतिकिलो कार्गो थियो । २ सय रुपैयाँले वृद्धि भई कार्गो प्रतिकिलो साढे ७ सय रुपैयाँ हवाई भाडा पुगेको छ ।’

नेपालमा रहेका फ्रेट व्यवसायीले दिनको काठमाडौंबाट ३५ देखि ५० टनसम्म कार्गो जहाजबाट भारतलगायत विभिन्न मुलुकमा पठाउँछन् । सामान्य दिनमा नेपालबाट १० टन हाराहारी हरियो तरकारी खाडी मात्रै जाने गरेको अध्यक्ष संग्रौलाले जनाए । अहिले दिनको १ करोड ४० लाख रुपैयाँ अतिरिक्त हवाई कार्गोमा मूल्य वृद्धि भएको उनको भनाइ छ । 

ट्राभल एजेन्टहरूले हाल देखिएको घाटा केवल सुरुवात मात्र हुन सक्ने भनेका छन् । खाडी क्षेत्रको तनाव लम्बिए यसको प्रभाव पर्यटन, होटल, वैदेशिक रोजगार, व्यापार अनि समग्र अर्थतन्त्रमा फैलिन सक्ने उनीहरूको दाबी छ । ‘नेपाल जस्तो आयात निर्भर र उड्डयन आश्रित अर्थतन्त्रका लागि यस्तो बाह्य संकटले धेरै संरचनामा असर पार्न सक्छ,’ नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य तथा ट्राभल व्यवसायी कुमारमणि थपलियाले भने, ‘उडान संकुचन हुँदै गएमा यसको पहिलो प्रत्यक्ष असर काठमाडौंमा भएका ट्राभल एजेन्सीमा देखिनेछ ।’

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully