सवा करोडको कारोबारसहित सकियो फ्लोरा एक्स्पो

फ्लोरिकल्चर एसोसिएसनको आयोजनमा भएको एक्स्पोमा कुल ६० हजार ७ सय जना अवलोकनकर्ता

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Flora Expo ends with turnover of Rs. 1.25 crore

काठमाडौँ — चार दिनअघि काठमाडौंमा सुरु भएको २७ औं फ्लोरा एक्स्पोमा सवा करोडको कारोबार भएको छ ।

फ्लोरिकल्चर एसोसिएसनको आयोजनमा भएको एक्स्पोमा कुल ६० हजार ७ सय जनाले अवलोकन गरेको र १ करोड २२ लाख ६० हजार रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ ।

यसअनुसार पहिलो दिन ९ हजार ५ सय जनाले अवलोकन गरेका थिए । यसमा २१ लाख ५० हजार रुपैयाँ कारोबार भएको एसोसिएसनले जनाएको छ ।

दोस्रो दिन १७ हजार ५ सय दर्शकको सहभागिता रहँदा २९ लाख ५० हजार, तेस्रो दिन २१ हजार ५ सय दर्शकले मेला अवलोकन गर्दा ३९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको एसोसिएसनको भनाइ छ । अन्तिम दिन आइतबार १२ हजार २ सय जना दर्शकले मेला अवलोकन गर्दै ३१ लाख ८० हजार रुपैयाँको कारोबार भएको बताइएको छ ।

भृकुटीमण्डपमा चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता र कारोबारमा वृद्धि देखिएको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङ (सुनील) को भनाइ छ ।

मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फुड २, ल्यान्डस्केप १, सेल्फी १ तथा बीवाईडी ईभी कारसहित गरी कुल ८३ वटा स्टल रहेका थिए । प्रदर्शनीमा सहभागी व्यवसायीले उत्पादन गरेका फूल तथा बिरुवा विभिन्न विधामा प्रतिस्पर्धामा समेत समावेश गरिएको संयोजक तामाङले जनाए ।

हाल देशभर ५२ जिल्लामा २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको र ५३ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको एसोसिएसनले बताएको छ ।

कान्तिपुर

Link copied successfully